काठमाडौं- नेपाल राष्ट्र बैंकले बोलकबोल मार्फत ४५ अर्ब रुपैयाँ बराबरको 'नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख' जारी गर्ने भएको छ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै १ वर्ष अवधिको यस ऋणपत्र निष्कासन गर्न लागेको जानकारी दिएको हो।
यो ऋणपत्रको बोलकबोल असार १७ गते मध्याह्न १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत मात्र हुने राष्ट्र बैंकले जनाएको छ। यसको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ भने साँवा भुक्तानी आगामी २०८४ असार १७ गते गरिनेछ।
यस ऋणपत्रमा आर्जित ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा हुने छ। केन्द्रीय बैंकका अनुसार यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन्।
इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।
यो ऋणपत्रलाई राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने सुविधा रहेको छ। ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोल गरिएको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी एकल ब्याजदर निर्धारण गरिनेछ र सो वा सोभन्दा कम बोल गर्नेहरूलाई ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। समान ब्याजदर बोल गर्नेहरूको रकम कुल निष्कासित रकमभन्दा बढी भएमा समानुपातिक रूप मा बाँडफाँट गरिने व्यवस्था छ।
यस ऋणपत्रमा स्वीकृत भएको बोल रकम निष्कासनकै मितिमा सम्बन्धित संस्थाको राष्ट्र बैंकमा रहेको खाता खर्च गरी जम्मा गरिनेछ। यदि खातामा पर्याप्त मौज्दात नभएमा स्वीकृत बोल रकम रद्द गरी २.५० प्रतिशत हर्जाना लगाइनुका साथै ६ महिनासम्म खुला बजार कारोबार र ब्याजदर करिडोरमा सहभागी हुन बन्देज लगाइने कडा प्रावधान राखिएको छ।
यो ऋणपत्र सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले यसलाई अनिवार्य नगद मौज्दात मा गणना गर्न पाइने छैन, तर वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ। ऋणपत्र खरीद गर्ने संस्थाहरूलाई खुला बजार कारोबारसम्बन्धी कार्यविधि अनुसारको प्रमाणपत्र प्रदान गरिनेछ र परिपक्व मिति अगावै सो बापतको रकम फिर्ता नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।