मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १६ २०८३
३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने

मौद्रिक व्यवस्थापन विभागले  सूचना जारी गर्दै १ वर्ष अवधिको यस ऋणपत्रका लागि आज मध्याह्न ३ बजे सम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल आह्वान गरेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको 'नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क' जारी गर्ने भएको छ। 

मौद्रिक व्यवस्थापन विभागले  सूचना जारी गर्दै १ वर्ष अवधिको यस ऋणपत्रका लागि आज मध्याह्न ३ बजे सम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल आह्वान गरेको छ।  

 यस ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन्। लगानीकर्ताहरूले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। यस ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक र अन्य बैंकहरूमा धितोको रूपमा समेत प्रयोग गर्न सक्नेछन्। 

ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ। काउण्टरपार्टीहरूले बहुव्याजदरमा पनि बोलकबोल गर्न सक्नेछन्। बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानो देखि ठूलो क्रममा राखी आह्वान गरिएको रकमसम्म पुग्दा कायम हुने ब्याजदरलाई 'एकल ब्याजदर' मानिनेछ। सोही एकल ब्याजदर वा सोभन्दा कम दरमा बोल गर्नेहरूलाई ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। यदि समान ब्याजदर परेमा समानुपातिक रूप मा बाँडफाँट गरिनेछ।  

खातामा रकम नपुगे ६ महिनासम्म प्रतिबन्ध र साढे २ प्रतिशत हर्जानाऋणपत्र स्वीकृत भएका काउण्टरपार्टीहरूको राष्ट्र बैंकमा रहेको खाताबाट निष्कासन मितिमै रकम खर्च गरी जम्मा गरिनेछ। तर, निष्कासन मितिमा खातामा पर्याप्त मौज्दात नभएमा उक्त बोल रद्द गरिनेछ। 

साथै, त्यस्ता संस्थालाई स्वीकृत रकमको २.५० प्रतिशत हर्जाना तिराई ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज हुने छ। अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने यस ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १६ गते हुनेछ र परिपक्व मिति अगावै यसको रकम फिर्ता नहुने राष्ट्र बैंकले जनाएको  छ। 


प्रकाशित : मंगलबार, असार १६ २०८३१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend