नेपालगंज- बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ।
जिल्लाको राप्ती सोनारी गाउँपालिका-३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगंजले जनाएको छ।
कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटर सडकमध्ये करिब ३६ किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने र त्यसमा करिब २० वटा पुल निर्माण हुने बताए। जसअन्तर्गत दाङतर्फ २२ किलोटिर सडक र १७ वटा पुलसहित २९ अर्ब रुपैयाँ स्रोत सुनिश्चत भएको उनले जानकारी दिए।
सडक विस्तारका लागि करिब १५ किलोमिटर घना जङ्गल पर्ने जनाइएको छ। रुखको अवस्थाबारे जानकारी प्राप्त गरेको र त्यस क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङकन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सम्पन्न भइसकेको छ। सडकको चौडाइ १२ मिटर रहने र नौ मिटर अस्फाल्ट प्रविधिमा कालोपत्र गरिने छ। निर्देशनालयका अनुसार यही असार ३१ गतेसम्म सूचना प्रकाशनपछि असोज महिनाबाट सडकको काम सुरु हुनेछ।
हुलाकी राजमार्ग यस क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मेरुदण्ड र पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा रहने छ। समाजसेवी पोषण केसीले गुणस्तरीय सडकको अभावमा वर्षौंदेखि यहाँका ग्रामीण क्षेत्र विकासमा पछाडि परेको भन्दै सडक बनेमा त्यहाँका जनताको जीविकोपार्जनमा निकै सघाउ पुग्ने बताउँछन्।
राप्तीसोनारी गाउँपालिका-१ का अध्यक्ष यमबहादुर खड्काले हुलाकी सडक विस्तार हुने खबरले यस क्षेत्रका जनतामा खुसियाली छाएको बताए।
