शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

तरकारीखेतीबाट आत्मनिर्भर बन्दै तुलसीपुरका थारु महिला

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २९ २०८३
तरकारीखेतीबाट आत्मनिर्भर बन्दै तुलसीपुरका थारु महिला

विसं २०५८ देखि यो पेसा अपनाएको बताउँदै स्यानीले १५ वर्षदेखि व्यावसायिक रूपमा खेती सुरु गरेको जनाइन्। उनले हाल १० कट्ठा जमिनमा स्थानीय जातको बेमौसमी धनियाँखेती गरेकी छिन् भने १० कट्ठा जमिनमा तरकारीखेती गरेकी छिन्।

दाङ- तुलसीपुर उपमहानगरपालिका-१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन्।

अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन्। यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन्।

तुलसीपुर-१५ की ४४ वर्षीया स्यानी चौधरीले व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेको लामो समय बितिसकेको छ। उनले तरकारीखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई एक सफल महिला कृषकका रूपमा चिनाएकी छिन्।

उनले मौसमी र बेमौसमी तरकारीसहित धनियाँ बिक्री गरेर वार्षिक रु चार लाखसम्म आम्दानी भइरहेको जानकारी दिइन्। आफूले उत्पादन गरेको धनियाँ र तरकारी बिक्री गर्न एकाबिहानै छिटुवा बोकेर तुलसीपुर बजारका घरघर पुग्छिन्।

यसपटक मौसमी धनियाँ बिक्रीबाट मात्र दुई लाख ५० हजार रुपैयाँ आम्दानी भएको स्यानीले बताइन्। उनले भनिन्, 'अहिले बेमौसमी तरकारीखेती र धनियाँखेती गरेकी छु। उत्पादन मनग्य छ, दिनहुँजसो बजारमा बिक्री गरिरहेकी छु।'

विसं २०५८ देखि यो पेसा अपनाएको बताउँदै स्यानीले १५ वर्षदेखि व्यावसायिक रूपमा खेती सुरु गरेको जनाइन्। उनले हाल १० कट्ठा जमिनमा स्थानीय जातको बेमौसमी धनियाँखेती गरेकी छिन् भने १० कट्ठा जमिनमा तरकारीखेती गरेकी छिन्।

एक वर्षमा दुईपटक मौसमी र बेमौसमी तरकारीखेती गर्दै आएको बताउने उनले धनियाँ प्रतिमुठा २० रुपैयाँमा बिक्री गर्दै आएको जानकारी दिइन्। उनका अनुसार बोडी, भिन्डी, करेला प्रतिकिलो एकसय २० रुपैयाँसम्ममा बिक्री हुन्छ।

तरकारी बेचेर भएको आम्दानीबाट स्यानीले गाउँमा १७ कट्ठा चार धुर जमिन जोडेको बताइन्। हाल १० कट्ठामा धनियाँखेती र बाँकी जमिनमा बेमौसमी तरकारीखेती गर्दै आएको उनले उल्लेख गरिन्।

तुलसीपुर उपमहानगरपालिकाले तरकारी बिक्रीका लागि बनाइदिएको तरकारी केन्द्र बजारबाट टाढा रहेकाले त्यहाँ उपभोक्ता नजाँदा सडकमै बसेर बिक्री गर्नुपर्ने बाध्यता रहेको स्यानीले बताइन्।

तुलसीपुर-१५ की ५५ वर्षीया रेखा चौधरी पनि व्यावसायिक रूपमा तरकारीखेती गरेर आत्मनिर्भर बनेकी छिन्। उनले १५ कट्ठा जमिनमा टमाटर, काँक्रा, सिमी, भिन्डी, बोडीलगायत बेमौसमी तरकारीखेती गरिरहेको बताइन्। उत्पादन गरेको तरकारी बिक्री गर्न दैनिकजसो बिहानै आफू तुलसीपुर बजारमा आउने गरेको उनले जानकारी दिइन्।

तुलसीपुर-१५ की ४० वर्षीया राजपति चौधरीले तरकारीखेतीमा रमाउँदै वार्षिक तीन लाख ५० हजारसम्म आम्दानी गरिरहेकी छिन्। उनले १४ कट्ठा जमिनमा व्यावसायिक रूपमा मौसमी र बेमौसमी तरकारीखेती गरेर आत्मनिर्भर बनेकी छिन्। तरकारीखेतीबाटै भएको आम्दानीले दुई छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको उनले बताइन्।

यी तीन महिला मात्रै होइन अकमी, धम्कापुर, मटेरा, मेटेरी, गोलौरी, पड्डालगायत गाउँका ५ सयभन्दा बढी थारु महिला तरकारीखेतीमार्फत आत्मनिर्भर बन्दै आएका छन्। तरकारीखेतीबाटै आत्मनिर्भर बन्दै गएका उनीहरूमध्ये अधिकांशले दिनहुँ तुलसीपुरस्थित सीतलपुर चोकका सडक छेउमा बिहानैदेखि बसेर तरकारी बिक्री गर्दै आएका छन्। 

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले अकमी, धम्मकापुर, तथा आसपास क्षेत्रमा रहेका छ वटाभन्दा बढी गाउँका सयौँ थारु महिला तरकारीखेतीमार्फत आत्मनिर्भर बन्दै गएका बताइन्। उनले उपनगरपालिकाभित्र तरकारीखेती गर्ने सबै कृषकद्वारा उत्पादित तरकारीको उचित मूल्य प्राप्त गर्न, बजारीकरणका लागि आफूहरू गम्भीर रहेको बताइन्। रासस


प्रकाशित : मंगलबार, वैशाख २९ २०८३०९:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend