आइतबार, जेठ २४ गते २०८३    
आइतबार, जेठ २४ २०८३

पूर्व-पश्चिम राजमार्गको ८७ किलोमिटर सडक चार लेनमा विस्तारको मन्त्री लम्सालद्वारा निरीक्षण

आइतबार, जेठ २४ २०८३
पूर्व-पश्चिम राजमार्गको ८७ किलोमिटर सडक चार लेनमा विस्तारको मन्त्री लम्सालद्वारा निरीक्षण

पूर्वाधार विकास मन्त्री सुनील लम्साल ले पूर्वी मधेशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका रणनीतिक सडक तथा पुल आयोजनाहरूको स्थलगत निरीक्षण गरेका छन्।

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनील लम्साल ले पूर्वी मधेशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका रणनीतिक सडक तथा पुल आयोजनाहरूको स्थलगत निरीक्षण गरेका छन्।

मन्त्री लम्साल नेतृत्वको टोलीले काँकडभिट्टा-लौकही सडक आयोजनाअन्तर्गत निर्माणाधीन तीनवटा खण्डको प्रगति समीक्षा गर्नुका साथै सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्म पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्यको अवस्थाबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ।

निरीक्षणका क्रममा टोलीले हुलाकी राजमार्गअन्तर्गतको कमला-कञ्चनपुर पुलको पनि अवलोकन गरेको थियो। उक्त पुल निर्माण कार्य विगत १२ वर्षदेखि विभिन्न कारणले अलपत्र अवस्थामा रहँदै आएको छ। पुल निर्माणमा देखिएका समस्या तथा समाधानका उपायबारे सम्बन्धित निकायका अधिकारीहरूसँग छलफल समेत गरिएको मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा एसियाली विकास बैंक र विश्व बैंक को लगानीमा सञ्चालित विभिन्न पूर्वाधार परियोजनाहरूको समेत निरीक्षण गरिएको थियो।

मन्त्री लम्सालले राष्ट्रिय महत्वका सडक तथा पुल आयोजनाहरूलाई निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्माण कार्यमा देखिएका अवरोध हटाउन मन्त्रालयले आवश्यक सहजीकरण, अन्तरनिकाय समन्वय र प्रभावकारी अनुगमनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको बताए।

उनले आयोजनाको गुणस्तर कायम राख्दै निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित आयोजना प्रमुख, निर्माण व्यवसायी तथा सरोकारवाला निकायलाई निर्देशन समेत दिएका छन्।

सरकारले पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति, हुलाकी राजमार्गको बाँकी संरचना निर्माण तथा अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालित पूर्वाधार परियोजनालाई तीव्रता दिने लक्ष्यसहित स्थलगत अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।


प्रकाशित : आइतबार, जेठ २४ २०८३०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend