काठमाडौं- वित्तीय अनियमितता, धितोपत्र, बैंकिङ, बीमा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रवर्द्धक तथा सञ्चालकहरू मुछिएपछि ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’मा राखिएको जगदम्बा स्टिल्स लिमिटेडको क्रेडिट रेटिङ एक सातामै उक्त निगरानी सूचीबाट हटाएको छ।
यसअघि कम्पनीका प्रवर्द्धक तथा सञ्चालकमाथि कानूनी अनुसन्धान सुरु भएपछि सम्भावित प्रतिष्ठागत तथा वित्तीय जोखिमलाई आधार मानेर इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडको रेटिङमा निगरानी सूचीमा राखिएको थियो।
पछिल्लो समीक्षामा कम्पनीको व्यावसायिक अवस्था र वित्तीय स्थितिमा कुनै प्रतिकूल प्रभाव नदेखिएको निष्कर्ष निकाल्दै एजेन्सीले निगरानी हटाउने निर्णय गरेको हो।
इन्फोमेरिक्सले सार्वजनिक गरेको नयाँ रेटिङ अपडेटअनुसार जगदम्बा स्टिल्सको इस्युअर रेटिङ ‘आईआरएन बीबीबी (आईएस)’, दीर्घकालीन बैंकिङ सुविधा ‘आईआरएन बीबीबी’ तथा अल्पकालीन बैंकिङ सुविधा ‘आईआरएन ए-३ प्लस’ यथावत् कायम राखिएको छ। परिवर्तन केवल ‘रेटिङ वाच विथ नेगेटिभ इम्प्लिकेसन’ हटाउने विषयमा गरिएको हो। कम्पनीसँग करिब ३३ अर्ब १५ करोड रुपैयाँ बराबरको बैंकिङ सुविधा रहेको छ।
इन्फोमेरिक्सका अनुसार कम्पनीको सञ्चालन नियमित रूपमा जारी रहेको, वित्तीय अवस्थामा कुनै महत्वपूर्ण नकारात्मक परिवर्तन नभएको तथा बैंक तथा वित्तीय संस्थाप्रतिको ऋण दायित्व समयमै भुक्तानी भइरहेको देखिएपछि निगरानी सूचीबाट हटाइएको हो।
कम्पनी व्यवस्थापनले उपलब्ध गराएको प्रमाणपत्रमा पनि कम्पनीको सञ्चालन, वित्तीय अवस्था र ऋण भुक्तानी सामान्य अवस्थामा रहेको उल्लेख गरिएको थियो। सोही आधारमा रेटिङ एजेन्सीले तत्कालका लागि कम्पनीको क्रेडिट प्रोफाइलमा अतिरिक्त जोखिम नरहेको निष्कर्ष निकालेको जनाएको छ।
गत जेठ २८ गते सरकारी वकिल कार्यालयले धितोपत्र, बैंकिङ, बीमा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विभिन्न व्यावसायिक घरानासँग सम्बन्धित व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि इन्फोमेरिक्सले १८ कम्पनीको क्रेडिट रेटिङलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’मा राखेको थियो। एजेन्सीले प्रवर्द्धक तथा सञ्चालकमाथिको अनुसन्धानले कम्पनीहरूको प्रतिष्ठा, व्यवस्थापन, तरलता तथा व्यवसाय सञ्चालनमा प्रभाव पार्न सक्ने सम्भावनालाई आधार मानेर यस्तो निर्णय गरेको जनाएको थियो।
ती १८ कम्पनीमध्ये १५ कम्पनीले करिब एक खर्ब चार अर्ब ३० करोड रुपैयाँभन्दा बढीको बैंकिङ सुविधाका लागि रेटिङ प्राप्त गरेका थिए भने तीन कम्पनीको इस्युअर रेटिङलाई मात्रै निगरानीमा राखिएको थियो। नेगेटिभ वाचमा परेका अधिकांश कम्पनी उद्योगी सुलभ अग्रवालसँग सम्बन्धित समूहका थिए।
जगदम्बा स्टिल्ससँगै शौर्य सिमेन्ट, रिद्धि सिमेन्ट, लिट्मस इन्डस्ट्रिज, गणपति वनस्पति, जगदम्बा मोटर्स, जगदम्बा हस्पिटालिटी, रामजानकी हाइड्रोपावर, वेदांशी इन्फ्रास्ट्रक्चर, टेली डाइरेक्ट, जगदम्बा अटो ग्रुप, जगदम्बा मोबाइल्स, जगदम्बा हायर पर्चेज, जगदम्बा फ्लोर एन्ड एग्रो, टेलिटक, हुलास फिनसर्भ हायर पर्चेज, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन इन्भेस्टमेन्ट बैंकर पनि उक्त सूचीमा परेका थिए।
जगदम्बा स्टिल्सलाई भने एक सातामै निगरानी सूचीबाट हटाइए पनि अन्य कम्पनीको रेटिङसम्बन्धी समीक्षा भने अझै जारी रहेको देखिएको छ। इन्फोमेरिक्सले आगामी दिनमा कम्पनीको वित्तीय प्रदर्शन, सञ्चालन क्षमता, ऋण भुक्तानीको अवस्था तथा कानुनी प्रक्रियाबाट पर्न सक्ने प्रभावलाई निरन्तर अनुगमन गरिने जनाएको छ। एजेन्सीका अनुसार भविष्यमा यी पक्षमा कुनै महत्वपूर्ण परिवर्तन भए त्यसले कम्पनीको क्रेडिट रेटिङमा असर पार्न सक्नेछ।
वित्तीय अनियमितता मुद्दाको प्रभाव : शंकर समूहसँग जोडिएका १८ कम्पनीको १ खर्बभन्दा बढी ऋण निगरानीमा