शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

वित्तीय अनियमितता मुद्दाको प्रभाव : शंकर समूहसँग जोडिएका १८ कम्पनीको १ खर्बभन्दा बढी ऋण निगरानीमा

शुक्रबार, असार १२ २०८३
वित्तीय अनियमितता मुद्दाको प्रभाव : शंकर समूहसँग जोडिएका १८ कम्पनीको १ खर्बभन्दा बढी ऋण निगरानीमा

काठमाडौं- वित्तीय अनियमितता, धितोपत्र, बैंकिङ, बीमा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा केही प्रवर्द्धक तथा सञ्चालकहरू मुछिएपछि रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले १८ कम्पनीको क्रेडिट रेटिङलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’मा राखेको छ।

एजेन्सीले जुन २०२६ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीका प्रवर्द्धक तथा सञ्चालकहरूमाथि जारी वित्तीय अनुसन्धान र कानुनी कारबाहीका कारण उनीहरूको प्रतिष्ठामा पर्न सक्ने असर तथा त्यसको कम्पनीहरूमा पर्न सक्ने सम्भावित प्रभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

इन्फोमेरिक्सले नेगेटिभ वाचमा राखेका १८ मध्ये १५ कम्पनीले करिब १ खर्ब ४ अर्ब  ३० करोड ३२ लाख रुपैयाँ  ऋण सुविधाका लागि रेटिङ प्राप्त गरेका छन्। बाँकी तीन कम्पनीको ‘इस्युअर रेटिङ’ तथा गुणस्तर मूल्यांकनलाई पनि नेगेटिभ इम्प्लिकेसनमा राखिएको छ।

गत जेठ २८ गते सरकारी वकिल कार्यालयले धितोपत्र, बीमा, बैंकिङ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विभिन्न व्यावसायिक घरानासँग सम्बन्धित व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। काठमाडौं जिल्ला अदालत, पाटन उच्च अदालत तथा विशेष अदालतमा दर्ता भएका ती मुद्दामा कुल १६७ जना प्रतिवादी बनाइएका छन्। जसमध्ये धितोपत्रतर्फ ८१ जना, बीमातर्फ ४२ जना, सम्पत्ति शुद्धीकरणतर्फ ३९ जना र बैंकिङ कसुरतर्फ पाँच जना रहेका छन्।

नेगेटिभ वाचमा परेका अधिकांश कम्पनीहरू उद्योगी सुलभ अग्रवालसँग सम्बन्धित समूहका हुन्। ती कम्पनीमा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल तथा जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवालको प्रत्यक्ष वा अप्रत्यक्ष लगानी रहेको छ।

सबैभन्दा ठूलो ऋण सुविधा भएको जगदम्बा स्टिल्स लिमिटेडको ३३ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको रेटिङ निगरानीमा राखिएको छ। त्यस्तै शौर्य सिमेन्ट इन्डस्ट्रिजको १४ अर्ब ८७ करोड रुपैयाँ, रिद्धि सिमेन्ट इन्डस्ट्रिजको ११ अर्ब ९३ करोड रुपैयाँ, लिट्मस इन्डस्ट्रिजको ८ अर्ब ६७ करोड रुपैयाँ तथा गणपति वनस्पतिको ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको ऋण सुविधाको रेटिङ पनि नेगेटिभ वाचमा परेको छ।

यसैगरी जगदम्बा मोटर्सको ५ अर्ब ९८ करोड रुपैयाँ, जगदम्बा हस्पिटालिटी ग्रुपको ५ अर्ब ३० करोड रुपैयाँ, रामजानकी हाइड्रोपावरको ५ अर्ब २५ करोड रुपैयाँ, वेदांशी इन्फ्रास्ट्रक्चरको ३ अर्ब ५० करोड रुपैयाँ तथा टेली डाइरेक्टको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण रेटिङलाई पनि निगरानी सूचीमा राखिएको छ।

अन्य प्रभावित कम्पनीमा जगदम्बा अटो ग्रुप, जगदम्बा मोबाइल्स, जगदम्बा हायर पर्चेज, जगदम्बा फ्लोर एन्ड एग्रो, टेलिटक प्रालि, हुलास फिनसर्भ हायर पर्चेज, हिमालयन लाइफ इन्स्योरेन्स तथा हिमालयन इन्भेस्टमेन्ट बैंकर रहेका छन्।

इन्फोमेरिक्सका अनुसार ‘रेटिङ वाच’मा राखिनु तत्काल रेटिङ घटाइएको भन्ने अर्थ होइन। तर यसले सम्बन्धित कम्पनीको रेटिङमा भविष्यमा परिवर्तन हुन सक्ने सम्भावना उच्च रहेको संकेत गर्छ। एजेन्सीले कानुनी प्रक्रियाको प्रगति, सञ्चालक समितिमा हुन सक्ने परिवर्तन, प्रमुख व्यवस्थापकीय जनशक्तिको अवस्था तथा कम्पनीको वित्तीय र सञ्चालन क्षमतामा पर्न सक्ने प्रभावलाई निरन्तर अनुगमन गर्ने जनाएको छ।

एजेन्सीका अनुसार प्रवर्द्धक तथा सञ्चालकहरूमाथि लागेको आरोपका कारण कम्पनीहरूको प्रतिष्ठा, व्यवस्थापकीय निरन्तरता, तरलता व्यवस्थापन तथा व्यवसाय सञ्चालनमा जोखिम बढ्न सक्ने भएकाले थप जानकारी संकलन र मूल्यांकनका लागि रेटिङलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’मा राखिएको हो।

कम्पनी

रेटिङ गरिएको ऋण/सुविधा

जगदम्बा स्टिल्स लिमिटेड

३३ अर्ब १५ करोड ५२ लाख रुपैयाँ

शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड

१४ अर्ब ८७ करोड ९८ लाख रुपैयाँ

रिद्धि सिमेन्ट इन्डस्ट्रिज लिमिटेड

११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ

लिट्मस इन्डस्ट्रिज लिमिटेड

८ अर्ब ६७ करोड रुपैयाँ

गणपति वनस्पति प्रालि

६ अर्ब ४८ करोड ३० लाख रुपैयाँ

जगदम्बा मोटर्स प्रालि

५ अर्ब ९७ करोड ९४ लाख रुपैयाँ

जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेड

५ अर्ब ३० करोड रुपैयाँ

रामजानकी हाइड्रोपावर प्रालि

५ अर्ब २५ करोड १२ लाख रुपैयाँ

वेदांशी इन्फ्रास्ट्रक्चर लिमिटेड

३ अर्ब ५० करोड रुपैयाँ

टेली डाइरेक्ट प्रालि

२ अर्ब ५० करोड रुपैयाँ

जगदम्बा अटो ग्रुप प्रालि

१ अर्ब ९१ करोड रुपैयाँ

जगदम्बा हायर पर्चेज लिमिटेड

१ अर्ब ७२ करोड २५ लाख रुपैयाँ

जगदम्बा फ्लोर एन्ड एग्रो प्रालि

१ अर्ब ५४ करोड रुपैयाँ

जगदम्बा मोबाइल्स प्रालि

९० करोड रुपैयाँ

टेलिटक प्रालि

५७ करोड ४६ लाख रुपैयाँ



प्रकाशित : शुक्रबार, असार १२ २०८३१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend