सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

प्रधानमन्त्री बालेन्द्र शाहलाई भीष्मराज आङदेम्बेको सुझाव - सामाजिक सञ्जालमा भाइरल हुने बाटो त्याग्नुस्

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २२ २०८३
प्रधानमन्त्री बालेन्द्र शाहलाई भीष्मराज आङदेम्बेको सुझाव - सामाजिक सञ्जालमा भाइरल हुने बाटो त्याग्नुस्

नेता आङदेम्बले संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई प्रधानमन्त्री शाहले प्रभावकारी ठानेको उल्लेख गर्दै यस्तो गतिविधिले संसदको गरिमा कायम नरहने जिकिर पनि गरे।

काठमाडौं- प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमा भाइरल हुने बाटो त्याग्न सुझाव दिएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले सय दिन पूरा गरेको सन्दर्भसहित आफ्नो धारणा राख्ने क्रममा उनले यसदिशातर्फ प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका हुन्। नेता आङदेम्बेले सामाजिक सञ्जालमार्फत लोकप्रिय हुने नाममा भ्रमपूर्ण जिन्दगी कटाउन उचित नहुनेतर्फ पनि प्रधानमन्त्री साहलाई सचेत गराए।

उनले प्रधानमन्त्रीको रुपमा मुलुकलाई सही ढंगले हाँक्न पनि आग्रह गर्नुभयो। त्यस अवसरमा नेता आङदेम्बेले प्रधानमन्त्री साह संसदप्रति उत्तरदायी नभएको गुनासो पनि गर्नुभयो। उनले धुरीमा चढेपछि सिँढी भुल्नु हुँदैन लोकोक्तिलाई स्मरण गराउँदै प्रधानमन्त्री साहलाई संसद नभुल्न पनि अनुरोध गरे।

‘नेपालको संविधानले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाएको छ। संसद सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था हो। त्यही संस्थाको सदस्य प्रधानमन्त्रीजी हुनुहुन्छ। उहाँको सरकार त्यही संसदको विश्वासमा टिकेको हुन्छ। त्यसैले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्दछ। तर विगतयमा सय दिनमा प्रधानमन्त्रीको कार्यशेली हेरेपछि म प्रधानमन्त्रीजीलाई स्मरण गराउछु–धुरीमा चढेपछि सिँढी भुल्नु हुँदैन' उनले भने। 

संसद बिर्सने, संसदलाई अवमूल्यन गर्ने काम गर्न नहुने भन्दै उनले भने, 'म प्रधानमन्त्रीजीलाई गम्भिरपूर्वक नै सोध्न चाहन्छु यदि संसदनै तपाईको प्राथमिकतामा पर्दैन भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ? यदि प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ? लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा होइन। प्रख्यात हुनु र लोकप्रिय हुनु पनि एउटै होइन।'

'फेमस हुँदै गर्दा लोकप्रिय भएँ भनेर भ्रमपूर्ण जिन्दगी पनि हामी कहिलेकाँही कटाइराखेका हुन्छौँ र प्रधानमन्त्रीजीलाईं म भन्न चाहन्छु–सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ। तर देशको प्रधानमन्त्रीको रुपमा गहन र गम्भीर भएर कार्य गर्न बडो गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू, तपाईंले भाइरल हुने बाटो त्याग्नु पर्दछ। प्रधानमन्त्रीको रुपमा मुलुकलाई सही ढंगले ड्राइभ गर्नुहोस्’ उनले भने। 

नेता आङदेम्बले संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई प्रधानमन्त्री शाहले प्रभावकारी ठानेको उल्लेख गर्दै यस्तो गतिविधिले संसदको गरिमा कायम नरहने जिकिर पनि गरे।


प्रकाशित : सोमबार, असार २२ २०८३१४:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend