काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंक स्रोतका अनुसार आज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको छ।
मौद्रिक नीतिमा आगामी वर्षको कार्यदिशा, मौद्रिक औजार तथा ब्याजदर करिडोरसम्बन्धी व्यवस्था समेटिनेछ। यसपटक नियामकीय प्रावधानहरू भने मौद्रिक नीतिमार्फत परिवर्तन नगरिने जनाइएको छ।
मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक आज बिहान साढे ९ बजेका लागि बोलाइएको थियो, जुन अहिले जारी छ। व्यवस्थापन समितिको बैठक सकिएलगत्तै सञ्चालक समितिको बैठक बस्नेछ र त्यसपछि आजै मौद्रिक नीति सार्वजनिक गरिनेछ।
राष्ट्र बैंकले यस वर्ष पनि लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिने संकेत दिएको छ। मध्यपूर्वमा भएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा केही मुद्रास्फीतिको दबाब देखिए पनि समग्र मूल्यवृद्धि अझै नियन्त्रणभित्र रहेको, बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहेको तथा द्वन्द्व समाधानतर्फ उन्मुख भएकाले मुद्रास्फीतिमा ठूलो दबाब पर्ने जोखिम नरहेको राष्ट्र बैंकको निष्कर्ष छ।
यही आधारमा निजी क्षेत्रमा कर्जा प्रवाह बढाउने, आर्थिक गतिविधिलाई थप चलायमान बनाउने तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित मौद्रिक नीति अघि बढ्ने अपेक्षा गरिएको छ। अर्थात्, अर्थतन्त्रमा कर्जा प्रवाह (क्रेडिट पुश) बढाउने रणनीतिलाई यसपटक पनि प्राथमिकतामा राखिनेछ।
गभर्नर डा विश्वनाथ पौडेलले पदभार सम्हालेपछि सार्वजनिक गर्न लागेको यो दोस्रो मौद्रिक नीति हुनेछ।