बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सेयर बजार झनै खुम्चियो, कुन बिन्दुबाट होला बाउन्सब्याक? (यस्तो छ प्राविधिक पक्ष)

मंगलबार, चैत १५ २०७८
सेयर बजार झनै खुम्चियो, कुन बिन्दुबाट होला बाउन्सब्याक? (यस्तो छ प्राविधिक पक्ष)

काठमाडौं- निरन्तर गिरावट आइरहेको सेयर बजार यो साताको तेस्रो दिन मंगलबार पनि सम्हालिन सकेको छैन। पछिल्लो बुधबारयता मात्रै एक सयभन्दा बढी अंकले बजार घटिसकेको छ।

मंगलबार बजार खुलेको एकैछिन केही अंकले बढाएका थिए। तर पछि निरन्तर ओरालो लाग्दै दोहोरो अंकको गिरावट आयो। त्रसित लगानीकर्ताका कारण बजार अझै केही समय घट्ने देखिन्छ। खासगरी अर्थतन्त्र नै संकटतर्फ गइरहेको विश्लेषण भइरहेका कारण पनि सेयर बजारमा लगानी कम हुन थालेको छ। पछिल्लो समय कारोबार रकमसमेत खुम्चँदै गएको छ। 

मंगलबार १४.२६ अंकले घटेर २५२७.५८ बिन्दुमा झरेको छ। मंगलबार कारोबार रकममा ठूलो गिरावट आएको छ। १ अर्ब ७५ करोड रूपैयाँको मात्र कारोबार भएको छ। 

यो साताको पहिलो दिन आइतबार ४१.४३ अंकले घटेको बजार २५७२.२३ बिन्दुमा झरेको थियो। सोमबार २९.९८ अंकले घटेर परिसूचक २५४२.२८ बिन्दुमा झरेको थियो। लगातार बजार घट्दै गएपछि बजार बियरिस ट्रेण्डतर्फ प्रवेश गरेको विश्लेषण भइरहेका छन्। 

विगतमा दैनिक १० अर्ब कारोबार सामान्य जस्तै भएको थियो। कुनै समय दैनिक २२ अर्बसम्मको कारोबार पुगेको थियो। अहिले मुस्किलले २ अर्ब वरपर बजार घुमिरहेको छ। 

बैंकहरूमा तरलताको समाधान चैतमा समेत हुन सकेको छैन। एक सातामा २ अर्ब मात्रै निक्षेप थपिएको छ। गत साता ५ अर्ब निक्षेप घटे पनि यो साता भने २ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। यता यो साता ऋण प्रवाह पनि २ अर्ब रुपैयाँ नै भएको छ। नेपाल बैंकर्स संघका अनुसार ऋण प्रवाह र निक्षेप यो साता बराबर भएको हो। 

चैतको दोस्रो सातासम्म पनि तरलता संकट सुधारोन्मुख हुन सकेको छैन। साउनयता नै तरलता संकट जारी रहेको छ। फागुनमा केही बढेको निक्षेप चैतमा बढ्ने अपेक्षा गरिएको थियो। तर दोस्रो सातासम्म पनि निक्षेपमा खासै सुधार आएको छैन। जसको असर सेयर बजारमा लगातार देखिएको छ।

चुनाव नजिकिँदै गए पनि बैकिङ तरलताको समाधान नहुनु तथा सरकारले गर्ने पुँजीगत खर्च कम हुनुलगायत कारणको असर सेयर बजारमा देखिँदै आएको छ। रेमिट्यान्स घट्दै जानुका साथै महँगी बढ्दा लगानी गर्ने रकम नै अन्यत्र जान थालेको छ। जसका कारण पनि सेयर बजार सकारात्मक हुन नसकेको विश्लेषण भइरहेको छ। 

कुन बिन्दुबाट होला बाउन्सब्याक?

लगानीकर्ताहरू अहिले आत्तिएको कारण भने बजार २५ सयमा पुनः फर्किएकोले हो। लामो समयसम्म २५ सयको माथिल्लो बिन्दुमा पुगेको नेप्से सूचक तलमाथि भएको थिएन। 

बैंकमा देखिएको तरलताको संकट नै लगानीकर्ताका लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको थियो। चुनावी माहोलले रकम रुपान्तरण हुने चर्चा पनि उत्तिकै चलेको थियो। करिब १० दिन लगानीकर्ताहरू २६ सयकै बिन्दुबाट टेको लगाउन सकिरहेका थिए। 

bounce back.jpg

तर यो साताको सुरुदेखि नै बजारमा बिक्रेताको चाप धेरै देखिन्थ्यो जसले गर्दा प्यानिक सेलिङ मात्र नभएर, खरिददारहरू पनि उत्तिकै सक्रिय देखिएका छन्।  

विश्लेषकहरूले आवश्यकताभन्दा बढी छिटो समयमै बजार ३२ सयसम्मको हाइब्रेक बनाउन पुग्नुले नै अहिलेको अवस्था आउनु भएको बताइरहेका छन्।  यतिबेला नेप्से २८ सयसम्मको अवस्थामा रहेको भएर बजार विस्तारै मुभ हुन सक्ने अनुमान समेत गरिएको छ। बजार अझै २५ सय बिन्दुबाट तल ओर्लिएर मात्रै टेको लाग्ने देखिन्छ। 


प्रकाशित : मंगलबार, चैत १५ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend