शनिबार, जेठ २३ गते २०८३    
शनिबार, जेठ २३ २०८३

अण्डाको मूल्य फेरि बढ्यो, खुद्रा बजारमा प्रतिगोटा करिब २५ रुपैयाँ

शनिबार, जेठ २३ २०८३
अण्डाको मूल्य फेरि बढ्यो, खुद्रा बजारमा प्रतिगोटा करिब २५ रुपैयाँ

नेपाल लेयर्स कुखुरापालक संघ अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ। संघ शुक्रबार काठमाडौंमा बसेको भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागु हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नारायणगढ- नेपाल लेयर्स कुखुरापालक संघ अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ। संघ शुक्रबार काठमाडौंमा बसेको भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागु हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको सुझाव तथा सिफारिसका आधारमा चितवनलाई आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो।

नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ र सानो अण्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ। यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुगेको छ।

सङ्घले सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ। अध्यक्ष पोखरेलले गर्मीयामका कारण उत्पादनमा आएको उतारचढाव र किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताए।

पछिल्लो एक महिनामा अण्डाको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५ रुपैयाँ रहेकामा अहिले ५६० रुपैयाँ पुगेको छ, जुन ९५ रुपैयाँ अर्थात् करिब २० प्रतिशतले बढी हो। त्यस्तै ठूलो अण्डाको मूल्य ४९० रुपैयाँबाट ५४५ रुपैयाँ, मिडियम अण्डाको ४०० रुपैयाँबाट ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी मूल्य २ हजार ३०० रुपैयाँबाट बढेर ३ हजार रुपैयाँ पुगेको छ।

सङ्घका अनुसार पछिल्ला केही सातायता अण्डा उत्पादन घट्नु, बजारमा माग बढ्नु तथा उत्पादन लागतमा भएको वृद्धिका कारण मूल्यमा निरन्तर सुधार आएको हो। किसानले दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको मूल्य बढ्दै जाँदा मूल्य समायोजन आवश्यक भएको संघको भनाइ छ।

अध्यक्ष पोखरेलका अनुसार हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पुगेको छ। नयाँ समर्थन मूल्य लागु भएपछि किसानले लागत नजिकको मूल्य प्राप्त गर्न थालेका छन्। लामो समयपछि बिक्री मूल्य उत्पादन लागतको हाराहारीमा पुगेकाले किसानलाई केही राहत मिलेको उनले बताए।

उनका अनुसार नेपालमा पछिल्लो समय पर्यटक आगमन बढ्नु, सीमा क्षेत्रमा अण्डाको आयात तथा ओसारपसारमा कडाइ हुनु र आन्तरिक बजारमा माग वृद्धि हुनुले पनि मूल्य सुधारमा सहयोग पुगेको छ।

यद्यपि किसानले लागत नजिकको मूल्य पाए पनि उत्पादन लागत नियन्त्रण, बजार व्यवस्थापन तथा दीर्घकालीन स्थायित्वका लागि सरकारी निकायबाट नीतिगत सहयोग आवश्यक रहेको संघले जनाएको छ। उत्पादन लागत घटाउने र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सके हालको मूल्य अवस्था कायम राख्न सकिने अध्यक्ष पोखरेलको धारणा छ। रासस


प्रकाशित : शनिबार, जेठ २३ २०८३०९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend