शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

'प्रधानमन्त्रीको अनुपस्थितिले राज्य व्यवस्था समिति अनिर्णयको बन्दी बन्यो'

मंगलबार, वैशाख २९ २०८३
'प्रधानमन्त्रीको अनुपस्थितिले राज्य व्यवस्था समिति अनिर्णयको बन्दी बन्यो'

एउटा महत्वपूर्ण मन्त्रालयमा मन्त्रीसमेत नियुक्त गर्न नसक्ने सरकारले जनताका गम्भीर समस्या र जिम्मेवारीलाई कसरी सम्बोधन गर्छ भन्दै उनले सरकारको आलोचना गरेका छन्।

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका कारण राज्य व्यवस्था तथा सुशासन समितिको कामकारबाही ठप्प भएको आरोप लगाएको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गृह मन्त्रालय सम्हाल्ने मन्त्रीसमेत रहेका प्रधानमन्त्रीको अनुपस्थितिका कारण समितिको बैठक बस्न नसकेको बताएका हुन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुलुकमा विकसित पछिल्ला दर्दनाक घटनाहरूका विषयमा संसदमा प्रश्न उठाउनुपर्ने अवस्था रहे पनि सम्बन्धित मन्त्रीको अभावमा समिति अनिर्णयको बन्दी बनेको आङदेम्बेले उल्लेख गरे।

समितिका सभापतिले बैठकका लागि पटक-पटक आग्रह गरे पनि सम्बन्धित मन्त्रालयको नेतृत्व नहुँदा आफूहरू सहभागी हुन नसकेको उनको प्रष्टीकरण छ।

सत्तापक्षलाई जस्तो आफूहरूलाई सुविधा नरहेको उल्लेख गर्दै उनले जनताका आवाज र समस्याका बारेमा सम्बन्धित मन्त्रीबाटै जवाफ खोज्नुपर्ने बाध्यता रहेको बताए।

प्रधानमन्त्रीको कार्यव्यस्तता र अनुपस्थितिले समितिको बैठकमा अवरोध सिर्जना भएको भन्दै उनले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाए। एउटा महत्वपूर्ण मन्त्रालयमा मन्त्रीसमेत नियुक्त गर्न नसक्ने सरकारले जनताका गम्भीर समस्या र जिम्मेवारीलाई कसरी सम्बोधन गर्छ भन्दै उनले सरकारको आलोचना गरेका छन्।

उनले भने, ‘मुलुकमा घटेका विभिन्न घटनाका सम्बन्धमा हामीले समितिमा प्रश्न उठाउनुपर्नेछ, तर जवाफ दिने मन्त्री नै हुनुहुन्न। यदि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै छ भने उहाँ आफैँ समितिमा उपस्थित हुनुपर्‍यो, अन्यथा तत्काल गृहमन्त्री नियुक्त गरिनुपर्छ।’

सांसदहरूले राखेको चासोमा जनताको अभिव्यक्ति लुकेको हुने चर्चा गर्दै नेता आङदेम्बेले समितिलाई बन्धक नबनाइ तत्काल निकास दिन सरकार र सत्तारुढ दलको ध्यानाकर्षण गराएका छन्।


प्रकाशित : मंगलबार, वैशाख २९ २०८३१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend