शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, १२ करोड ६९ लाख राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार ६ २०८३
गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, १२ करोड ६९ लाख राजस्व संकलन

कारबाहीबाट १२ करोड ६९ लाख ४९ हजार ६८ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

कास्की- गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन माथि गरिएको कारबाहीबाट १२ करोड ६९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार चालु आवको जेठ मसान्तसम्म प्रदेशका ११ जिल्लामा विभिन्न ट्राफिक कसुरमा एक लाख ४१ हजार ६३० वटा कारबाही गरिएको जनाएको छ। 

कारबाहीबाट १२ करोड ६९ लाख ४९ हजार ६८ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

उनका अनुसार ट्राफिक सबैभन्दा बढी कारबाही क्षमताभन्दा बढी यात्रु चढाउने सवारीमाथि कारबाही गरिएको छ। यसमा १८ हजार ८२७ सवारीलाई कारबाही गर्दा एक करोड ६४ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११ हजार ९६९ चालक कारबाहीमा परेका छन्। यसबाट ६५ लाख ८२ हजार ५०० रुपैयाँ राजस्व उठेको छ। ओभरलोडमा सात हजार २३ सवारीलाई कारबाही गर्दा ९४ लाख ७८ हजार ७०५ रुपैयाँ जम्मा भएको प्रहरी उपरीक्षक काफ्लेले बताए।

तीव्र गतिका कारण पाँच हजार ७९४ सवारी कारबाहीमा पर्दा ३४ लाख ५५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। प्रयोजनविपरीत सञ्चालित सवारी कारबाहीमा तीन हजार ३६० कारबाहीमा ६६ लाख तीन हजार ५०० रुपैयाँ जम्मा भएको छ। 

यस्तै लेन अनुशासन उल्लंघन गर्ने एक हजार ४१ सवारीबाट पाँच लाख ७३ हजार उठेको छ। ध्वनि प्रदूषण, स्टन्ट र स्वरुप परिर्वतनमा ५२२ सवारी कारबाहीमा २४ लाख ८४ हजार ३६३ संकलन भएको छ।

यसैगरी अन्य विभिन्न सवारी कारबाहीबाट आठ करोड १२ लाख ७९ हजार ५०० रुपैयाँ संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार सडक सुरक्षालाई प्रभावकारी बनाउन नियम उल्लंघन गर्ने सवारीसाधनमाथि निगरानी र कारबाहीलाई थप कडाइ गरिएको छ। लाइसेन्सविहीन सवारी सञ्चालन, मापसे, तीव्र गति तथा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति अझै चुनौतीका रूपमा देखिएको कार्यालयले जनाएको छ। 

'दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीको विकासका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ। यसबाट मात्र बढ्दो सवारी दुर्घटनाका कारण हुने मानवीय तथा भौतिक क्षति कम गर्न सहयोग पुग्छ', प्रहरी उपरीक्षक काफ्लेले भने। रासस


प्रकाशित : शनिबार, असार ६ २०८३१५:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend