सुनसरी- कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२/ ८३ मा जेठ महिनासम्म कुल ९ हजार २ सय ४२ जना पर्यटकले भ्रमण गरेका छन्।
आरक्ष भ्रमण गर्ने कूल पर्यटकमध्ये चार हजार ५३५ महिला र चार हजार ५३५ पुरुष गरेर नौ हजार ७० जना नेपाली पर्यटकले आरक्षको भ्रमण गरेको उनले बताए।
त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट कूल २५ जना पर्यटकले कोशीटप्पुको भ्रमण गरेका छन्। (सार्क) मुलुकबाट तीन जना महिला र २२ जना पुरुष रहेका छन्।
सार्क मुलुकबाहेकका अन्य विदेशी १४७ जनाले आरक्षको भ्रमण गरेको आरक्षका पौडेलले बताए। सार्क मुलुकबाहेकका अन्य विदेशी १४७ जनाले पर्यटकमा ४४ जना महिला र १०३ जना पुरुषले आरक्षको अवलोकन गरेको उनले बताए।
अर्नाको राजधानी र चराको स्वर्ग मानिने सो आरक्षमा सबैभन्दा बढी पर्यटक मङ्सिर महिनामा आएका छन् भने सबैभन्दा कम असोज महिनामा पर्यटक आएका छन्।
यस महिनामा एक हजार ८९३ जना पर्यटकले आरक्षको भ्रमण गरेका छन् भने असोज महिनामा ३२५ जना पर्यटकले आरक्षको भ्रमण गरेको आरक्ष प्रशासनले जनाएको छ।
साउनमा ४९६, भदौमा ५४७, असोजमा ३२५, कात्तिकमा ५९१, पुसमा ६४२, माघमा १ हजार ४९९, फागुनमा ६९७, चैतमा ६९१, वैशाखमा ७९१ र जेठमा एक हजार ७० जना गरेर कूल नौ हजार २४२ जना पर्यटक आरक्षको भ्रमण गरेका छन्।
विशेषतहः यहाँ आउने पर्यटकले लोपोन्मुख अवस्थामा रहेका अर्ना (जङ्गली भैँसी) का साथै २० प्रकारका साना ठूला जनावर हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गर र सजिलै सप्तकोसी नदीमा डलफीन हेर्न पाउने गरेको आरक्षका योजना अधिकृत पौडेलले बताए।
विश्वमा नै दुर्लभ मानिएका चराचुरुङ्गीसहित ४९८ प्रजातिका चराचुरुङ्गी पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटालगायतका पन्छी पाइन्छन्।
साथै पछिल्लो समय गैँडाको समेत अवलोकन गर्ने गरेका छन्। आरक्षमा आन्तरिक पर्यटकको आकर्षण सबैभन्दा बढी देखिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ। रासस