काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यम वर्गलाई आर्थिक नीतिको केन्द्रमा राखिएको उल्लेख गर्दै न्यून आय भएका वर्गलाई क्रमशः मध्यम आय समूहमा रूपान्तरण गर्ने लक्ष्य बजेटले बोकेको बताएका छन्।
'हामीले मध्यम वर्गीय विस्तार भनेर जनतामा जाँदा नै यो थिमलाई बोकेर गएको हो। यसमा शिक्षा, स्वास्थ्य, वित्तीय पहुँच, एकीकृत सामाजिक सुरक्षालाई एउटा एकीकृत विन्डोबाट नै हेरौँ। अब निम्न आय भएका मानिसहरूलाई पनि मध्यम वर्गमा उकास्ने हो' उनले भने, 'यसलाई फराकिलो बनाउनुपर्छ। किनकि लोकतन्त्र टिकाउन पनि र विकासका परम्परागत मानकहरूलाई न्याय गर्न पनि मध्यम वर्ग सुरक्षित महसुस गर्नुपर्छ,आयका हिसाबले र गैरआयका मानकहरूका हिसाबले पनि।'
उनले विगतदेखि उठ्दै आएको बजेट कार्यान्वयनसम्बन्धी आलोचना यसपटक दोहोरिन नदिनेगरी सरकार अघि बढेकोसमेत बताएका छन्।
बजेटपछिको पत्रकार सम्मेलनमा उनले भने 'बजेट कार्यान्वयनमा प्रश्न उठाउनेहरू यसपटक फेल खाने छन्।'
बजेटलाई केवल घोषणामा सीमित नराखी परिणाममुखी कार्यान्वयनमा लैजाने व्यवस्था गरिएको उनको भनाइ छ। उनले बजेटलाई ‘वाचापत्र’को रूपमा कार्यान्वयन गर्ने अवधारणा अपनाइएको उल्लेख गर्दै प्रशासनिक संयन्त्रलाई नतिजामुखी बनाइने दाबी गरे।
त्यसैगरी उनले सुशासनलाई बजेटको प्रमुख प्राथमिकताका रूपमा राखिएको र सार्वजनिक खर्चमा पारदर्शिता तथा जवाफदेहिता बढाइने बताए।