शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सीईओ पाण्डेलाई पक्राउ नगरी अनुसन्धान गर्न बैंकर्स संघको आग्रह

बिहीबार , वैशाख ३१ २०८३
सीईओ पाण्डेलाई पक्राउ नगरी अनुसन्धान गर्न बैंकर्स संघको आग्रह

नेपाल बैंकर्स संघ ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काठमाडौं- नेपाल बैंकर्स संघ ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंक बाट जारी नीति-निर्देशनको अधीनमा रही सञ्चालन भइरहेको उल्लेख गरेको छ। बैंकहरूले सर्वसाधारणबाट निक्षेप संकलन गरी आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासमा योगदान पुर्‍याउँदै आएको संघको भनाइ छ।

विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा ५७ ले बैंक तथा वित्तीय संस्थालाई कर्जा असुली नभएको अवस्थामा विशेष अधिकार दिएको उल्लेख गर्दै कर्जा असुली प्रक्रिया बैंकको प्राथमिक जिम्मेवारी र प्रमुख कार्यकारी अधिकृतको मूल दायित्वभित्र पर्ने स्पष्ट पारिएको छ।

संघले सर्वसाधारणको विश्वासमा आधारित बैंकजस्तो संस्थाले कर्जा असुली गरेको कारण मात्रै प्रमुख कार्यकारी अधिकृत पक्राउ पर्नु बैंकको साख र स्थायित्वकै लागि चुनौतीपूर्ण हुने जनाएको छ।

‘बैंकको साख तथा प्रमुख कार्यकारी अधिकृतजस्तो पदको गरिमालाई समेत मध्यनजर गर्दै 'सुन अनि थुन' को सिद्धान्तअनुसार आवश्यक अनुसन्धान गर्नुपर्ने भए ज्योति प्रकाश पाण्डेलाई यथाशीघ्र थुनामुक्त राखी अनुसन्धान प्रक्रिया अघि बढाइयोस्,’ विज्ञप्तिमा भनिएको छ।

संघले सम्बन्धित निकायलाई निष्पक्ष अनुसन्धानका क्रममा बैंकिङ प्रणालीको विश्वसनीयता, संस्थागत स्थायित्व तथा कानुनी प्रक्रियाबीच सन्तुलन कायम गर्न आग्रह गरेको छ।


प्रकाशित : बिहीबार , वैशाख ३१ २०८३१३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend