काठमाडौं- हालैमात्र राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमै पहिलोपटक आन्तरिक पर्यटनको सर्वेक्षण गरेको छ। यो सर्वेक्षणले देखाएअनुसार नेपालका आधा घरपरिवारले वर्षमा कम्तिमा एकपटक घुमफिर गर्ने गरेका छन्।
विभिन्न उद्देश्य लिएर निश्चित दुरी पार गर्ने यस्ता नेपालीको संख्या उत्साहजनक देखिएपनि त्यसको उद्देश्य र खर्चको आँकडा हेर्दा घुमफिर रहरभन्दा पनि बाध्यात्मक देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले गरेको घरेलु पर्यटनको सर्वेक्षणअनुसार वर्षमा ५२ प्रतिशत घरपरिवारबाट घुमफिरमा निस्किने गरेको पाइएको छ।
राष्ट्रिय संघीय परिभाषाअनुसारका उद्देश्य बोकेर घरबाहिर एकैदिन वा रात बिताउनेगरी घुम्न निस्किने ५२ प्रतिशत घरपरिवार रहेका छन्।यसरी घुम्न जानेहरूले वर्षमा ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्चिने गरेका छन्।
यसमध्ये देशभित्रै ३ खर्ब ५० अर्ब जति नेपालीले खर्च गर्छन् भने बाँकी विदेशमा खर्च गर्छन्। घुमफिरमै नेपालीले यति धेरै रकम खर्च गरेपनि यसका पछाडि पर्यटन भनेर रमाएको नेपालभन्दा पनि बाध्यात्मक नेपालको चित्र देखिएको छ।
रहरन्दा बाध्यात्मक घुमफिर
कुन उद्देश्यका लागि घुमफिर गर्दा कति रकम खर्च गर्छन् नेपालीले भन्ने प्रश्नमा सबैभन्दा धेरै स्वास्थ्य उपचार रहेको छ। सर्वेक्षणको तथ्यांकअनुसार वर्षमा १ खर्ब ४५ अर्ब रुपैयाँ स्वास्थ्यमा रहेको छ।
त्यस्तै साथीभाइ भेटघाट तथा सामाजिक उद्देश्यमा १ खर्ब ४० अर्ब भएको छ भने बिदा मनाउने तथा मनोरञ्जन उद्देश्यका लागि ३२ अर्बको बिल छ। त्यस्तै किनमेल अर्को ठूलो उद्देश्य हो, यो विशेषगरी सीमापार भ्रणमा हुन्छ। यसमा ७५ अर्ब रुपैयाँको छ।
नेपालीको घुम्ने मौसम चाडपर्वको मौसम सुरू भएपछि बढ्ने गरको छ। बैशाखदेखि असारसम्म ६७ अर्ब खर्चिने नेपालीले त्यसपछि तीन महिनामा १ खर्ब ६५ अर्ब र लगत्तैका तीन त्रैमासमा खर्बमाथिको खर्च गर्ने गरेका छन्।
अधिकांशको गन्तव्य काठमाडौं
आन्तरिक भ्रमण गर्नेहरूमध्ये अधिकांशको गन्तव्य काठमाडौं हुने गरेको छ। सर्वेक्षणअनुसार देशभित्र घुमफिर गर्नेमा २५.९५ प्रतिशत ट्रिप काठमाडौं केन्द्रित रहेका छन्। देशभरका मान्छे विभिन्न उद्देश्यले काठमाडौं आउनैपर्ने बाध्यता यसले पनि देखाएको छ।
काठमाडौंपछि चितवन ९, कास्की ५ र रुपन्देही ४ प्रतिशत रहेको छ।