शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भारततर्फको नेपाली चिया निकासी फेरि प्रभावित, शतप्रतिशत परीक्षणको प्रावधान पुनः लागु

बुधबार, जेठ २० २०८३
भारततर्फको नेपाली चिया निकासी फेरि प्रभावित, शतप्रतिशत परीक्षणको प्रावधान पुनः लागु

भारतले नेपाली चियामा लगाउँदै आएको गैरभन्सार अवरोध पुनः कडाइका साथ लागु गरेपछि नेपालबाट हुने चिया निकासी फेरि प्रभावित भएको छ।

काठमाडौं- भारतले नेपाली चियामा लगाउँदै आएको गैरभन्सार अवरोध पुनः कडाइका साथ लागु गरेपछि नेपालबाट हुने चिया निकासी फेरि प्रभावित भएको छ।

भारतीय चिया बोर्डले नेपाली चियामा पुनः शतप्रतिशत प्रयोगशाला परीक्षण अनिवार्य गर्ने व्यवस्था लागु गरेपछि पूर्वी नेपालका चिया किसान, उद्योगी तथा निर्यातकर्ताहरू चिन्तित बनेका छन्।

यसअघि भारतीय चिया बोर्डले मे १ देखि नेपालबाट भारत निर्यात हुने सबै चियामा सतप्रतिशत परीक्षण अनिवार्य गर्ने निर्णय गरेपछि काँकडभिट्टा नाकाबाट हुने चिया निकासी २१ दिनसम्म ठप्प भएको थियो। उक्त निर्णयविरुद्ध नेपाली उद्योगी-व्यवसायीले आपत्ति जनाएपछि भारतले आंशिक रूपमा व्यवस्था संशोधन गर्दै भारतीय बजारमा बिक्री हुने चियाका लागि नमूना परीक्षण मात्रै पर्याप्त हुने र तेस्रो मुलुकमा पुनः निर्यात गरिने चियामा मात्र पूर्ण परीक्षण गर्नुपर्ने व्यवस्था गरेको थियो।

त्यसपछि काँकडभिट्टामा रोकिएका चिया बोकेका कन्टेनरहरू परीक्षण प्रक्रियाका लागि कोलकाता पठाउन थालिएको थियो। भारतीय भन्सार कार्यालय पानीटंकीले चियाको नमूना संकलन गरी अस्थायी प्रमाणपत्रका आधारमा निकासी प्रक्रिया अघि बढाएको थियो।

तर अहिले भारतीय चिया बोर्डले पुनः शतप्रतिशत परीक्षणको प्रावधान कार्यान्वयनमा ल्याएपछि नेपाली चियाको निकासी फेरि अन्योलमा परेको छ। २१ दिन लामो अवरोधपछि सहज बन्दै गएको निर्यात प्रक्रिया पुनः प्रभावित हुँदा दोस्रो चरणको चिया निकासीको तयारीमा रहेका किसान तथा व्यवसायी थप समस्यामा परेका छन्।

समस्या परीक्षण प्रक्रियामा मात्र सीमित छैन। कोलकातास्थित खाद्य परीक्षण प्रयोगशालामा आवश्यक प्राविधिक जनशक्ति अभावका कारण नमूना परीक्षण प्रक्रिया समेत सुस्त बनेको छ। यसले निकासी प्रक्रियामा थप ढिलाइ हुने र चिया गोदाममै थन्किने जोखिम बढाएको व्यवसायीहरू बताउँछन्।

नेपालको चिया क्षेत्र भारतीय बजारमा अत्यधिक निर्भर छ। सरकारी तथ्यांकअनुसार नेपालमा वार्षिक करिब दुई करोड ५० लाख किलो चिया उत्पादन हुने गरेको छ। उत्पादनको झण्डै ९० प्रतिशत हिस्सा अर्थोडक्स चियाको रहेको छ, जसको अधिकांश हिस्सा निर्यात गरिन्छ।

निर्यात हुने चियामध्ये ८० देखि ९० प्रतिशत भारत जाने गरेको छ। पूर्वी नेपालका इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै युरोप, अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा एक लाख ६० हजारभन्दा बढी परिवार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चियाखेती, प्रशोधन तथा व्यापारसँग आबद्ध छन्। चिया नेपालको प्रमुख नगदे बालीमध्ये एक भएकाले निर्यातमा देखिएको अवरोधले ग्रामीण अर्थतन्त्र, किसानको आम्दानी र विदेशी मुद्रा आर्जनमा प्रत्यक्ष असर पार्ने देखिएको छ।

व्यवसायीहरूले भारतीय पक्षले पटक-पटक परीक्षणसम्बन्धी नयाँ प्रावधान लागू गरेर गैरभन्सार अवरोध सिर्जना गरेको आरोप लगाउँदै समस्या समाधानका लागि नेपाल सरकारले कूटनीतिक तथा व्यापारिक तहमा प्रभावकारी पहल गर्नुपर्ने माग गरेका छन्। परीक्षणका नाममा सिर्जना गरिएका अवरोधले नेपाली चियाको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा आपूर्ति शृंखला समेत प्रभावित हुने जोखिम बढाएको छ।


प्रकाशित : बुधबार, जेठ २० २०८३०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend