शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २२ २०८३
म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

एक किलोमिटर ७०० मिटर सडक स्तरोन्नति गर्ने आगामी असार ३० गतेसम्म ठेक्काको म्याद रहेको योजना निर्माण कम्पनीले लक्ष्यभन्दा दुई महिनाअघि नै सम्पन्न गरेको हो।

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको छ। स्थानीय पूर्वाधार आयोजना पोखराले पात्लेखेतको गहतेचोकदेखि राम्जाली मन्दिर खण्डमा ढलान गरेर सडकलाई पक्की बनाएको हो।

विसं २०६६ मा मार्ग खुलेको सडक १६ वर्षपछि पक्की भएको हो। पक्की सडक बनेपछि स्थानीयवासी उत्साही भएका छन्। आवतजावत सहज भएको वाखेतका बासिन्दा अर्जुन पुनले बताए। 

'साँघुुरो र कच्ची सडकमा यात्रा गर्न असहज भएको थियो', उनले भने, 'सडक ढलान भएपछि यात्राअवधि छोटिनुका साथै सहज भएको छ।' यसअघि २० मिनेट लाग्ने यात्राअवधि पाँच मिनेटमा छोटिएको उनले बताए।

वाखेत-टोड्के सडक स्तरोन्नति योजना निर्माणका लागि गत माघ १० गते दुप्चेश्वर शुभम् बिल्डर्सले दुई करोड ३६ लाख २३ हजार १५२ मा ठेक्का सम्झौता गरेको थियो।

एक किलोमिटर ७०० मिटर सडक स्तरोन्नति गर्ने आगामी असार ३० गतेसम्म ठेक्काको म्याद रहेको योजना निर्माण कम्पनीले लक्ष्यभन्दा दुई महिनाअघि नै सम्पन्न गरेको हो।

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्रीको व्यवस्थापन गरेर इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद लक्ष्यअघिनै काम सम्पन्न गरेको बताए। निर्माण सकिए पनि प्राविधिक नापजाँच र भुक्तानीको काम बाँकी रहेको उनले बताए।

तीन दशमलब पाँचदेखि चार मिटर फराकिलो सडकमा ढलान गरेर पक्की बनाइएको छ। सडक स्तरोन्नति भएपछि स्थानीयबासीका साथै टोड्के आवछजावात गर्ने पर्यटकलाई सहज भएको बेनी नगरपालिका-१० का वडासदस्य बेगम पाइजाले बताए।

राम्जाली चोकदेखि बराहथान हुँदै टोड्के जोड्ने बाँकी खण्डको सडक स्तरोन्नतिका लागि योजनाको निरन्तरता दिन वाखेतवासीले माग गरेका छन्। रासस


प्रकाशित : मंगलबार, वैशाख २२ २०८३१६:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend