शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

हिमालय एयरलाइन्सले काठमाडौं-सेन्जेन सिधा उडान सुरु गर्दै

मंगलबार, जेठ १९ २०८३
हिमालय एयरलाइन्सले काठमाडौं-सेन्जेन सिधा उडान सुरु गर्दै

काठमाडौं-  नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौंलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ। 

कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौं–सेन्जेन–काठमाडौं सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो। नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तरराष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ। कम्पनीका अनुसार काठमाडौंबाट सेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ।

हिमालय एयरलाइन्सले यो सेवा नेपाल–चीन हवाई सम्पर्क विस्तारको दिशामा महत्वपूर्ण कदम भएको जनाउँदै यात्रुको मागका आधारमा भविष्यमा उडान सङ्ख्या थप्ने योजना पनि बनाएको उल्लेख गरेको छ। कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तरराष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताए। उनले काठमाडौं–सेन्जेन–काठमाडौं  उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै पर्यटन, व्यापार तथा लगानीका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
 
'हिमालय एयरलाइन्सले चीनका विभिन्न सहरसँग नेपाललाई जोड्ने प्रयास निरन्तर गर्दै आएको छ। शेन्जेन उडानले नेपाल र चीनबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेछ', उपाध्यक्ष श्रेष्ठले भने।
 
चीनको ‘सिलिकन भ्याली’ का रूपमा परिचित शेन्जेन विश्वका प्रमुख प्रविधि, उत्पादन तथा नवप्रवर्तन केन्द्रमध्ये एक मानिन्छ। नयाँ हवाई सेवाले व्यापारिक यात्रु, पर्यटक, विद्यार्थी तथा लगानीकर्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। हिमालय एयरलाइन्सले यात्रुलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। कम्पनीले नयाँ उडान सञ्चालनसँगै नेपाल र चीनबीच पर्यटन प्रवद्र्धन, व्यापार विस्तार तथा जनस्तरको सम्बन्ध सुदृढ हुने अपेक्षा गरेको छ। रासस


प्रकाशित : मंगलबार, जेठ १९ २०८३०६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend