आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सेयर बजारमा कर्जा प्रवाहको गहिरो प्रभाव : स्थिरता र जोखिमको मात्रा उच्च, लगानीकर्तामा नीतिगत फेरबदलको मनोवैज्ञानिक असर

आइतबार, असार २१ २०८३
सेयर बजारमा कर्जा प्रवाहको गहिरो प्रभाव : स्थिरता र जोखिमको मात्रा उच्च, लगानीकर्तामा नीतिगत फेरबदलको मनोवैज्ञानिक असर

नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक भएको एक विशेष आर्थिक प्रतिवेदनले देशको अर्थतन्त्र र तरलताको ऐना मानिने सेयर बजारमा विभिन्न समयमा आएका संकुचन र विस्तारका ऐतिहासिक चक्रहरू कर्जा प्रवाहमा हुने वृद्धि अर्थात् 'क्रेडिट बूम' सँग प्रत्यक्ष जोडिएका छन्।

काठमाडौं- सेयर बजारमा विभिन्न नीतिगत निर्णय र बैंकहरूको कर्जा प्रवाहको गहिरो प्रभाव रहने गरेको देखिएको छ। 

नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक भएको एक विशेष आर्थिक प्रतिवेदनअनुसार देशको अर्थतन्त्र र तरलताको ऐना मानिने सेयर बजारमा विभिन्न समयमा आएका संकुचन र विस्तारका ऐतिहासिक चक्रहरू कर्जा प्रवाहमा हुने वृद्धि अर्थात् 'क्रेडिट बूम' सँग प्रत्यक्ष जोडिएका छन्।

बैंकहरूबाट सहजरूपमा ऋण प्रवाह हुँदा र बजारमा तरलता बढ्दा नेप्से परिसूचकले नयाँ उचाइ लिने र राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कडाइ गर्दा बजारमा ठूलो गिरावट आउने गरेको तथ्यांक सार्वजनिक भएको छ।

दीर्घकालीन ट्रेन्डलाई हेर्दा नेप्सेको मासिक र दैनिक दुवै सूचकमा उतारचढाव देखिएको छ। विगत २ सय ६६ महिना अवधिलाई विश्लेषण गर्दा मासिक आधारमा नेप्सेले अधिकतम ३,१६०.०९ अंकको उच्च विन्दु र न्यूनतम २०१.४८ अंकको तल्लो विन्दु गिरावट देखिएको छ। यस अवधिको औसत सूचक १,१३१.७० अंक कायम भएको देखिन्छ। 

यसैगरी ४,८७८ दिनको दैनिक कारोबार तथ्यांकलाई नियाल्दा नेप्से अधिकतम ३,१९९.०३ अंक सम्म पुगेको र न्यूनतम १९५.१४ अंक सम्म ओर्लिएको छ।

जसमा दैनिक औसत सूचक ७२९.४३ अंक रहेको छ। यी तथ्यांकहरूले नेपाली सेयर बजारमा अस्थिरता र जोखिमको मात्रा कति उच्च रहेको देखिन्छ।

नेप्सेको इतिहासमा विशेष गरी दुईवटा ठूला 'बूम र क्र्यास' अर्थात् तीव्र उछाल र त्यसपछिको ठूलो गिरावटको चक्रलाई प्रतिवेदनले देखाएको छ। 

पहिलो ठूलो चक्र सन् २००६ देखि २०११ को अवधिमा देखिएको थियो। अगस्ट २००६ मा मात्र ३७९.२४ अंकमा रहेको नेप्से सूचक बैंकहरूको आक्रामक कर्जा विस्तारका कारण दुई वर्षकै अवधिमा झन्डै तीन गुणाले बढेर अगस्ट २००८ मा १,०८६.१४ अंकको उच्च बिन्दुमा पुगेको थियो। 

तर बजारमा अत्यधिक साख प्रवाह भएपछि नेपाल राष्ट्र बैंकले २९ सेप्टेम्बर २००८ मा पहिलो पटक मौद्रिक नीतिमा कडाइ गर्‍यो। नीतिगत परिवर्तन लगत्तै ओरालो लागेको बजार अगस्ट २००९ मा ६९५.०६ अंक र अगस्ट २०१० मा ४४७.५९ अंकमा ओर्लियो। यो गिरावट यतिमा मात्र सीमित रहेन, मार्च २०११ सम्म आइपुग्दा सूचक ३७८.९२ अंकमा खुम्चियो, जुन यस चक्रको उच्चतम विन्दुबाट ५०.३४ प्रतिशतको भयानक क्र्यास थियो।

यस्तै प्रकृतिको दोस्रो ठूलो चक्र कोभिड-१९ महामारीको आसपास अर्थात् सन् २०१९ देखि २०२२ को बीचमा दोहोरियो। अगस्ट २०१९ मा १,२२४.०४ अंकमा रहेको नेप्से, महामारीपछि अर्थतन्त्रलाई चलायमान बनाउन ल्याइएको खुकुलो मौद्रिक नीति र सस्तो ब्याजदरका कारण तीव्र गतिमा अघि बढ्यो। 

यसै क्रममा अगस्ट २०२१ मा मासिक आधारमा नेप्सेले ३,१६०.०९ अंकको ऐतिहासिक रेकर्ड कायम गर्‍यो भने दैनिक कारोबारका आधारमा १२ अगस्ट २०२१ मा इतिहासकै उच्च ३,१७८.९१ अंकको विन्दुमा पुग्यो। 

तर, बजारमा अत्यधिक तरलता र जोखिम बढेको भन्दै राष्ट्र बैंकले १५ अगस्ट २०२१ र १७ फेब्रुअरी २०२२ मा मौद्रिक नीतिमा पुनः कडाइ गरेपछि बजारमा अर्को गिरावटको श्रृंखला सुरु भयो। जसको परिणाम स्वरूप अगस्ट २०२२ सम्म आइपुग्दा नेप्से सूचक २,०४१.०६ अंकमा ओर्लिएर बजारमा ठूलो सुस्तता छायो। यी दुवै ऐतिहासिक चक्रहरूले राष्ट्र बैंकको मौद्रिक औजार र बैंकहरूको वित्तीय नीति नै नेपाली सेयर बजारको दिशा तय गर्ने मुख्य कारक रहेको स्पष्ट पारेका छन्।


प्रकाशित : आइतबार, असार २१ २०८३०७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend