बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेको सेयर बजारमा निराशाजनक अवस्था, अबको साता के होला?

बिहीबार , चैत १७ २०७८
मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेको सेयर बजारमा निराशाजनक अवस्था, अबको साता के होला?

काठमाडौं- एक दिनमात्र बढेको सेयर बजारमा यो साताको अवस्था पनि निराशाजनक नै रह्यो। घट्दो ट्रेण्डमा देखिएको बजारमा यो साता ६८.९४ अंकको गिरावट आएको छ। साताभरको कारोबारमा एक दिन बुधबार बजार बढ्दा बाँकी दिन भने घटेको छ। 

साताको अन्तिम कारोबारको दिन बिहीबार बजारमा २३.९५ अंकको गिरावट आएको छ। बिहीबार २३.९५ अंकले घटेर बजार २५४४.३० बिन्दुमा झरेको छ। बिहीबार १ अर्ब ८९ करोड रूपैयाँको मात्र कारोबार भएको छ। 

साताको पहिलो दिन आइतबार नै सेयर बजारमा ठूलो गिरावट आएको थियो। आइतबार ४१.४३ अंकले घटेर बजार २५७२.२३ बिन्दुमा झरेको थियो। सोमबार २९.९८ अंकले घटेर परिसूचक २५४२.२८ बिन्दुमा झरेको थियो। मंगलबार पनि बजार १४.२६ अंकले घटेर २५२७.५८ बिन्दुमा झरेको थियो। बुधबार भने बजार बढेको थियो। ४०.६८ अंकले बढेर बजार २५६८.२५ अंकमा पुगेको थियो। 

लगानीकर्ताहरू अहिले आत्तिएको कारण भने बजार २५ सयमा पुनः फर्किएकोले हो। लामो समयसम्म २५ सयको माथिल्लो बिन्दुमा पुगेको नेप्से सूचक तलमाथि भएको थिएन। 

बैंकमा देखिएको तरलताको संकट नै लगानीकर्ताका लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको थियो। चुनावी माहोलले रकम रुपान्तरण हुने चर्चा पनि उत्तिकै चलेको थियो। करिब १० दिन लगानीकर्ताहरू २६ सयकै बिन्दुबाट टेको लगाउन सकिरहेका थिए। 

विश्लेषकहरूले आवश्यकताभन्दा बढी छिटो समयमै बजार ३२ सयसम्मको हाइब्रेक बनाउन पुग्नुले नै अहिलेको अवस्था आउनु भएको बताइरहेका छन्। बजार अझै २५ सय बिन्दुबाट तल ओर्लिएर मात्रै टेको लाग्ने देखिन्छ। 

साताभरको अवस्था हेर्दा उत्साहित लगानीकर्तालाई सेयर बजारले निराश मात्र बनाएन, २६ सयको मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा बजार आइपुगेपछि लगानीकर्ताले विश्वास गुमाएका छन्।

विश्लेषकहरूका अनुसार बजार मनोवैज्ञानिक तहबाटै तल झरेकाले अझै केही समय करेक्सनमा रहन सक्ने देखिन्छ। लगानीकर्ताहरू अहिले बजार पस्न डराएका छन् भने सस्तो मूल्यमा बेच्न पनि लगानीकर्ताहरू तयार अवस्थामा नहुँदा पर्ख र हेरको स्थितिमा अहिलेको बजार देखिन्छ। आउने साता पनि लगानीकर्ता पर्ख र हेरकै स्थितिमा रहने विश्लेषकहरू बताउँछन्।   


प्रकाशित : बिहीबार , चैत १७ २०७८०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend