आइतबार, जेठ २४ गते २०८३    
आइतबार, जेठ २४ २०८३

१५ वर्षमा १८ मन्त्रीले गरे कमला पुलको निरीक्षण, आजित स्थानीयले गरे विरोध

आइतबार, जेठ २४ २०८३
१५ वर्षमा १८ मन्त्रीले गरे कमला पुलको निरीक्षण, आजित स्थानीयले गरे विरोध

पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवतजावत गर्न बाध्य भएको र कमला नदी वारपार गर्न जोखिमपूर्ण एवं कष्ठकर यात्रा गर्नु परेको स्थानीयको गुनासो छ।

काठमाडौं- हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुल १५ वर्षदेखि अलपत्र छ। झन्डै १५ वर्षमा विभिन्न १८ जना मन्त्रीले कमला पुलको निरीक्षण गरिसकेको भए पनि काम भने हुन सकेको छैन।

सोही अलपत्र पुलको पछिल्लो अवस्था बुझ्न पछिल्लो पटक पूर्वाधार विकासमन्त्री सुनील लम्सालले पनि स्थलगत निरीक्षण गरेका छन्। पूर्वी मधेशका विभिन्न जिल्लामा सञ्चालित विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा मन्त्री लम्साल नेतृत्वको टोलीले कमला पुलको अवलोकन गरेको हो।

मन्त्री फेरिने र निरीक्षण हुने क्रम चलिरहे पनि पुलको निर्माण कार्य भने अझै अधुरो छ। जसका कारण स्थानीय जनताले लामो समयदेखि सास्ती भोग्दै आएका छन्।

बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार बनेपछि निरीक्षणका क्रममा मन्त्री लम्साल पुग्दा स्थानीयले विरोधसमेत गरेका छन्। पुल निर्माण सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक नगरेको भन्दै स्थानीयले मन्त्रीको निरीक्षणप्रति असन्तुष्टि जनाए।

मन्त्री लम्सालले पुल निर्माणको काम अब कुनै बाहनामा नरोकिने दाबी गरेका छन्।

यसअघि गतवर्ष  मंसिर ५ मा चुनावी सरकारका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले  स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनर्स्थापनाको काम तत्काल अघि बढाएर जतिसक्दो छिटो पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए। चैतसम्म काम सकिने भनिए पनि काम पूरा हुन सकेन। 

ठेक्का सम्झौता भएको करिब १५ वर्ष पुग्दासमेत कमला पुल निर्माण हुन सकेको छैन। पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवतजावत गर्न बाध्य भएको र कमला नदी वारपार गर्न जोखिमपूर्ण एवं कष्ठकर यात्रा गर्नु परेको स्थानीयको गुनासो छ।

२०७८ असार १७ मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्ल्याबमा क्षति पुगेको थियो। क्षति पुगेका स्ल्याबमध्ये सिरहा (पूर्व) तर्फको दुईवटा स्ल्याब हटाइएको छ भने धनुषा (पश्चिम) पट्टिको दुईवटा स्ल्याब हटाउन नपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ।

तराई/मधेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख रुपैयाँ (भ्याटसहित) मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो। सुरुको सम्झौताबमोजिम पुल निर्माण २०७१ को मंसिरमा सम्पन्न हुनुपर्ने थियो।

भ्रमणका क्रममा मन्त्री लम्सालले कमला पुल मात्र नभइ अन्य ठूला पूर्वाधार आयोजनाहरूको पनि अनुगमन गरे।

टोलीले काँकडभिट्टा–लौकही सडक आयोजनाका तीनवटा खण्ड र सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्मको करिब ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगतिको जानकारी लिएको छ।

मन्त्री लम्सालले एसियाली विकास बैंक र विश्व बैंकको लगानीमा सञ्चालित विभिन्न पूर्वाधार परियोजनाहरूको समेत निरीक्षण गरेका थिए। मन्त्री लम्सालले आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण, समन्वय र प्रभावकारी अनुगमनलाई उच्च प्राथमिकतामा राखेको बताए। केही समयअघि मात्रै मन्त्री लम्सालले बुटबल, मुलिन, नागढुंगा सडकखण्डकको समेत अनुगमन गरेका थिए। 


प्रकाशित : आइतबार, जेठ २४ २०८३१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend