आइतबार, जेठ २४ गते २०८३    
आइतबार, जेठ २४ २०८३

शेष घलेले लैनचौरमा बनाइरहेको होटलको लागत १५ अर्ब रुपैयाँ, म्यारियट इन्टरनेसनलसँग सम्झौता

म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटले गरे अवलोकन

आइतबार, जेठ २४ २०८३
शेष घलेले लैनचौरमा बनाइरहेको होटलको लागत १५ अर्ब रुपैयाँ, म्यारियट इन्टरनेसनलसँग सम्झौता

पछिल्लो समय विश्वकै ठूलो होटल तथा आतिथ्य कम्पनीहरूमध्येको मेरियट इन्टरनेसनलले नेपालमा व्यवसाय विस्तारलाई तीब्रता दिन खोजिरहेको देखिन्छ।

काठमाडौं- काठमाडौंको लैनचौरमा व्यवसायी शेष घलेले बनाइरहेको 'लग्जरी होटेल'को कामलाई अहिले तीब्रता दिइएको छ। मेरियट इन्टरनेसनलअन्तर्गत फ्रेन्चाइजको रुपमा नेपाली मूलका अस्ट्रेलियन व्यवसायी घलेले यो ब्राण्ड भित्र्याएर निर्माण अघि बढाएका हुन्।

मेरियट इन्टरनेसनलको स्थापना सन् १९२७ मा भएको थियो। हाल यसका ९ हजार सात सयभन्दा बढी होटल तथा रिसोर्टहरू १ सय ४० भन्दा बढी देशमा सञ्चालनमा छन्। यो होटल २०१३ देखि बन्न थालेपनि निर्माण अझै सकिएको छैन। लैनचौरमा बनिरहेको होटलको काम करिब ७५ प्रतिशत सकिएको र अब छिट्टै सञ्चालनको घोषणा गरिने घले जानकारी दिए।

२०७१ असोज २५ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासहित विभिन्न मन्त्री र पूर्वप्राधनमन्त्रीहरू उपस्थित भएर कान्तिपथ केशरमहलनजिक होटलको शिलान्यास गरेका थिए। ८ अर्ब रुपैयाँ लगानीमा लक्जरी होटल बनाउने घोषणा गरेर सुरु भएको कामको लागत अहिले १५ अर्ब रुपैयाँ पुगेको हो। एमआईटी होल्डिङ्सले निर्माण गरिरहेको होटलमा आउने भनिएको चर्चित ब्राण्ड सेराटन बाहिरिएपछि म्यारिएटसँग पछिल्लो सम्झौता भएको हो। 

होटल सन् २०१४ मै निर्माण सुरु गरिए पनि भूकम्प, नाकाबन्दीसँगै कोरोनाको कारणले समेत पूर्वनिर्धारित लक्ष्यमा ढिलाइ भएको भन्दै समय सारिँदै आइएको छ। काठमाडौं केन्द्रमा १३ रोपनी जग्गामा रहने होटलमा १७ तले भवन हुनेछ। जसमा तीन तला बेसमेन्ट, लबीसहित १३ वटा तलामा होटलका रुमहरू हुनेछन्।

होटेलमा चारवटा रेस्टुरेन्ट, स्पा, स्विमिङ पुल, फिटनेस सेन्टर र सबैभन्दा ठूलो हल पनि रहने छन्। २ सय २२ वटा कोठा रहने होटल नेपालमा हालसम्मकै सबैभन्दा ठूलो लगानी रहेको होटलको रुपमा प्रचार हुँदै आएको छ।  

‘२०१३ देखि नै निर्माण सुरु भएको हो, विभिन्न परिस्थितिले निर्माण ढिला भयो। लागत पनि धेरै नै बढ्न गयो। अब निर्माण पूरा हुन ३/४ महिना बाँकी छ। लगानी करिब १५ अर्बको हाराहारीमा पुग्ने देखिन्छ। दुई महिना अघि हामीले मेरियट इन्टरनेसनलसँग साइन गरेका थियौँ। म्यारिएट इन्टरनेसनलको अध्यक्ष डेभिड म्यारियट अवलोकन गर्न आज आउनुभयो। यो होटल साउथ एसिया अर्थात भारत, श्रीलंका, बंगलादेश, नेपालमै पहिलो लग्जरी होटल हुने भएको छ। ट्रेडमार्क रजिष्टेसनका लागि नाम दिइएको छ। अब १/२ हप्तामा आउँछ। त्यसैले हामीले पब्लिक नगरेको हो। म्यारियटकै अनुरोधअनुसार सबै काम भइरहेको छ’ घलेले भने।

sesh ghale hotel (1).jpg

लगानीकर्ता जमुना गुरुङ घलेले होटललाई अन्तर्राष्ट्रियस्तरको विलासी सुविधासहित तयार पार्न विशेष ध्यान दिइएको बताइन्। उनका अनुसार होटललाई सुरुमा सेराटन ब्रान्डमा सञ्चालन गर्ने योजना रहे पनि पछि ‘लक्जरी कलेक्सन’मा स्तरोन्नति गरिएपछि डिजाइन र संरचनामा व्यापक परिमार्जन गर्नुपरेको थियो। निर्माणका क्रममा दक्ष तथा अर्धदक्ष जनशक्ति अभावका कारण काम प्रभावित भएको उल्लेख गर्दै उनले नेपालमा हालसम्म उपलब्ध नभएका स्तरीय सेवा र सुविधासहित होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिइन्। 

'काम गर्छुभन्दा पनि लेभर नपाएर धेरै नै हामीले समस्या भोगेका छौँ। धेरै क्वालिटीको रात बिताउनका लागि हामीले सोहीअनुसारको डेकोरेसनहरु मिलाउँदैछौँ। अहिलेसम्म नेपालमा नपाएको त्यस्तो खालको सुविधा दिनका लागि होटल सोहीअनुसार बनाउँदैछौँ’ उनले भनिन्। 

पछिल्लो समय विश्वकै ठूलो होटल तथा आतिथ्य कम्पनीहरूमध्येको मेरियट इन्टरनेसनलले नेपालमा व्यवसाय विस्तारलाई तीब्रता दिन खोजिरहेको देखिन्छ। अहिले नै मेरियट इन्टरनेसनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजमा मेरियट काठमाडौं, मोक्सी, फेरिफिल्ड, अलफ्ट र सोल्टी होटलमा अटोग्राफ कलेक्सन सञ्चालनमा छन्।


प्रकाशित : आइतबार, जेठ २४ २०८३१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend