काठमाडौं- प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रक्रियामा रहेका कम्पनीहरूको संख्या १ सय ४६ पुगेको छ।
धितोपत्र बोर्डले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार विभिन्न क्षेत्रका थप ६ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै आवेदन दिएपछि पाइपलाइनमा रहेका कम्पनीको संख्या बढेको हो।
हाल सेबोनमा कुल ४७ करोड २८ लाख ९४ हजार १ सय ६३ कित्ता सेयर स्वीकृतिको पर्खाइमा रहेका छन्। जसको कुल रकम ६९ अर्ब ३० करोड ७७ लाख ४५ हजार १ सय ९६ रुपैयाँबराबर हुन्छ।
बोर्डको सूचीअनुसार विभिन्न समूहका कम्पनीहरू आईपीओ जारी गर्ने तयारीमा छन्। जसमा होटल तथा पर्यटन समूहका १८ कम्पनी, जलविद्युत समूहका ३४ कम्पनी, लगानी समूहका ५ कम्पनी, उत्पादन तथा प्रशोधन समूहका ३० कम्पनी, लघुबीमाका ३ कम्पनी र अन्य समूहका १४ वटा कम्पनीहरू सेबोनको पाइपलाइनमा रहेका छन्।
पछिल्लो समय थपिएका ६ वटा कम्पनीले मात्रै पुँजी बजारमार्फत कुल २ अर्ब ७८ करोड ३४ लाख ५३ हजार १ सय रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति मागेका छन्। यी कम्पनीहरूले संयुक्त रूपमा कुल २ करोड ७८ लाख ३४ हजार ५ सय ३१ कित्ता सेयर सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि बिक्री गर्नेछन्। नयाँ आवेदन दिनेहरूमा २ वटा जलविद्युत र ४ वटा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरू रहेका छन्।
जलविद्युत क्षेत्रबाट सुपर हेवा पावर कम्पनी लिमिटेडले १९ लाख २५ हजार कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ। सोही क्षेत्रको रघुगंगा हाइड्रोपावर लिमिटेडले १ करोड ५० लाख कित्ता सेयर निष्कासनको अनुमति माग्दै आवेदन पेश गरेको छ।
उत्पादन तथा प्रशोधन क्षेत्रतर्फ राजेश मेटल क्राफ्ट्स लिमिटेडले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर जारी गर्न २०८३ जेठ ७ गते आवेदन दिएको छ। अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत १० लाख ९ हजार ५३१ कित्ता सेयर निष्कासनका लागि प्रस्ताव पेश गरेको छ।
यसैगरी, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले १६ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने प्रस्तावसहित प्रभु क्यापिटल लिमिटेडमार्फत आवेदन दर्ता गराएको छ। प्रिमियर डिस्टिलरी लिमिटेडले भने २०८३ जेठ ८ गते २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको स्वीकृतिका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेर आवेदन दिएको छ।
हाल यी सबै आवेदनहरू धितोपत्र बोर्डको प्रारम्भिक समीक्षा चरणमा रहेका छन् र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त भएपछि मात्र कम्पनीहरूले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछन्।
