काठमाडौं- बिजनेस न्युज डटकममा प्रकाशित समाचार हटाउन तथा थप प्रकाशन-प्रसारण नगर्न काठमाडौं जिल्ला अदालतले जारी गरेको अन्तरिम आदेश प्रेस स्वतन्त्रताको मर्म, संवैधानिक व्यवस्थाको भावना र लोकतान्त्रिक मूल्य-मान्यतामाथिको ठाडो हस्तक्षेप भएको प्रेस चौतारी नेपालले जनाएको छ।
चौतारीले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथि प्रत्यक्ष असर पर्ने प्रकृतिका यस्ता आदेशप्रति गम्भीर चासो व्यक्त गरिएको छ।
विज्ञप्तिअनुसार प्रकाशित वा प्रसारित सामग्रीप्रति असन्तुष्टि वा विवाद उत्पन्न भएको अवस्थामा त्यसको प्रारम्भिक निरूपण र मूल्यांकन गर्ने संवैधानिक तथा कानुनी अधिकार प्रेस काउन्सिल नेपालमा निहित छ। संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरिएको भन्दै चौतारीले प्रेससम्बन्धी विवाद समाधानका स्थापित संवैधानिक र कानुनी संयन्त्रलाई सम्मान गर्नुपर्नेमा जोड दिएको छ।
संविधानको रक्षा गर्ने जिम्मेवारी अदालतको भएको उल्लेख गर्दै चौतारीले सम्मानित अदालतले उक्त प्रारम्भिक आदेश पुनरावलोकन गरी संविधान र विधिको मर्मअनुरूप सुधार गर्ने विश्वास व्यक्त गरेको छ।
प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेशागत स्वतन्त्रता तथा प्रेस काउन्सिल नेपालको संस्थागत मर्यादा जोगाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको चौतारीले जनाएको छ। साथै, सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारको संरक्षण लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत आवश्यकता भएको उल्लेख गरिएको छ।