शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

उत्तर-दक्षिण कोशी राजमार्ग : खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत काम सकियो

जोगवनी-किमाथांका खण्डले उत्तरी क्षेत्रको नाका जोडियो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १९ २०८३
उत्तर-दक्षिण कोशी राजमार्ग : खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत काम सकियो

म्याद थप गरिएपनि शिवशक्तिले काम नगरेपछि आयोजना कार्यालयले स्पष्टीकरण सोधी धरौटी रकमसमेत जफत गरेको थियो। उक्त कम्पनीले हालसम्म तीन पटक म्याद थप गरिसकेको छ।

सङ्खुवासभा- नेपाल, भारत र चीन जोड्ने राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडकखण्डमा कामले तीव्रता पाएको छ। सदरमुकाम खाँदबारीबाट नुमसम्मको ३९ किलोमिटर सडकले गति लिएको हो।

खाँदबारीबाट नुमसम्मको ३९ किमी सडकको ७५ प्रतिशत भौतिक प्रगति र ८० दशमलव ७१ प्रतिशत वित्तिय प्रगति भइसकेको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालयका प्रमुख रामबहादर गुरुङले जानकारी दिए। उनका अनुसार सडक कालोपत्रका लागि हालसम्म एक अर्ब २५ करोड ८० लाख पाँच हजार खर्च भइसकेको छ।

पहिलो चरणअन्तर्गत १४ किमी सडक कालोपत्र थालिएकामा ९७ प्रतिशत भौतिक प्रगति भएको सडक कार्यालयले जनाएको छ।

दोस्रो चरणको १२ किमी सडकको ८४ प्रतिशत काम सम्पन्न भएको छ भने तेस्रो चरणमा हालसम्म ६२ प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनी शर्मा/शिवशक्ति जेभिका प्रमुख इञ्जिनियर वैभव पाण्डेले बताए। उनका अनुसार एक अर्ब ५५ करोड ८६ लाख ७७ हजार ९७५ मा तीन वटै चरणको ठेक्का लिइएको हो।

जेभिले २०८० पुस १७ मा सम्पन्न गर्नेगरी २०७८ असार १७ गते आयोजना सम्झौता गरेको थियो। उक्त समयसम्म सन्तोषजनक प्रगति नभएपछि २०८० असार १४ गतेसम्मका लागि पहिलो पटक म्याद थपिएको थियो।

म्याद थप गरिएपनि शिवशक्तिले काम नगरेपछि आयोजना कार्यालयले स्पष्टीकरण सोधी धरौटी रकमसमेत जफत गरेको थियो। उक्त कम्पनीले हालसम्म तीन पटक म्याद थप गरिसकेको छ।

जोगवनी-किमाथांका खण्डले उत्तरी क्षेत्रको नाका जोडियो

सदरमुकाम खाँदबारीबाट नुमसम्मको ३९ किमी सडक तीव्र गतिमा कालोपत्र भइरहेको छ। कोशी राजमार्गअन्तर्गत मोरङको जोगवनीबाट चीनको सीमासम्म किमाथांका जोड्ने ३५७ किलोमिटर सडकको ट्रयाक खोल्न काम सम्पन्न भएको छ।

चीन सीमासँग जोडिएको किमाथांका क्षेत्रमा सडक पुगेपछि पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा सीमावर्ती क्षेत्रको विकासमा नयाँ सम्भावना देखिएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए। दशकौँदेखि दुर्गम हिमाली बस्तीमा सीमित रहेको किमाथांका अब राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष जोडिएसँगै गाउँमा विकास आइपुगेको उनको भनाइ छ।

कोशी प्रदेशको आर्थिक समृद्धिमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वाससहित यस सडकलाई उत्तर–दक्षिण रणनीतिक महत्वको मार्गका रूपमा हेरिएको अध्यक्ष भोटेले बताए।

अध्यक्ष भोटेका अनुसार गत वैशाख २८ गते सेनाले उक्त सडकअन्तर्गत १० दशमलव ८१ किमी आयोजना कार्यालयलाई हस्तान्तरण गरिसकेको छ।

सडक हस्तान्तरण भएसँगै यही जेठ १ गते खाद्यान्न बोकेका तीन वटा ट्याक्टर पहिलो पटक किमाथांका नाकामा पुगेका हुन्। भोटखोलाको च्याम्ताङबाट घोङ्घोप्पाको कडा चट्टान भएको भीर छिचोलिएपछि जिल्ला सदरमुकाम खाादबारीबाट हिँडेको सवारी पहिलो पटक किमाथांकामा पुगेका उहाँले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, जेठ १९ २०८३११:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend