मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको नाफा बढ्यो, कुन कम्पनीको वित्तीय अवस्था कस्तो?

बुधबार, जेठ ६ २०८३
उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको नाफा बढ्यो, कुन कम्पनीको वित्तीय अवस्था कस्तो?

नेपालमा सन्चालनमा रहेका उत्पादन तथा प्रशोधन क्षेत्रका नेप्सेमा सुचिकृत भएर दोस्रो बजारमा कोरोबार गरेका १५ कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।

काठमाडौं- नेपालमा सञ्चालनमा रहेका उत्पादन तथा प्रशोधन क्षेत्रका नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कोरोबार गरेका १५ कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

देशमा व्याप्त आर्थिक मन्दी, विकास निर्माण कार्यमा देखिएको शिथिलता र विश्वव्यापी भू-राजनीतिक तनावका कारण सिर्जित इन्धन तथा कच्चा पदार्थको मूल्य वृद्धिका बाबजुद केही कम्पनीको नाफामा सुधार देखिएको छ। केही कम्पनीहरू नोक्सानीमै रहेका छन्।

profit.PNG
कम्पनीहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार

बोटलर्स नेपाल (बालाजु)

पेय पदार्थ उत्पादक कम्पनी कोका-कोलाको आधिकारिक बोटलर, बोटलर्स नेपाल लिमिटेड (बालाजु)ले चालु आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिना सम्ममा २१ करोड ९९ लाख ४९ हजार रुपैयाँ  खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा मात्र १ करोड ५९ लाख ७९ हजार रुपैयाँ सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानीमा पनि वृद्धि भएको छ। गत वर्षको ९ महिनामा ७ अर्ब ७ करोड ४४ लाख रुपैयाँ रहेको संचालन आम्दानी यस वर्ष बढेर ७ अर्ब ६५ करोड ४१ लाख रुपैयाँ पुगेको छ। 

वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १ सय रुपैयाँ कायम भएको छ। जुन गत वर्षको सोही अवधिमा ४ रुपैयाँ थियो।कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार २ सय ९७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५७ गुणा छ। 

बोटलर्स नेपाल (तराई) 

कोका-कोलाको तराई क्षेत्रको आधिकारिक बोटलिङ कम्पनी बोटलर्स नेपाल ९ महिनामा २७ करोड ७० लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ८ करोड ७ लाख ५५ हजार रुपैयाँ मात्र सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानीमा पनि राम्रो वृद्धि भएको छ। गत वर्षको ९ महिनामा ४ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ रहेको संचालन आम्दानी यस वर्ष बढेर ५ अर्ब ५५ करोड ८० लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ। गत वर्ष ९ महिनाको अवधिमा मात्र ६७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष बढेर २ सय २९ रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी ३सय ५ रुपैयाँ कायम भएको छ। चैत मसान्तसम्ममा प्रतिसेयर नेटवर्थ ३ हजार १सय ३८ रुपैयाँ छ।

युनिलिभर नेपाल

नेपालको प्रतिष्ठित उत्पादन कम्पनी युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमास सम्मको ४५ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही त्रैमासमा कम्पनीको खुद नाफा ४८ करोड २२ लाख रुपैयाँ रहेको थियो। 

गत वर्षको तुलनामा यो त्रैमासिक नाफामा करिब ६ प्रतिशतको सामान्य गिरावट आएको छ। कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ८७ करोड २७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यो आम्दानी १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ थियो। आम्दानीमा ५ प्रतिशतको त्रैमासिक संकुचन देखिएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ सय ९५ रुपैयाँ कायम भएको छ। 

यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार १सय १७ रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ४हजार ५सय ९३ रुपैयाँ थियो। चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २५८८ गुणा रहेको छ। 

हिमालयन डिष्टिलरी

मदिरा उत्पादक कम्पनी हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास सम्म ८५ करोड १३ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ७३ करोड ९२ लाख ४१ हजार रुपैयाँ रहेको थियो। गत वर्षको तुलनामा कम्पनीको खुद नाफा १५.१६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल बिक्री आम्दानी ५ अर्ब ७१ करोड ९१ लाख ७८ हजार रुपैयाँ पुगेको छ। कम्पनीको खुद बिक्री आम्दानी ३ अर्ब ९ करोड १४ लाख २० हजार रुपैयाँ कायम भएको छ। 

गत वर्षको ९ महिनामा खुद बिक्री आम्दानी २ अर्ब ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ मात्र थियो। नाफामा आएको सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ। गत वर्षको चैत मसान्तमा २६ रुपैयाँ ७३ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्ष बढेर ३०रुपैयाँ ७८ रुपैयाँ पुगेको छ।

विवरणअनुसार कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६८ करोड ८० लाख ८२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब १७ करोड २७ लाख ९१ हजार रुपैयाँ सञ्चित छ। 

चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ३१ रुपैयाँ ८० पैसा रहेको छ भने  मूल्य आम्दानी अनुपात ३७.९५ गुणा छ। तरलता अनुपात ५.०९ गुणा कायम भएको छ। 

सागर डिष्टिलरी लिमिटेड

नेपालको मदिरा उत्पादन क्षेत्रमा अर्को कम्पनी सागर डिष्टिलरी लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमास सम्मको खुद नाफा ऋणात्मक रहेको छ। कम्पनी समीक्षा अवधिमा ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ ऋणात्मक रहेको छ। 

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा ७७ लाख ३० हजार रुपैयाँ मात्र रहेको थियो। वित्तीय विवरण अनुसार समीक्षा त्रैमासमा सागर डिष्टिलरीको कुल व्यवसायिक आम्दानी २२ प्रतिशतको वृद्धि देखिएको छ। गत वर्षको सोही अवधिमा १५ करोड ८८ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष बढेर १९ करोड ४० लाख ५२ हजार रुपैयाँ पुगेको छ। 

आम्दानीमध्ये अन्तःशुल्क बापत १० करोड ९३ लाख २१ हजार रुपैयाँ भुक्तानी गरेपछि कम्पनीको खुद बिक्री आम्दानी ८ करोड ४७ लाख ३१ हजार रुपैयाँ कायम भएको छ।

घाटाका कारण कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४९ पैसा ऋणात्मक रहेको छ। जुन गत वर्षको सोही अवधिमा १ रुपैयाँ ७७ ऋणात्मक रुपैयाँ थियो।

कम्पनीको कुल चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ। यस्तै समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १सय २७ रुपैयाँ ८ पैसा रहेको छ। चालु अनुपात १.७१ गुणा र कुल सम्पत्तिमा प्रतिफल २.३९ प्रतिशत ऋणात्मक रहेको छ। 

शिवम् सिमेन्ट्स

सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास सम्ममा ६१ करोड ९२ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४० करोड ५ लाख ४७ हजार रुपैयाँमात्र सीमित थियो। गत वर्षको तुलनामा कम्पनीको नाफा ५४.५९ प्रतिशतले बढेको हो। उत्पादन लागत घटेकाले नाफामा सुधार आएको देखिन्छ।

गत वर्षको ९ महिनामा ५ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष केही घटेर ४ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ कायम भएको छ।

नाफामा आएको सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ पैसा रुपैयाँ कायम भएको छ। यस्तै कम्पनीको कुल चुक्ता पुँजी ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष मा ३ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ सञ्चित छ। विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ८५ रुपैयाँ ३१ पैसा र तरलता अनुपात १.७० गुणा रहेको छ। 

सर्वोत्तम सिमेन्ट

नेपालको पहिलो बुक बिल्डिङ विधिबाट सेयर जारी गरेको सिमेन्ट उत्पादक कम्पनी सर्वोत्तम सिमेन्ट लिमिटेडले यो आर्थिक वर्षको ९ महिनाको अवधिमा ५०.२० प्रतिशत नाफा बढाएको छ। यो अवधिमा कम्पनीले ९० करोड ५८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६० करोड ३० लाख ३६ हजार रुपैयाँ थियो।

नाफामा आएको सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ १२ पैसा कायम भएको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब २४ करोड २७ लाख ५० हजार रुपैयाँ रहेको छ। त्यस्तै प्रतिसेयर नेटवर्थ १ सय ५५ रुपैयाँ ७६ पैसा र तरलता अनुपात १।१० गुणा रहेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७ अर्ब ७९ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड

नेपालको प्रिमियम सिमेन्ट घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १५ करोड ८६ लाख ६८ हजार रुपैयाँ घाटामा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको घाटा ५५ करोड ४३ लाख ६४ हजार रुपैयाँ रहेको थियो। 

गत वर्षको तुलनामा यस वर्ष कम्पनीले घाटामा ७१.३८ प्रतिशतले कमी ल्याउँदै वित्तीय अवस्थामा सुधारको संकेत देखाएको छ। कम्पनीले उत्पादन लागत लाई गत वर्षको २ अर्ब ८१ करोड रुपैयाँबाट घटाएर यस वर्ष २ अर्ब ६२ करोड रुपैयाँमा सीमित राखेकाले घाटा घटाउन मद्दत पुगेको देखिन्छ।

समीक्षा वर्षमा कम्पनीको उत्पादन बिक्रीबाट हुने सञ्चालन आम्दानीमा सामान्य वृद्धि भएको छ। गत वर्ष ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष बढेर ३ अर्ब ५५ करोड ११ लाख १६ हजार रुपैयाँ पुगेको छ।

घाटामा कमी आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी मा पनि सुधार आएको छ। गत वर्ष १२‍.१४ रुपैयाँ ऋणात्मक रहेको प्रतिसेयर आम्दानी यस वर्ष सुधारिएर ३.१६ रुपैयाँ ऋणात्मक कायम भएको छ।

विवरणअनुसार कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ४४ लाख ५४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७९ करोड ३२ लाख ९० हजार रुपैयाँ सञ्चित छ। यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ६८ रुपैयाँ ६९ पैसा रहेको छ। 

पाल्पा सिमेन्ट इन्डस्ट्रीज

तान्सेन सिमेन्ट ब्रान्डको उत्पादक पाल्पा सिमेन्ट इन्डस्ट्रीज लिमिटेडले चालु आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमाससम्ममा अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको ९ महिनाको अवधिमा पाल्पा सिमेन्टले ५ करोड ७३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ३८ करोड ८२ लाख ५ हजार रुपैयाँ रहेको छ भने वित्तीय लागत ३१ करोड २८ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेपछि खुद नाफा सुरक्षित भएको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ४० करोड ३९ लाख ४५ हजार रुपैयाँ पुगेको छ। कुल आम्दानीमध्ये वस्तु उत्पादन लागत २ अर्ब ८२ करोड ४२ लाख ४३ हजार रुपैयाँ रहेको छ भने कम्पनीको कुल नाफा ५७ करोड ९७ लाख २ हजार रुपैयाँ कायम भएको छ। वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ४५ पैसा कायम भएको छ।

वित्तीय विवरण अनुसार कम्पनीको पूँजीगत संरचना निकै मजबुत देखिन्छ। कम्पनीको कुल चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषसहितको अन्य इक्विटी १ अर्ब १० करोड ९२ लाख ४० हजार रुपैयाँ रहेको छ। यससँगै कम्पनीको कुल इक्विटी ४ अर्ब ८५ करोड ९२ लाख ४० हजार रुपैयाँ कायम भएको छ। 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय २९ रुपैयाँ ५८ रुपैयाँ र तरलता अनुपात २.२९ गुणा रहेको छ।

रिलायन्स स्पिनिङ मिल्स

नेपालको ठूलो र निर्यातमुखी कपडा उद्योग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म २६ करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको कुल कम्पनीको खुद नाफा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ रहेको थियो। गत वर्षको तुलनामा भने यो वर्ष नाफामा केही संकुचन आएको छ।

समीक्षा अवधिमा उत्पादन बिक्रीबाट हुने सञ्चालन आम्दानी ७ अर्ब ४६ करोड ४ लाख ६० हजार रुपैयाँ पुगेको छ। यो आम्दानी पुस मसान्तसम्म ४ अर्ब ७९ करोड २ लाख ९१ हजार रुपैयाँ मात्र थियो। उत्पादित वस्तुको लागत ६ अर्ब ५१ करोड ११ लाख रुपैयाँ रहेको छ भने कम्पनीको कुल नाफा ९४ करोड ८६ लाख २४ हजार रुपैयाँ कायम भएको छ।

कम्पनीको नाफा स्थिति सन्तुलित रहँदा वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ४२ रुपैयाँ कायम भएको छ। कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषसहितको अन्य इक्विटी ७ अर्ब ५५ करोड ६ लाख ६१ हजार रुपैयाँ पुगेको छ। 

यससँगै कम्पनीको कुल इक्विटी ९ अर्ब ४५ करोड ६ लाख रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ४ सय ९७ रुपैयाँ ३७ पैसा, तरलता अनुपात २ गुणा रहेको छ। 

श्रीनगर एग्रिटेक इन्डस्ट्रीज

नेपालको कृषि तथा दाना उत्पादन क्षेत्रको प्रतिष्ठित कम्पनी श्रीनगर एग्रिटेक इन्डस्ट्रीज लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म २ करोड ५५ लाख ६५ हजार रुपैयाँ एकीकृत खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा १ करोड २८ लाख ४० हजार रुपैयाँमात्र सीमित थियो। गत वर्षको तुलनामा यो नाफा ९९.१० प्रतिशतको उच्च र सकारात्मक वृद्धि हो।

समीक्षा अवधिमा कम्पनीको व्यवसायिक कारोबारमा सुधार आएको छ। गत वर्ष ९ महिनाको अवधिमा ९५ करोड ६६ लाख ९२ हजार रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी यस वर्ष ७० प्रतिशतले बढेर १ अर्ब ६२ करोड ६३ लाख ४९ हजार रुपैयाँ पुगेको छ। 

नाफामा आएको सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ११ पैसाबाट बढेर १.६९ रुपैयाँ कायम भएको छ।

विवरणअनुसार कम्पनीको वित्तीय अवस्था सुदृढ देखिन्छ। कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब ६३ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ करोड ४९ लाख १२ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्ष १० करोड रुपैयाँले ऋणात्मक थियो। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ९रुपैयाँ ४९ पैसा, चालु अनुपात ३.०४ गुणा र कुल सम्पत्तिमा प्रतिफल १.०३ प्रतिशत रहेको छ।

EPS.PNG
कम्पनीहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार

एसवाई प्यानल नेपाल

नेपालमा प्रिफ्याब र इन्सुलेसन प्यानल उत्पादनमा अग्रणी स्थान बनाएको एसवाई प्यानल नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मा ३ करोड २ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३ करोड ६६ लाख ६८ हजार रुपैयाँ रहेको थियो। गत वर्षको तुलनामा यो वर्ष खरिद लागत र सञ्चालन खर्चमा केही चाप परेकाले खुद नाफामा सामान्य संकुचन देखिएको छ।

कम्पनीको सञ्चालन आम्दानीमा भने वृद्धि भएको छ। गत वर्षको ९ महिनामा ५१ करोड ७० लाख ३४ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष बढेर ५३ करोड ८१ लाख ६ हजार रुपैयाँ पुगेको छ। प्रिफ्याब प्रविधिको बढ्दो लोकप्रियता र बजारीकरण रणनीतिले आम्दानी बढाउन मद्दत गरेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ  ७५ पैसा कायम भएको छ।

वित्तीय अवस्था अनुसार कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष मा ११ करोड ६८ लाख ९६ हजार रुपैयाँ सञ्चित छ। यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १०.४९ रुपैयाँ, कुल सम्पत्तिमा प्रतिफल  २.३५ प्रतिशत र मूल्य आम्दानी अनुपात ४९१.४४ गुणा रहेको छ। 

ओम मेघाश्री फर्मास्युटिकल्स

नेपाली औषधि उत्पादन क्षेत्रको कम्पनी ओम मेघाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ओम मेघाश्री फर्मास्युटिकल्स ४ करोड ९ लाख ६९ हजार रुपैयाँ खुद घाटामा रहेको छ। यसअघिको दोस्रो त्रैमाससम्म कम्पनीको खुद घाटा ३ करोड ८४ लाख ३६ हजार रुपैयाँ रहेको थियो। दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा आइपुग्दा कम्पनीको खुद नोक्सानीमा केही वृद्धि भएको देखिन्छ।

समीक्षा अवधि सम्ममा कम्पनीले उत्पादन बिक्री तथा सञ्चालनबाट १३ करोड ९१ लाख ३० हजार रुपैयाँ गरेको छ। जुन पुस मसान्तसम्मको आम्दानी १० करोड ४८ लाख ३२ हजार रुपैयाँ को तुलनामा वृद्धि हो।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको कुल आम्दानी १४ करोड २ लाख २९ हजार रुपैयाँ पुगेको छ भने वस्तु उत्पादन लागत ९५ करोड २९ लाख २३ हजार रुपैयाँमा सीमित छ। घाटाका कारण कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८३ ऋणात्मक छ।  

वित्तीय विवरण अनुसार कम्पनीको कुल चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ। जगेडा कोष भने ७७ लाख ३७ हजार रुपैयाँले ऋणात्मक छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ५० पैसा रहेको छ।

net worth per share.PNG
कम्पनीहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार २२ करोड ६१ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ७ करोड ५९ लाख ३६ हजार रुपैयाँ खुद घाटामा रहेको थियो। गत वर्षको तुलनामा यो वित्तीय नतिजामा निकै ठूलो र सकारात्मक फड्को हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ गुणाभन्दा बढीले बढेको छ। गत आर्थिक वर्षको ९ महिनामा मात्र ९१ करोड ५८ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष बढेर ३ अर्ब ४ करोड १७ लाख ८१ हजार रुपैयाँ पुगेको छ। 

गत वर्ष घाटामा रहेका कारण २ रुपैयाँ ४७ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष सुधारिएर सकारात्मक ७रुपैयाँ ३५ पैसा  रुपैयाँ कायम भएको छ।

विवरणअनुसार कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ३३ करोड ६४ लाख १२ हजार रुपैयाँ सञ्चित छ। यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ९७ रुपैयाँ २२ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४७१.४५ रुपैयाँ र तरलता अनुपात १.९७ गुणा रहेको छ। सेयर बजारमा समीक्षा अवधिमा कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिसेयर ४ सय ५७ रुपैयाँ कायम भएको छ।

share capital.PNG
कम्पनीहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार

ल्युब आयल लिमिटेडले

नेपालमा विभिन्न ब्रान्डका लुब्रिकेन्ट उत्पादक तथा गल्फ लुब्रिकेन्ट्सको आधिकारिक उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ५ करोड १२ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३ करोड २४ लाख १२ हजार रुपैयाँमा सीमित थियो। गत वर्षको तुलनामा यो नाफामा ५८.१९ प्रतिशतको उच्च वृद्धि हो। 

नाफामा आएको सुधारको मुख्य कारण कम्पनीको सञ्चालन आम्दानीमा भएको वृद्धि हो। गत आर्थिक वर्षको ९ महिनामा ८९ करोड ५३ लाख ६१ हजार रुपैयाँ रहेको कम्पनीको कुल सञ्चालन आम्दानी यस वर्ष २९ प्रतिशतले बढेर १ अर्ब १५ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ। 

नाफासँगै नेपाल ल्युब आयलको प्रतिसेयर आम्दानीमा पनि बढेको छ। गत वर्षको चैत मसान्तसम्ममा ५९ रुपैयाँ ३१ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो वर्ष १८ रुपैयाँ ८८ पैसाले बढेर ७८ रुपैयाँ १९ पैसा कायम भएको छ। 

कम्पनीको चुक्ता पुँजी १८ करोड १५ लाख ८५ हजार रुपैयाँ हुँदा प्रतिसेयर नेटवर्थ २ सय ६९ रुपैयाँ ४० पैसा कायम भएको छ।


प्रकाशित : बुधबार, जेठ ६ २०८३०७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend