शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नारायणघाट-बुटवल सडकखण्डको ९१ प्रतिशत काम सम्पन्न, जेठ १५ सम्म मुख्य कामहरु सकिने

शनिबार, जेठ २ २०८३
नारायणघाट-बुटवल सडकखण्डको ९१ प्रतिशत काम सम्पन्न, जेठ १५ सम्म मुख्य कामहरु सकिने

महानिर्देशक डा जैसीले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको बताए। उनकाअनुसार हाल फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन्।

काठमाडौं- लामो समयदेखि निर्माण अलपत्र परेको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट-बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ। 

आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा विजय जैसीले जानकारी दिए। नागढुंगा-नौबिसे तथा नारायणघाट-बुटवल सडक खण्डको स्थलगत अनुगमन गर्दै उनले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।

महानिर्देशक डा जैसीले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको बताए। उनकाअनुसार हाल फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन्।

उनले भने, ‘नारायणघाट बुटवल सडक लामो समयदेखि समस्याग्रस्त थियो। अहिले निर्माणको यो हामी अन्तिम चरणमा आइपुगेका छौं। भौतिक प्रगति ९१ प्रतिशत भएको जानकारी प्राप्त भएको छ, मुख्यमुख्य कामहरु सबै सकिएका छन्, फिनिसिङ्, ट्राफिक सेफ्टीका कामहरु, सर्भिस लेन लगायतका केही काम बाँकी रहेको छ।’

महानिर्देशक जैसीले अब दाउन्ने क्षेत्रमा विगतका वर्षामाझैँ यातायात अवरुद्ध हुने समस्या झेल्नु नपर्ने बताए। दाउन्नेमा हाल एकतर्फी दुई लेनको रिपेभमेण्ट सम्पन्न भइसकेको र तेस्रो लेन निर्माण कार्य तिब्र गतिमा अघि बढिरहेको बताए।

जेठ १५ गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखिएको उनले जानकारी दिए। नारायणघाट-बुटवल सडकखण्डको निर्माणमा ढिलाई हुँदा यात्रुहरुले सास्ती खेप्दै आएका थिए। 

उनले भने, ‘विगतको वर्षकोहरुको जस्तो वर्षामा समस्या हुँदैन। हामीले धेरैजस्सो कामहरु गरिसकेका छौँ। एकतर्फको दुई लेनको काम सकिएको छ, तेस्रो लेनको काम भइरहेको छ। जेठ १५ सम्म मुख्य कामहरु सकिन्छ। धेरै पछि अब नेपाली जनताले दाउन्नेको कहर सहन पर्दैन।’ 

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको नेतृत्वको प्रतिनिधिमण्डलले शनिवार नाघढुंगा नौबिसे र नारायणघाट सडकखण्डको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा निर्माण व्यवसायीहरुले बिटुमिनको अभाव रहेको गुनासो गरेका थिए। उनीहरुले विटुमिन आयातको लागी सहजीकरण गरिदिन सरकारसँग माग गरे। प्रतिनिधिमण्डलले नागढुंगा सुरुङमार्गको पनि स्थलगत अनुगमन गरेको थियो।


प्रकाशित : शनिबार, जेठ २ २०८३१४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend