काठाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्र हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने बताएकी छिन्।
मंगलबार राष्ट्रिय बैठकमा सांसदहरुले आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले अर्थ मन्त्रालयले उद्योग मर्मतका लागि ३३ लाख बजेट निकासा गरी काम भइरहेको पनि स्पष्ट पारिन्। उनले सरकारले उक्त उद्योगलाई अघि बढाउने काममा विशेष ध्यान दिएको पनि बताइन्।
‘हेटौँडा कपडा उद्योगका लागि ३३ लाख बजेट निकासाको लागि अर्थ मन्त्रालयमा लेखि पठाएको छु। जुन निकासा भइसकेको छ। त्यो उद्योगमा गईसकेको छ र त्यहाँको मर्मत कार्य पनि अगाडि बढिसकेको छ। केही महिनामा नै त्यो सञ्चालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु' मन्त्री कुमारीले भनिन्।
व्यापार घाटा न्यूनीकरण गर्न सरकारले योजना बनाइ प्राथमिकताका साथ कार्यान्वयन गरिराखेको पनि उनले बताइन्। नेपाल अमेरिका बीचको व्यापार सम्झौताअन्तर्गत डयुटी फ्रि कोटा फ्रि सुविधाको अवधि समाप्त भइसकेकोमा थप गर्नका लागि अमेरिकी सरकारलाई अनुरोध गरिएको पनि उनले बताइन्।
मन्त्री कुमारीले बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण र उपभोक्ता हित संरक्षणका लागि सरकारले प्रभावकारी कदम चालिरहेको बताएकी छिन्।
हालै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती भएको र सोहीअनुसार यातायात तथा हवाई भाडासमेत समायोजन भइसकेको उनले बताइन्। बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य वृद्धि गर्नेहरूमाथि कडा निगरानी राखिएको मन्त्री कुमारीले बताइन्।