आइतबार, असोज ७ गते २०८०    

सरकारले दिने राहत अनुदान रकम लिन गएनन् किसान

images
बिजनेस न्युज
सरकारले दिने राहत अनुदान रकम लिन गएनन् किसान
images

बैतडी- बैतडीका किसान सरकारले उपलब्ध गराएको राहत अनुदान रकम लिन गएका छैनन् । 

images

गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अवरिल वर्षाका कारण धानबालीमा भएको क्षतिको राहत अनुदान रकम हालसम्म किसानले लिन आएका छैनन्। राहत अनुदान स्वरुप जिल्लामा आठ लाख रूपैयाँ प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 
  
धानबालीमा पुगेको क्षतिबापत सङ्घीय सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत किसानलाई राहत अनुदान वितरण गर्ने भनिएको थियो। तर राहत अनुदान लिनका लागि हालसम्म किसानको निवेदन नआएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

images

'राहत अनुदान रकमका लागि निवेदन दिन भनेका छौँ। हालसम्म एकजना किसानबाहेक अरु आएका छैनन्, यसका लागि हामीले सूचनासमेत जारी गरिसकेका छौंँ' उनले भने। धान भित्र्याउने बेलामा आएको वर्षाले जिल्लाका सबै स्थानीय तहमा गरी १७६ किसानको धानबालीमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

images

यसैबीच धानबालीमा क्षति पुगेका किसानलाई राहतका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ। सङ्घीय सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत दिनका लागि रकम पठाइसकेकाले निवेदन दिन आग्रह गरिएको हो। ‘धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने कार्यविधि-२०७८’अनुसार पीडित किसानलाई राहत उपलब्ध गराइने भएकाले निवेदन दिन आग्रह गरिएको सूचना अधिकारी भारतीले बताए।

images

राहतका लागि निवेदन दिनेले १० रूपैयाँको टिकट टाँसेको निवेदनका साथै वडा कार्यालयको मुचुल्का र वडा सिफारिस राख्नुपर्नेछ। यस्तै प्रहरी मुचुल्का वा प्रहरी प्रतिवेदन, कृषि ज्ञानकेन्द्र बैतडीको सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि र बैंक खाता निवेदनसँगै राख्नुपर्ने बताइएको छ।  

अविरल वर्षाका कारण यहाँ चार जनाको मृत्युसमेत भएको थियो। मृतकका परिवारलाई सङ्घीय सरकारले यसअघि नै दुई लाख रूपैयाँका दरले राहत रकम दिइसकेको बताइएको छ। रासस

images

प्रकाशित : मंगलबार, चैत १५ २०७८०४:५४
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ