काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मासातो कान्डासँग भेटवार्ता गरेका हुन्। भेटमा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधारमा केन्द्रित कुराकानी भएको जनाइएको छ।
नेपालको सबैभन्दा ठूलो दातृ निकाय एडीबीका अध्यक्षको भ्रमण नेपालमा डेढ दशकपछि भएको हो। सामाजिकदेखि भौतिक पूर्वाधारमा ऋण तथा अनुदान दिँदै आएको एडीबीको नेपालमा यो उच्चस्तरीय भ्रमण भएको हो।
भ्रमणका क्रममा दुईवटा सम्झौता हुने बताइएको छ। भन्सारको आधुनिकीकरण परियोजनाका लागि एडीबीले दिने ५ करोड डलरको ऋण लगानी सम्झौता र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजनासम्बन्धी ११ करोड ५० लाख अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर हुने दाबी गरिएको छ।