काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको जेठ १८ गते सम्पन्न २८औँ वार्षिक साधारण सभाले हालको चुक्ता पुँजीको ५० प्रतिशत बराबर हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ रहेको छ। सोही चुक्ता पुँजीको आधारमा बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ। प्रस्तावित हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी २२ अर्ब ३७ करोड ६३ लाख ४९ हजार रुपैयाँ पुग्नेछ।
साधारण सभाले बैंकको जारी पुँजी २७ अर्ब ३७ करोड ६३ लाख ५० हजार रुपैयाँ कायम गर्ने प्रस्तावसमेत पारित गरेको छ। आर्थिक वर्ष २०७९/८० यता लाभांश वितरण नगरेको बैंकले पुँजी आधार सुदृढ बनाउन हकप्रद सेयरमार्फत पुँजी वृद्धि गर्ने योजना अघि बढाएको हो। बैंकले आर्थिक वर्ष २०७९/८० मा भने ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण गरेको थियो।
यसैगरी, साधारण सभाले बैंकको सञ्चालक समितिका लागि ६ जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ। संस्थापक समूहबाट अशोककुमार अग्रवाल, रामचन्द्र संघई र जयन्तकुमार अग्रवाल तथा सर्वसाधारण समूहबाट आदित्यकुमार अग्रवाल, केशवप्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्विरोध निर्वाचित भएका हुन्।
नवनिर्वाचित सञ्चालकहरूको कार्यकाल आगामी चार वर्ष रहने बैंकले जनाएको छ। हकप्रद सेयर निष्कासनसम्बन्धी प्रक्रिया भने नियामकीय स्वीकृतिपछि अगाडि बढाइनेछ।