मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

अकासियो मूल्यवृद्धि : जेठमा मुद्रास्फीति ५.२२ प्रतिशत, फलफूल र घ्यूतेल सबैभन्दा महँगियो

मंगलबार, असार ३० २०८३
अकासियो मूल्यवृद्धि : जेठमा मुद्रास्फीति ५.२२ प्रतिशत, फलफूल र घ्यूतेल सबैभन्दा महँगियो

भौगोलिक आधारमा सहरी क्षेत्रमा मूल्यवृद्धिको दबाब बढी देखिएको छ। जेठमा ग्रामीण क्षेत्रमा वार्षिक बिन्दुगत मुद्रास्फीति ४.७८ प्रतिशत रहँदा सहरी क्षेत्रमा ५.३८ प्रतिशत पुगेको छ।

काठमाडौं- नेपालमा उपभोक्ता मूल्यवृद्धि ग्राफ उकालो लागेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को जेठ महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यो २.७२ प्रतिशत मात्रै थियो। खाद्य तथा गैरखाद्य दुवै समूहमा मूल्यवृद्धि तीव्र बनेसँगै समग्र मुद्रास्फीति बढेको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यी क्रमशः ०.५४ प्रतिशत र ३.९४ प्रतिशत थिए।

खाद्य समूहभित्र सबैभन्दा धेरै मूल्यवृद्धि फलफूलमा देखिएको छ। जेठमा फलफूलको मूल्य १७.४० प्रतिशतले बढेको छ भने घ्यू तथा तेलको मूल्य १५.१० प्रतिशतले वृद्धि भएको छ। त्यसपछि माछा तथा मासुको मूल्य ५.२६ प्रतिशत र तरकारीको मूल्य ४.१४ प्रतिशतले बढेको छ। दाल तथा गेडागुडीको मूल्य भने ०.९३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

गैरखाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १६.६८ प्रतिशतले बढेको छ। यातायात सेवाको मूल्य १५.३१ प्रतिशतले वृद्धि भएको छ भने मदिराजन्य पेय पदार्थ ७.२० प्रतिशत, शिक्षा ५.५४ प्रतिशत तथा कपडा र जुत्ता–चप्पल ५.५३ प्रतिशतले महँगिएका छन्।

यद्यपि जेठ महिनामा वार्षिक मुद्रास्फीति बढे पनि चालु आर्थिक वर्षको पहिलो ११ महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने २.९८ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.२४ प्रतिशत थियो।

भौगोलिक आधारमा सहरी क्षेत्रमा मूल्यवृद्धिको दबाब बढी देखिएको छ। जेठमा ग्रामीण क्षेत्रमा वार्षिक बिन्दुगत मुद्रास्फीति ४.७८ प्रतिशत रहँदा सहरी क्षेत्रमा ५.३८ प्रतिशत पुगेको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा उच्च ५.७५ प्रतिशत मुद्रास्फीति रहेको छ। त्यसपछि लुम्बिनी र मधेशमा समान ५.६२ प्रतिशत, गण्डकीमा ५.०५ प्रतिशत, कर्णालीमा ४.९८ प्रतिशत, बागमतीमा ४.७९ प्रतिशत तथा सुदूरपश्चिममा सबैभन्दा कम ४.६१ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ।

भौगोलिक क्षेत्रअनुसार तराईमा सबैभन्दा उच्च ५.७४ प्रतिशत मुद्रास्फीति रहेको छ। पहाडी क्षेत्रमा ५.०७ प्रतिशत, काठमाडौं उपत्यकामा ४.९८ प्रतिशत तथा हिमाली क्षेत्रमा ३.७१ प्रतिशत मुद्रास्फीति रहेको तथ्यांकले देखाएको छ।


प्रकाशित : मंगलबार, असार ३० २०८३१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend