शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नेपालमा भारतीय पर्यटक आगमनमा रेकर्ड, एक महिनामा ४० हजार ७ सय ८२ भारतीय पर्यटक आए

मंगलबार, जेठ १९ २०८३
नेपालमा भारतीय पर्यटक आगमनमा रेकर्ड, एक महिनामा ४० हजार ७ सय ८२ भारतीय पर्यटक आए

यसअघि भारतीय पर्यटक आगमनको उच्च रेकर्ड सन् २०२४ को मे महिनामा ३८ हजार १ सय ९८ रहेको थियो।

काठमाडौं- सन् २०२६ को मे महिनामा नेपालमा हवाई मार्गबाट भित्रिएका भारतीय पर्यटकको संख्या अहिलेसम्मकै उच्चस्तरमा पुगेको छ। मे महिनामा ४० हजार ७ सय ८२ जना भारतीय पर्यटक नेपाल आएका छन्, जुन एक महिनाका लागि अहिलेसम्मकै बढी संख्या हो।

नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा नेपालमा कुल १ लाख २ हजार ६ सय २६ जना विदेशी पर्यटक भित्रिएका छन्। तीमध्ये झन्डै ४० प्रतिशत हिस्सा भारतीय पर्यटकको रहेको छ। स्थलमार्गबाट हुने आगमन जोड्दा भारतबाट नेपाल आउने पर्यटकको वास्तविक संख्या अझ ठूलो हुने अनुमान गरिएको छ।

यसअघि भारतीय पर्यटक आगमनको उच्च रेकर्ड सन् २०२४ को मे महिनामा ३८ हजार १ सय ९८ रहेको थियो। त्यसपछि सन् २०२५ को अगष्टमा ३५ हजार ५ सय ५ र सोही वर्षको मे महिनामा २८ हजार १ सय ६० भारतीय पर्यटक नेपाल आएका थिए। तर सन् २०२६ को मे महिनाको आगमनले ती सबै रेकर्ड तोडेको छ।

भारतीय विद्यालयहरूको गर्मी बिदा (मे मध्यदेखि जुन मध्यसम्म) यस अवधिमा पारिवारिक यात्रा बढ्ने प्रमुख कारण हो। साथै नेपालनजिकको र सहज गन्तव्य भएकाले भारतीय पर्यटकका लागि आकर्षक स्थान बनेको छ।

पछिल्ला महिनामा पश्चिम एसियामा देखिएको तनाव र त्यसको असर विश्व पर्यटनमा परे पनि नेपालमा पर्यटक आगमन अपेक्षाकृत स्थिर र सकारात्मक देखिएको छ। तथ्यांकअनुसार गत अप्रिल महिनामा पनि १ लाख ७ हजार ९ सय ३४ विदेशी पर्यटक नेपाल आएका थिए।

मे महिनामा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन १९ प्रतिशतले वृद्धि भएको छ। सन् २०२५ को मे महिनामा ८६ हजार २ सय १६ जना विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, कोरोना महामारीपूर्व सन् २०१९ को तुलनामा यो वर्षको आगमन ३१ प्रतिशतले बढी रहेको छ। सन् २०१९ को मे महिनामा ७८ हजार ३ सय २९ पर्यटक नेपाल आएका थिए।

देशगत आधारमा हेर्दा मे महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। त्यसपछि क्रमशः चीनबाट ११ हजार ५ सय १४ जना, अमेरिका बाट ९ हजार १ जना, बंगलादेश बाट ५ हजार २ सय ९८ जना र बेलायत बाट ३ हजार ३ सय ७५ जना पर्यटक नेपाल आएका छन्।

नेपालको पर्यटन आगमनमा भारत सधैं प्रमुख स्रोत बजार रहँदै आएको छ भने पछिल्ला वर्षहरूमा अन्य मुलुकबाट आउने पर्यटकको हिस्सा पनि विस्तार हुँदै गएको देखिन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई अनावश्यक विदेशी खर्च घटाउन आग्रह गरेको सन्दर्भसँगै नेपालतर्फको पर्यटक प्रवाह पनि अझै मजबुत बनेको तथ्यांकले देखाएको छ।

समग्रमा सन् २०२६ को मे महिनाले नेपालको पर्यटन क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै पुनः पर्यटन आगमन बलियो बन्दै गएको संकेत दिएको छ।


प्रकाशित : मंगलबार, जेठ १९ २०८३१७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend