काठमाडौं- साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से २६.२९ अंकले घटेर बन्द भएको थियो।
आज नेप्सेमा २ सय १० कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी ५७ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ५२ कम्पनीको ९५ लाख १९ हजार ४ सय ५२ कित्ता सेयर ७२ हजार २२ पटक किनबेच भएको छ।
आज ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५ सय ४२ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४ सय ९८ रुपैयाँको कारोबार भएको थियो।
कालंगा हाइड्रो लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै १३.७८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै १० प्रतिशत केबीएल डिबेन्चर २०९० को २० करोड ७५ लाख रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको छ।
आजको कारोबारमा १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८९ प्रतिशत बढेको छ।
पछिल्लो समय बजार निरन्तर घटेको छ। नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउन लागेको छ। जसका कारण सेयर बजारमा केही सुधारको संकेत देखिएको छ। राष्ट्र बैंकले मौद्रिक नीति सेयर बजारमा लगानी सीमा, लकइन पिरियड तथा अन्य नियामकीय प्रतिबन्धको पुनरावलोकन गरी बजारको अवस्थाअनुसार लचकता प्रदान गर्ने आसामा लगानीकर्ता छन्।
'बचतमुखी अर्थतन्त्र' को चक्रबाट बाहिर निकालेर 'लगानीमुखी अर्थतन्त्र' मा रूपान्तरण गर्ने स्पष्ट र दूरगामी नीति राष्ट्र बैंकले अवलम्बन गर्नैपर्ने लगानीकर्ताको सुझाव छ। लगानीकर्ताको सुझाव मौद्रिक नीतिमा समेटिए भने बजार बढ्न सक्ने दिखिन्छ।
लघुवित्त वित्तीय संस्थाहरूको हकमा सबैमा एउटै मापदण्ड लागू गर्नुको सट्टा वित्तीय स्वास्थ्य, पुँजी पर्याप्तता, निष्क्रिय कर्जा, नाफा तथा सुशासनको अवस्थाका आधारमा लाभांश वितरणमा लगाइएको सीमा खारेज गरी लचिलो नीति अवलम्बन गर्न आग्रह समेत गरिएको छ।
अर्थतन्त्रको सुस्तता, निजी क्षेत्रको कमजोर लगानी र आईपीओ आपूर्ति बढ्ने अनुमानले बजार प्रभावित भएको छ। साथै, बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक र बैंक-व्यवसायी अलग गर्ने नीतिगत बहसले लगानीकर्ताको मनोबल कमजोर बनाउँदा नयाँ लगानी भित्रिन सकेको छैन।