शुक्रबार, जेठ ४ गते २०८१    
images
images

ओपीसी सिमेन्टको प्रयोग बढ्दै, प्राकृतिक स्रोत दोहनको तुलनामा राज्यलाई फाइदा छ?

images
बिहीबार , चैत १७ २०७८
images
images
ओपीसी सिमेन्टको प्रयोग बढ्दै, प्राकृतिक स्रोत दोहनको तुलनामा राज्यलाई फाइदा छ?

उद्योगीले जुन धेरै उत्पादन तथा वितरण गर्छन् उपभोक्ताले पनि त्यही प्रयोग गर्छन् , अन्तत: प्राकृतिक स्रोतको परिचालनको नीति उद्योगी आफैले गर्छन्। यसमा राज्यले अध्ययन अनुसन्धान गरेर नीति निर्धारण अहिलेसम्म गरेको छैन। 

images
images

काठमाडौं- नेपाली बजारमा धेरैजसो दुई प्रकारका सिमेन्ट प्रयोगमा छन्, ओपीसी र पीपीसी। उत्पादन पनि यी दुई प्रकारकै धेरै हुन्छ। खपतको ट्रेन्ड पनि त्यस्तै छ। 

images
images
images

यी दुईमा धेरै प्रयोग भने ओपीसी सिमेन्टको छ। कुल सिमेन्ट बजारको ७० प्रतिशत हिस्सा ओपीसीले लिएको छ। 

images

उत्पादनका हिसाबले किफायति, उपयोगका हिसाबले बलियो तथा प्राकृतिक स्रोत उपयोगका हिसाबले यी दुई सिमेन्टमा कुनलाई धेरै प्राथमिकता दिनुपर्छ भनेर राज्यले अहिलेसम्म भनेको छैन। प्राकृतिक स्रोतको दोहन तथा परिचालनका लागि राज्यको नीति हुनुपर्ने भए पनि सिमेन्टका हकमा उत्पादकहरूले नै नीति निर्धारण गरेका छन्। 

images
images

उद्योगीले जुन धेरै उत्पादन तथा वितरण गर्छन् उपभोक्ताले पनि त्यही प्रयोग गर्छन्। अन्तत: प्राकृतिक स्रोतको परिचालनको नीति उद्योगी आफैले निर्माण गर्छन्। यसमा राज्यले अध्ययन अनुसन्धान गरेर नीति निर्धारण अहिलेसम्म गरेको छैन। 

images
images

सिमेन्टको उत्पादन भनेको खाली व्यापारिक कुरामात्र होइन। यो प्राकृतिक स्रोतको परिचालन पनि हो। हाम्रो खनिजको परिचालन हो। यदि यो प्राकृतिक स्रोत परिचालनको सवाल हो भने यी दुईमध्ये कुन सिमेन्टको प्रचालनले राज्यलाई बढी लाभ हुन्छ? उपभोक्तालाई फाइदा र बलिया पूर्वाधार निर्माण हुन्छन्? 

नापतौल तथा गुणस्तरमा उद्योगीहरूले बेलाबेला यो कुरा उठाउने गरेका छन्। राज्यले स्पष्ट नीति नबनाउँदा  नेपालमा ओपीसी सिमेन्टको प्रयोग बढ्दै गएको उनीहरूले बताउँदै आएका छन्। उनीहरूका अनुसार ओपीसी सिमेन्टले बढी प्राकृतिक स्रोतको दोहन गर्छ भने अर्को विदेशी कच्चा पादर्थको माग गर्छ। पीपीसी सिमेन्टको तुलनामा यसमा यी दुई कुरा हानिकारक भएको उनीहरूले बेलाबेलामा आवाज उठाउने गरेका छन्। 

तर सरकारले सिमेन्टको उत्पादनमा कुनै प्राथमिकता तय गरेको छैन। अधिकांश उद्योगीले ओपीसी सिमेन्टलाई नै प्रबर्द्धन गर्दै आएका छन्। 

ओपीसी सिमेन्टको व्यापकतालाई प्रश्रय दिँदा पीपीसीको गुणस्तरमा प्रश्न उठाउने गरिएको छ। तर यो कुरामा खासै दम नभएको नापतौल तथा गुणस्तर विभागका एक अधिकारी बताउँछन्। 
 
'तर राज्यले पीपीसी सिमेन्टको गुणस्तरमा ध्यान दिने हो भने ओपीसी सिमेन्टभन्दा पीपीसी सिमेन्टको व्यापारबाट राज्यलाई बढी फाइदा छ। राज्यसँगै आम उपभोक्तालाई पनि पीपीसी सिमेन्ट प्रयोगबाट नै फाइदा छ। तर यहाँ केही व्यवसायीले पीपीसी सिमेन्टको गुणस्तर कम रहेको भन्दै ओपीसी सिमेन्टको प्रचार गर्दै व्यापार गरिरहेका छन्। सामान्यत: ओपीसी सिमेन्टभन्दा पीपीसी सिमेन्ट सस्तो पनि हुन्छ। पीपीसी सिमेन्ट सस्तो हुँदैमा कम गुणस्तरको हुँदैन' ती अधिकारीले भने। 

कतिपय सिमेन्ट उद्योगले त ओपीसी सिमेन्ट भनेर पीपीसी सिमेन्ट नै प्याकिङ गरेर बजारमा समेत पठाएका छन्। यसबाट उद्योगीले उपभोक्तालाई ठगिरहेका छन्।

ओपीसी र पीपीसी सिमेन्ट भनेको के हो? ओपीसी सिमेन्टको प्रयोग कस्तो ठाउँमा गर्ने? पीपीसी सिमेन्ट पनि गुणस्तरीय सिमेन्ट नै हो र? प्रश्नहरू आइरहे पनि यथार्थ जानकारी उपभोक्तासम्म पुगेको छैन। 

भारतमा अहिले पनि पीपीसी सिमेन्टको प्रयोग नै बढी छ। भारतमा त ओपीसी सिमेन्ट जहाँ पायो त्यही प्रयोग गर्न पाइँदैन। भारतमा ओपीसी सिमेन्ट प्रयोग गर्नका लागि 'स्पेशल रिक्यावरमेन्ट' हो भनेर प्रमाणित हुन पर्छ। हाइराइजिङ बिल्डिङ तथा मेगा प्रोजेक्टका लागि अनुमति लिएर मात्रै ओपीसी सिमेन्ट प्रयोग गर्नु पर्छ। सामान्य नागरिकले पैसा छ, म ओपीसी सिमेन्ट नै प्रयोग गछु भन्न पनि पाउँदैनन्। 

पीपीसी सिमेन्टले नै उपभोक्ताको आावश्यकता पूरा हुन्छ। भारतले ओपीसी सिमेन्ट प्रयोगमा कडाइ गर्नुको एउटा कारण प्राकृतिक स्रोतको संरक्षण गर्ने पनि हो।

सिमेन्ट उत्पादनमा सबैभन्दा बढी प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा हो। चुनढुंगा बचाउनु भनेको प्राकृतिक स्रोत बचाउनु हो। सामान्यत: भारतीय खुद्रा बजारमा ओपीसी सिमेन्ट नै नहुने नेपाली व्यवसायीहरू बताउँछन्। बजारमा पीपीसी सिमेन्ट सर्वत्र हुन्छ। ओपीसी सिमेन्ट बढी स्ट्रेन्थ चाहिने तथा मेगा प्रोजेक्टहरू तथा इन्जिनियरिङ आवश्यकता भएको ठाउँमा मात्रै  प्रयोग गर्ने चलन छ। 

नेपालमा पनि आम पूर्वाधारमा पीसीसीले नै पुग्ने गुणस्तर तथा नापतौल विभागकै अधिकारीहरू बताउँछन्। तर नेपालमा यसका लागि कुनै अध्ययन अनुसन्धान भएको छैन। 

केही उद्योगको गुणस्तरमा कमजोरी भएपनि अधिकांशले पीपीसी सिमेन्टको गुणस्तरमा ध्यान दिएको एक सिमेन्ट उद्योगीले स्वीकार गरे। पीपीसी सिमेन्ट उत्पादन गर्ने उद्योगमा समस्या रहेको छ। सरकारले सबै काममा पीपीसी सिमेन्ट प्रयोग गर्नुपर्ने गरी नीति तय गर्न सकेको अवस्थामा ओपीसी सिमेन्टको अनावश्यक प्रयोग रोक्न सकिन्छ। यसका लागि नियमन गर्ने निकाय तथा उद्योगीले गुणस्तरीय सिमेन्टको उत्पादनमा ध्यान दिनुपर्ने र यसो हुँदा सबैलाई लाभ हुने उद्योगीहरू नै बताउँछन्। 

नेपालमा त अवस्था यस्तोसम्म भइसक्यो कि पीपीसी गुणस्तरहीन सिमेन्ट हो त्यसैले ओपीसी नै प्रयोग गर्नुपर्छ भनेर गलत कुरा फैलाइएको उनीहरू बताउँछन्। यही गलत बुझाइको फाइदा केही उद्योगीले लिएका छन्। उनीहरूले बोरामा ओपीसी लेखेर भित्र पीपीसी सिमेन्ट समेत बिक्री गर्ने गरेका छन्। बलियो अनुसन्धान प्रणाली नहुँदा यो कुरा अहिलेसम्म कारबाही भने कसैलाई भएको छैन।    

सिमेन्टको मूल्यमा नै सामान्यत: एक सय रुपैयाँ जति कम पर्छ। संरचना बनाउँदा चाहिने स्ट्रेन्थ जति पनि पुग्ने विभागकै प्राविधिक इन्जिनियरहरू बताउँछन्। ढलान गर्नेवित्तिकै चर्किने विषय पनि ओपीसी सिमेन्टको प्रयोगमा भन्दा पीपीसीमा नै कम हुन्छ। ओपीसीमा हिट अफ हाइट्रेसनका कारण छिटो सेट हुने हुँदा एक दुई दिनमै चर्किने पनि हुन्छ।

बढी बलियो बनाउने भन्दै अनावश्यक ठाउँमा ओपीसी सिमेन्ट प्रयोग गर्दा पनि समस्या आउने एक व्यवसायीले बताए। तर पीपीसीमा त्यो समस्या नआउने विभागको भनाइ छ। ठूलाठूला ड्याम तथा बिल्डिङ बनाउँदा, रेल्वको लाइन बनाउँदा मात्रै भारतमा ओपीसी प्रयोग गर्ने चलन छ। तर नेपालमा आम नागरिकले घर बनाउँदा पनि ओपीसी सिमेन्टलाई नै बेस बनाएर बनाइरहेका छन्। 

यस्तो हुनुमा उद्योगी व्यवसायीले पनि पीपीसीको ब्रान्डिङ नगर्ने र ओपीसीको ब्रान्डिङ बढी गर्दा यस्तो समस्या आएको व्यवसायीहरू स्वीकार्छन्।  

नेपालमा पीपीसी पूरा सिमेन्ट हैन भन्ने धारणा पनि विकास भएको छ। जसका करण ओपीसी प्रयोग बढी हुने गरेको छ।

ओपीसी र पीपीसी सिमेन्ट बनाउँदा प्रयोग हुने कच्चा पदार्थमा केही फरक छ। ओपीसी सिमेन्ट क्लिङकर र जिप्सन मात्रै प्रयोग भएर बनको हुन्छ। पीपीसीमा  जिप्सन, क्लिङकर र फ्लाइआश मिलेर बनेको हुन्छ। कोइलाबाट चल्ने विद्युत गृहबाट निस्कने धुवाँबाट निस्कने डस्ट ‘आश’ हो। सामान्य रुपमा भन्ने हो भने यो उडेको खरानी नै हो। यो भारतबाट आयात हुन्छ। 

'पीपीसी सिमेन्ट नै फ्लाइआशको प्रयोगका लागि हो। पीसीसी सिमेन्टको स्ट्रेन्थमा पनि ४५ देखि ५० मेगापास्कल नै दिन्छ। गुणस्तर नहुने भन्ने होइन। यसमा ध्यान नदिने हो भने त फेरि गुणस्तरमा कमी आउँछ। गुणस्तरको विषयमा कुनै सम्झौता नगर्ने हो भने फ्लाइ आशबाट पनि सिमेन्टमा हुने पर्ने सबै गुणस्तर पूरा हुन्छ' एक उद्योगी भन्छन्, 'भारत जस्तो देशमा १० तलासम्मको घर बनाउँदा पीपीसी सिमेन्ट नै प्रयोग हुन्छ। तर नेपालमा चाहिँ प्रमोट हुन सकेको छैन। 'फ्लाई आश फेरि नेपालको कच्चा पदार्थ त भने होइन। तर हाम्रो प्राकृतिक स्रोतको सेभ चाँही हुन्छ। प्रयोग कर्तालाई पनि कम मूल्य पर्छ। फ्लाई आश फ्रिअफ कस्टर्मै पाइने विषय हो। यो त भारतका लागि अनावश्यक बस्तु हो। नेपाल ल्याउँदा पनि ढुवानी खर्च र सामान्य भन्सार शूल्क तिरे पुग्छ।' 

पीपीसीमा अधिकतम २५ प्रतिशतसम्म फ्लाइआश प्रयोग गर्न पाइन्छ। जसबाट चुनढुंगाको खपत कम गर्दै कोइला आयात पनि कम गर्न सकिन्छ। 

भारतमा चुनढुंगा कम भएको र भएको प्राकृतिक स्रोत जोगाउन लागि पनि पीपीसी सिमेन्ट प्रयोगमा बढी प्राथमिकता दिइएको छ। पीपीसी सिमेन्ट उत्पादन गर्दै गर्दा २० प्रतिशत मात्रै फ्लाइआश हाल्दा पनि प्राकृतिक स्रोत संरक्षण हुन्छ। २० प्रतिशत फ्लाइ आश हाल्ने भनेको  २० प्रतिशत क्लिङकर बचाउनु हो। २० प्रतिशत क्लिङकचर बच्नु भनेको चुनढुंगा पनि बच्नु र कोइलाको खपत पनि कम हुनु हो। 

एउटा उद्योगले दिनको ३ हजार टन सिमेन्ट बनाउँछ भने २० प्रतिशत भनेको ६ सय टन हुन्छ। ६ सय टन भनेको ३० गाडी क्लिङकर जोगिन्छ। यो जोगिनु भनेको ६० गाडी चुनढुंगा जोगिनु हो। 

६० गाडीमा सरदर १० गाडी त कोइला पनि कम खपत हुन्छ। यसबाट त जनतासँगै राज्यलाई पनि फाइदा छ। कोइला आयात पनि अहिलको भन्दा ७ प्रतिशत कम हुन्छ। चुनढुंगा पनि बच्छ।

बजारमा उपभोक्तालाई पनि प्रतिबोरा १ सय रुपैयाँसम्म सिमेन्ट सस्तो पर्छ। ओपीसी सिमेन्टले बचार कब्जा जमाउनुमा  पीपीसी सिमेन्टको गुणस्तरमा उद्योगीहरूको ध्यान कम हुन थालेको कारण पनि हो। पीपीसी सिमेन्टको गुणस्तरमा ध्यान दिने हो भने प्रयोगमा कुनै समस्या नआउने व्यवसायीहरू नै बताउँछन्। यसका लागि गुणस्तरले  पीपीसी सिमेन्टमा राखिने फ्लाइआशको  गुणस्तर निर्धारण गर्नुपर्छ। 

'उद्योगी व्यवसायीले पनि पीपीसी सिमेन्टलाई प्रमोट गर्ने नीति लिनुपर्छ। गुणस्तरमा ध्यान दिँदै राम्रो गुणस्तरको सिमेन्ट दिने हो भने कुनै समस्या छैन। केही उद्योगले उत्पादन गर्ने पीपीसी सिमेन्ट ओपीसी भन्दा राम्रो  हुन्छ। ५०/५२ आउने स्ट्रेन्थ दिएको अवस्था पीपीसी सिमेन्ट अति नै राम्रो हुन्छ। अहिले कतिपय उद्योगहरूले पनि ओपीसी सिमेन्ट उत्पादनमा पनि फ्रड गरिरहेका छन्। रातको समयमा उत्पादन हुने सिमेन्टमा बढी फ्रड भएको छ' गुणस्तर विभागका एक उच्च अधिकारीले भने। 


प्रकाशित : बिहीबार , चैत १७ २०७८०१:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend