आइतबार, असोज ६ गते २०८१    
images
images

जनकपुर आइपुग्यो रेल

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १९ २०७८
images
images
जनकपुर आइपुग्यो रेल
भारतको जयनगरबाट आउँदै गरेको रेल हेर्न जनकपुर रेल्वे स्टेसनमा जम्मा भएका स्थानीयवासीहरू। तस्बिर : अजयकुमार साह/रासस

रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने भएको छ।

images
images

जनकपुर- लामो समयको प्रतीक्षापश्चात् धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्ड चल्ने रेल सेवाको उद्घाटनसँगै रेल जनकपुर आइपुगेको छ।

images
images
images

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरबाद हाउसबाट भर्चुअलमार्फत संयुक्तरुपमा रेल सेवाको उद्घाटन गरेपछि दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको हो। दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवा शुभारम्भ गरेका थिए।

प्रधानमन्त्रीद्वयले उद्घाटन गरेपछि दुल्ही झैँ शृङ्गारिएको रेल जयनगरबाट खुलेको थियो। जयनगरबाट कुर्थाका लागि खुलेको रेलमा सवार नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झासहितको टोलीलाई प्रत्येक स्टेशनमा दुवै देशको राष्ट्रिय झन्डा बोकेर उभिएका नेपाली विद्यार्थी तथा स्थानीयवासीले नागरिक अभिनन्दन गरेका थिए।

रेल जनकपुरधामस्थित रेल्वे स्टेशन पुगेपछि महाप्रबन्धक झासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई स्वागत गर्दै कुर्थासम्मको यात्रा गराए। रेल कुर्थासम्म पुगेर पुनः फर्केपछि जनकपुरधामस्थित रेल्वे स्टेशनमा उद्घाटन समारोह कार्यक्रमको आयोजना गरिएको छ।

images

आइतबारदेखि नियमित रेल सञ्चालन हुने

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसँगै भोलिदेखि नियमित रेल सेवा सञ्चालन हुनेछ। दैनिक दुई पटक जयनगर-कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ। सो रेल बिहान १० बजे कुर्था स्टेशन पुग्नेछ। पौने ११ बजे जनकपुरधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए।

जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाको भनाइ छ।

रेलमा चढ्ने यात्रुले पहिचान खुल्ने कागजात बोक्नुपर्ने

जयनगर-कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुलाई आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने भएको छ। खुल्ला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले बताए।

सुरक्षा र खुल्ला सीमानाकालाई दृष्टिगत गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ।

यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनले बताए। दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा विद्यालयको फोटोसहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नुपर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ।

त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहचानपत्र लिनुपर्ने जनाइएको छ।

रेल सेवाको भाडादर

जयनगरदेखि कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादर कायम गरिएको छ। जनकपुर-कुर्था-जयनगर सामान्य सिटमा प्रतियात्रु ९० र एसी सिटमा ४ सय ५० रूपैयाँ भाडा निर्धारण गरिएको छ। जयनगर-कुर्थासम्मको दूरी करिब ३५ किलोमिटर छ। 

रेलको क्षमता 

गत ०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन्। अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको हो। दुवै बोगीले करिब १ हजार ५ सय यात्रु बोक्ने क्षमता छ।

यसको गति रेलको लिक डिजाइनअनुसार १०० किलोमिटर प्रतिघन्टा रहे पनि जयनगर-कुर्था रेल स्टेशनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्मको गति मात्रै चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ।

यो डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल हो। डेमु रेल दुवैतर्फबाट अर्थात् अगाडि-पछाडि दुवै दिशातर्फ गुड्छ। अन्तिम गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाट अघि बढ्छ। यसको इन्जिन डिजेल र विद्युत् दुवैमार्फत सञ्चालन गर्न सकिन्छ। डिजेलले सञ्चालन हुने मेशिनले उत्पादन गरेको विद्युत्मार्फत चल्ने रेललाई डेमु रेल भनेर चिनिन्छ।

रेल सञ्चालनसँगै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा 

जयनगर-कुर्था रेल सेवा सञ्चालन भएसँगै मधेस प्रदेशमा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। भारतीय रेल सञ्जालसँग जोडिएकाले भारतका विभिन्न सहरमा नेपालीको सहज पहुँच हुनुको साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए।

रेल सेवा सञ्चालनसँगै नेपाली भारतको राजधानी दिल्ली, पटना, बनारस, कलकत्ता लगायतका सहरसम्म सहज यात्रा गर्न सकिने छन् भने दैनिक भारतीय पर्यटक नेपाल आउने अध्यक्ष महासेठको भनाइ छ। रासस


प्रकाशित : शनिबार, चैत १९ २०७८११:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend