काठमाडौं- केही दिनदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। उडान प्रभावित भएसँगै तोकिएको समयमा उडान हुन सकेको छैन। विमानस्थल पुगेका यात्रु सयममा आफ्नो गन्तव्यसम्म पुग्न सकेका छैनन्। समयमा उड्न नपाएपछि यात्रुहरूले एयरलाइन्स कम्पनी तथा विमानस्थलका कर्मचारीहरूसँग गुनासो गरिरहेका छन्।
यात्रुको आक्रोशमिश्रित गुनासो सम्बोधन गर्न एयरलाइन्स कम्पनीहरूले पनि तोकिएकै सयममा जहाज उडान हुने नसकेको भन्दै आफ्नो तर्फबाट सूचना आदान प्रदान गरिरहेका छन्।
के जहाज डिले हुनुमा एयरलाइन्स कम्पनी र विमानस्थल कर्मचारीको मात्रै दोष छ त? जहाज डिले कस्तो कस्तो अवस्थामा हुन्छ? यस विषय हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलका टावर प्रमुख सिताराम भण्डारीलाई प्रश्न गरेका थियौँ?
जहाज डिले हुने कारणमध्ये सबैभन्दा पहिलो र प्रमुख कारण मौसम रहेको भण्डारी बताउँछन्। उदाहरणका लागि चैत १६ गते बिहानदेखि उडानका लागि अघिल्लो दिन नै उडान तालिका स्वीकृत गरिएको हुन्छ। सोहीअनुसार विमानस्थल कार्यालयले काम गरिरहेको हुन्छ। तर मौसममा खराबी आएपछि तोकिएअनुसारको उडान तथा अवतरण हुन सक्दैन। यो नै जहाज डिलेको प्रमुख कारण रहेको भण्डारी बताउँछन्।
अर्को त, समयमै विमानस्थलमा यात्रु नपुग्ने र चालक दलको सदस्यहरू पनि समयमै विमानस्थल नपुग्दा पनि जहाज डिलेको समस्या आउने भण्डारी बताउँछन्।
रात्रीकालीन उडान हुने विमानस्थलहरूमा पनि एयरलाइन्स कम्पनीहरूले दिउँसोकै समयमा उडान गर्न खोज्ने कारण पनि उडानमा प्रभाव परेको उनको भनाइ छ।
विमानस्थलले क्षमताभन्दा बढी उडान तथा अवतरण नगर्ने भएपनि जहिले पनि सफा मौसमकै परिकल्पना गरेर उडान तथा अवतरण तालिका तय गर्ने र मौसममा खराबी आउनेवित्तिकै जहाज डिलेको समस्या आउने उनको भनाइ छ।
विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले पनि मौसमसँगै क्षमताभन्दा बढी उडान तथा अवतरणको चाप रहँदा जहाज डिलेको समस्या आइरहेको बताए। बेसअनुसार उडान तथा अवतरण गराउन नसक्दा पनि समस्या आएको उनको भनाइ छ।
जहाज उडान तथा अवतरणमा डिले हुनुमा कसैलाई पनि दोष दिएर आफूहरू पन्छिन नहुने उनको भनाइ छ। सबैले मिलेर नै समस्या सामाधान गर्नुपर्ने ठाकुरको भनाइ छ। केही दिनदेखि मौसममा देखिएको समस्याका कारण पनि अहिले जहाज उडान तथा अवतरणमा डिले हुने समस्या आएको ठाकुरको भनाइ छ।
विमानस्थलको ट्राफिक जाम कम गर्नकै लागि विमानस्थलको क्षमतासमेत घोषणा गर्ने तयारी भएको उनको भनाइ छ। यो घोषणा भएपछि पनि समस्या धेरै हदसम्म निराकरण हुने उनको भनाइ छ। उडान तथा अवतरणको डिमाण्डसमेत बढ्दा जहाज डिलेको समस्या आएको ठाकुर बताउँछन्।
बढ्दो जहाज डिलेको समस्या निराकरणकै लागि कार्यालयले विमानस्थलको उडान तथा अवतरण क्षमता घोषणा गर्ने ठाकुरले बताए। कोभिडका कारण केही कम भएको उडान तथा अवतरण अहिले बढेको र क्षमताभन्दा बढी उडान तथा अवतरण गर्नुपर्ने अवस्था आएको भन्दै उडान तथा अवतरण क्षमता घोषणा गर्न लागिएको हो।
दैनिक १८ घण्टामा विमानस्थलबाट हुने उडान तथा अवतरणको संख्या घोषणा गर्ने तयारी भएको विमानस्थल कार्यालयका प्रमुख ठाकुरले बताए। १८ घण्टामा २ सय वटा उडान तथा अवतरण क्षमता भएपनि अहिले ३ सय देखि ४ सय वटासम्म उडान तथा अवतरण गर्नुपर्ने बाध्यता आएको र जसका कारण विमानस्थलमा एयर ट्राफिक जाम बढेको भन्दै यस्तो घोषणाको तयारी भएको उनको भनाइ छ।
‘१८ घण्टामा २ सय देखि ३ सय वटा उडान तथा अवतरण मात्रै ह्यान्डलिङ गर्न सक्छौँ। तर अहिले ४ सय वटाको भार बोकिरहेका छौँ,’ उनले भने ‘हामीले क्षमता भन्दा बढी ह्यान्डलिङ गरिरहेका छौँ। तर गाली पनि खान परेको छ। जसका कारण अब विमानस्थल कार्यालयले आफ्नो क्षमता घोषणा गर्नेछ।’ जसबाट धेरै उडान कटौती हुने उनको भनाइ छ।
विश्वका हरेक विमानस्थलले आफ्नो क्षमता घोषणा गरेका हुन्छन् र सोहीअनुसार उडान तथा अवतरण हुने गर्दछ।
‘अहिले पर्यटकीय सिजन पनि सुरु भएको छ। मुभमेन्ट पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा बढेको छ। साथै मौसमले पनि साथ दिएको छैन। अब यो हिसाबले विमानस्थल सञ्चालन हुँदैन। आफ्नो क्षमता घोषणा गरेर हामी अगाडि बढ्ने हो,’ उनले भने।
नेपालको जलवायु निकै परिवर्तनशील छ। काठमाडौंबाट उत्तरतर्फ १५ मिनेटको उडानमा माइनस तापक्रम हुन्छ भने १५ मिनेट दक्षिणको उडानमा निकै गर्मी। मौसम र भिजिविलिटी प्रतिकुल हुँदा उडानहरू प्रभावित हुने बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण बताउँछन्। उनका अनुसार अत्यधिक एयर ट्राफिकका कारण पनिस जहाज डिलेको समस्या आउने गरेको छ।
'बिहान विमानस्थल केहीबेर मात्रै ढिला खुल्दा क्रमशः सबै उडानहरू प्रभावित र डिले हुन जान्छन्। कम भिजिविलिटी हुँदा उडानहरू आईएफआरमा सञ्चालन हुन्छन्। भीएफआरमा छिटो हुने र आईएफआरमा उडान केही समयको अन्तरालमा हुँदा प्रभावित हुन जान्छन्,' उनले भने, 'बुद्ध एयरले उडानसम्बन्धी सूचनाहरू एसएमएस, मोबाइल एप्स तथा सामाजिक सञ्जालमार्फत निरन्तर प्रवाह गर्ने गरेको छ। हामीले यात्रुहरूलाई टिकट लिँदा व्यक्तिगत मोबाइल नम्बर इन्ट्री गर्न अनुरोध पनि गरेका छौँ। यसले उडानसम्बन्धी सूचना तत्कालै प्रवाह गर्न सजिलो हुन्छ।'
जहाज डिले हुनुमा आवश्यकता अनुसार पूर्वाधार विकास हुन नसक्नु पनि कारण बनेको उनको भनाइ छ।
बुद्ध एयरले जस्तै यती एयरले पनि यात्रुको सहजताका लागि आफ्नाे एपबाट सूचना जानकारी गराउँदै आएको छ। यती एयरका प्रवक्ता सुदर्शन बर्तौलाले माैसमसँगै बेस उडान कार्यान्वयनमा ल्याउन नसक्दा पनि ट्राफिक जाम बढ्दा जहाज डिलेको समस्या बढेकाे बताए।