आइतबार, जेठ २४ गते २०८३    
आइतबार, जेठ २४ २०८३

मोतिदान कन्स्ट्रक्सनको कारोबार ८८ प्रतिशतले वृद्धि, १९ अर्बको अर्डर बुकले पाँच वर्षको आम्दानी सुनिश्चित

आइतबार, जेठ २४ २०८३
मोतिदान कन्स्ट्रक्सनको कारोबार ८८ प्रतिशतले वृद्धि, १९ अर्बको अर्डर बुकले पाँच वर्षको आम्दानी सुनिश्चित

निर्माण क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, सरकारी बजेट खर्चमा हुने ढिलाइ, आयोजना स्वीकृति प्रक्रियाको जटिलता तथा ब्याजदरको उतारचढाव कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेका छन्।

काठमाडौं- निर्माण क्षेत्र समग्ररूपमा सुस्त रहेको अवस्थामा मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय वित्तीय वृद्धि हासिल गरेको छ।

केयर रेटिङ नेपालका अनुसार कम्पनीको सञ्चालन आम्दानी एक वर्षमै ८८.५१ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड ९० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ६ करोड ३० लाख रुपैयाँ थियो।

प्रमुख आयोजनाहरूको समयमै कार्यान्वयन तथा निर्माण गतिविधिको विस्तारका कारण आम्दानीमा उल्लेखनीय वृद्धि भएको कम्पनीले जनाएको छ। यद्यपि निर्माण सामग्री तथा सञ्चालन लागत बढेका कारण कम्पनीको सञ्चालन नाफा (पीबिआइएलडीटी) मार्जिन भने २३.२४ प्रतिशतबाट घटेर १४.७७ प्रतिशतमा झरेको छ।

कारोबार विस्तारसँगै कम्पनीको नगद आम्दानी (ग्रस क्यास एक्रुअल) पनि बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा १७ करोड ५० लाख रुपैयाँ रहेको नगद आम्दानी गत वर्ष २५ करोड ९० लाख रुपैयाँ पुगेको छ।

पछिल्ला वर्षहरूमा कम्पनीले निरन्तर उच्च कारोबार कायम राख्दै आएको छ। आर्थिक वर्ष २०७२/७३ मा २२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको वार्षिक कारोबार एक दशकमा झन्डै ३.९ अर्ब रुपैयाँसम्म पुगेको हो। कम्पनीको अधिकांश आम्दानी सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार आयोजनासम्बन्धी सरकारी ठेक्काबाट आउने गरेको छ।

कम्पनीसँग हाल कार्यान्वयन हुन बाँकी परियोजनाको कुल मूल्य १९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी रहेको छ। यो रकम गत वर्षको सञ्चालन आम्दानीको करिब पाँच गुणाबराबर हो।

कम्पनीका अनुसार हालको अर्डर बुकले आगामी चारदेखि पाँच वर्षसम्मको आम्दानी सुनिश्चित गर्ने आधार तयार गरेको छ। साथै कम्पनीले पछिल्ला दुई वर्षमा मात्र करिब २० अर्ब ९५ करोड रुपैयाँबराबरका तीन ठूला आयोजना प्राप्त गरेको छ।

सन् २००९ मा स्थापना भएको मोतिदान कन्स्ट्रक्सन नेपाल सरकारबाट मान्यता प्राप्त ‘क्लास ए’ निर्माण कम्पनी हो। कम्पनीका प्रबन्ध निर्देशक रामबहादुर गौतमको नेतृत्वमा सडक, पुल, भवन, सिँचाइ, खानेपानी तथा खानी उत्खननलगायतका पूर्वाधार आयोजना सञ्चालन हुँदै आएका छन्। आवश्यकताअनुसार कम्पनीले संयुक्त उपक्रम (जेभी) मार्फत पनि परियोजना कार्यान्वयन गर्ने गरेको छ।

निर्माण क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, सरकारी बजेट खर्चमा हुने ढिलाइ, आयोजना स्वीकृति प्रक्रियाको जटिलता तथा ब्याजदरको उतारचढाव कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेका छन्।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब १८ अर्ब रुपैयाँ ऋण उपयोग गरिरहेको छ। यसमध्ये २ अर्ब ६ करोड ७२ लाख रुपैयाँ दीर्घकालीन, ३ अर्ब ५७ करोड ३ लाख रुपैयाँ अल्पकालीन तथा १२ अर्ब ३६ करोड २४ लाख रुपैयाँ मिश्रित प्रकृतिको ऋण रहेको छ। अधिकांश ऋण परिवर्तनीय ब्याजदरमा आधारित भएकाले ब्याजदरमा हुने उतारचढावले कम्पनीको नाफा र तरलतामा असर पार्न सक्ने जोखिम रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ।

केयर रेटिङ नेपालका अनुसार सरकारी आयोजनामा उच्च निर्भरता तथा भुक्तानीमा हुने ढिलाइका कारण कम्पनीको औसत असुली अवधि आर्थिक वर्ष २०८१/८२ मा २७४ दिन पुगेको छ। तथापि अधिकांश ठूला आयोजना अन्तिम चरणमा पुगेकाले आगामी दिनमा असुली चक्र सुधार हुने अपेक्षा गरिएको छ।

रेटिङ एजेन्सीले कम्पनीको दीर्घ अनुभव, बढ्दो कारोबार, पर्याप्त नगद आम्दानी, बलियो अर्डर बुक तथा सरकारी आयोजनाबाट प्राप्त स्थिर कामलाई प्रमुख सबल पक्षका रूपमा औंल्याएको छ। समयमै आयोजना सम्पन्न गर्ने क्षमता र प्रभावकारी वित्तीय व्यवस्थापन कम्पनीको भावी प्रदर्शनका लागि महत्वपूर्ण रहने प्रतिवेदनमा उल्लेख छ।

नेपालको निर्माण क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा करिब ७ देखि ८ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ। पूर्वाधार विकास, सहरीकरण, सार्वजनिक-निजी साझेदारी तथा विदेशी लगानीका कारण क्षेत्रको दीर्घकालीन सम्भावना सकारात्मक रहे पनि दक्ष जनशक्तिको अभाव, आयातित सामग्रीमा निर्भरता तथा ठेकेदारले भुक्तानी पाउन हुने ढिलाइजस्ता चुनौती अझै कायम रहेको प्रतिवेदनले जनाएको छ।


प्रकाशित : आइतबार, जेठ २४ २०८३११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend