शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

शुक्रबार, वैशाख २५ २०८३
सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले शाखा नहर निर्माणकार्यलाई प्राथमिकता दिएको छ। आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत अहिले डुडुवा शाखा नहरको निर्माणकार्य द्रुतगतिमा भइरहेको छ।

राँझा (बाँके)- राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले शाखा नहर निर्माणकार्यलाई प्राथमिकता दिएको छ। आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत अहिले डुडुवा शाखा नहरको निर्माणकार्य द्रुतगतिमा भइरहेको छ। यो नहरबाट १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर (सीडीइ) मनोजकुमार साहले बताए।

उनका अनुसार २३.४ किलोमिटर लामो सो डुडुवा नहरबाट करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। उक्त नहरअन्तर्गत खजुरा र मानपुर दुई मुख्य शाखा रहनेछन्।

विगतमा ठेक्का विवादका कारण लामो समयसम्म नहर निर्माणको काम रोकिएको थियो भने पुरानो ठेक्का रद्द गरेर नयाँ कम्पनीमार्फत ठेक्का दिई निर्माणलाई तीव्र पारिएको छ। हालसम्म नहरको निर्माणकार्य २५ प्रतिशत प्रगति भएको छ।

नेपालगन्ज-सुर्खेत सडकखण्डअन्तर्गत पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर क्षेत्रमा टनेलमार्फत डुडुवा नहर निर्माण गरिनेछ भने बाँकी भाग खुला संरचनामा बन्नेछ। रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले एक अर्ब १२ करोड रुपैयाँ को लागतमा यो नहर निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने जिम्मा पाएको छ। नहर सम्पन्न भएपछि डुडुवा, खजुरा, नेपालगन्ज र जानकी क्षेत्रका किसानले वर्षैभरि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको आयोजनाका सूचना अधिकारी साहले बताए।

सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (१८ हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर २३ किलोमिटर लामो डडुवा शाखा नहर र उपशाखा नहर निर्माण गरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ। यो नहर बनेपछि बाँकेको नेपालगन्ज, जानकी, खजुरा र डडुवा गाउँपालिकाका करिब १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिँचाइ सुविधा विस्तार हुने साहको भनाइ छ।

सिक्टाको मूल नहरबाट डुडुवा शाखा नहरको मुहानसम्म नियमित रूपमा पानी सञ्चालन भइरहेका कारण अब डुडुवा नहर निर्माण पूरा भए सुक्खा र खडेरीको मारमा परेका किसानलाई राहत मिल्ने सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता सङ्घका अध्यक्ष शालिकराम डाँगीको विश्वास छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २५ २०८३०९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend