काठमाडौं- सरकारले नेपालमै सवारीसाधन एसेम्बल गर्दा आयात हुने अनएसेम्बल्ड सवारी आयातमा कर सहुलियत दिँदै आएको छ। स्वदेशमै रोजगारी सृजना हुने, व्यवसायीहरू औद्योगीकरणतर्फ लाग्ने र नागरिकले केही सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउने उद्देश्यले सरकारले त्यस्तो सहुलियत दिने व्यवस्था गरेको हो।
एउटा कम्पनीले भने चीनबाट मोटरसाइकल आयात गर्दा सीकेडी सुविधामा आयात गरेको तर नेपालमा एसेम्बल उद्योग नै स्थापना नगरेको पाइएको हो।
चीनबाट मोटरसाइकल आयात गरिरहेको क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नेपालमा उद्योग दर्ता नै नगरी एसेम्बल प्रयोगजनका लागि अनएसेम्बल्ड मोटरसाइकल आयात गरेर कर छुट लिएको पाइएको छ।
सवारी एसेम्बल गर्न उद्योग विभागमा उद्योग दर्ता अनिवार्य सर्त हो। उद्योग विभागमा दर्ता गरेर सबै प्रक्रिया पूरा गरेपछि मात्र अनएसेम्बल्ड सवारी अर्थात सीकेडी सुविधा पाइने व्यवस्था छ।
एसेम्बल उद्योगका लागि आयात गरिने सीकेडीमा तयारी मोटरसाइकलको तुलनामा अन्तःशुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था आर्थिक ऐनमार्फत गरिएको छ। तर क्लासिक ह्वील्सले एसेम्बल उद्योग नै दर्ता नगरी उक्त छुटमा मोटरसाइकल जाँचपास गराएको पाइएको हो।त्यसरी छुट सुविधा दुरुपयोग गर्दै क्लासिक ह्वील्सले ८१ लाख ६ हजार २ सय ८१ रुपैयाँ करछली गरेको हो।
एक दर्जनभन्दा बढी ब्रान्डले नेपालमै सवारी एसेम्बल उद्योग स्थापना गरेर एसेम्बल गर्दै आएका छन्। बजाजदेखि यामाहा हँदै रोयल इनफिल्डसम्मले ठूलै लगानीमा एसेम्बल उद्योग स्थापना गरेर मोटरसाइकल तथा स्कुरट उत्पादन गर्दै आएका छन्। तर क्लासिक ह्वील्सले भने एसेम्बल उद्योग दर्ता नगरी एसेम्बल उद्योगले पाउने सुविधामा चीनबाट मोटरसाइकल आयात गरेर करछली गरिरहेको छ।
आर्थिक ऐन २०८२ को दफा ४ मा नेपालबाट निकासी हुने तथा नेपालमा पैठारी हुने वस्तुमा भन्सार महसुल ऐन, २०८१ बमोजिम महशुल लगाउनु पर्ने, दफा ३ मा पैठारी भएका मालवस्तु वा पदार्थ वा सेवामा अन्तःशुल्क ऐन, २०५८ बमोजिम अन्तःशुल्क असुल गर्नुपर्ने र दफा २ मा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम मूल्य अभिवृद्धि कर लगाई असुल गर्नुपर्ने उल्लेख छ।
त्यस्तै भन्सार महसुल ऐन, २०८१ को दफा ३ मा निकासी वा पैठारी हुने प्रत्येक वस्तुमा यस ऐन बमोजिम भन्सार महसुल लाग्ने प्रावधान रहेको छ। त्यस्तै औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २ मा उद्योग भन्नाले दफा १७ मा उल्लिखित उद्योगलाई बुझिने र दफा १७(२) मा उत्पादन हुने वस्तु तथा सेवाको प्रकृतिको आधारमा खण्ड (ख) मा उत्पादनमूलक उद्योग भन्नाले कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्धप्रशोधित कच्चा पदार्थको प्रयोग गरी मालवस्तु उत्पादन गर्ने उद्योग सम्झनुपर्ने उल्लेख रहेको छ।
‘पैठारीकर्ता क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले पेस गरेको कागजातका आधारमा पैठारीकर्ता उत्पादनमूलक उद्योगको रुपमा दर्ता भएको देखिँदैन। तर सो कम्पनीले अनएसेम्बल मोटरसाइकल पैठारी गरेकोमा १६६ रुल कोड प्रयोग गरी एसेम्बल गरी सवारी साधन उत्पादन गर्ने उधोगले अनएसम्बल अवस्थाका सवारी साधन पैठारी गर्दा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत छुट लिएको छ,’ स्रोतले भन्यो।
तयारी मोटरसाइकललाई निर्माता कम्पनीबाट पूर्णरूपमा खोली उद्योग नै दर्ता नगरी आफूखुसी नेपालमा फिटिङ गरेर क्लासिक ह्वील्सले मोटरसाइकल बिक्री गरिरहेको पाइएको हो।
कच्चा पदार्थ वा अर्ध प्रशोधित कच्चा पदार्थको प्रशोधन गरी सोभन्दा फरक रासायनिक गुण र विशेषता भएको मालवस्तु उत्पादन गर्नुपर्नेमा जडान गर्न बाँकी मालवस्तुलाई सीकेडी अवस्थामा सबै पाटपूर्जासहित जडान गरेको अवस्थामा समेत सो सुविधामा जाँचपास गरेको देखिएको हो। यसरी उद्योगको सामान्य विशेषता र शर्तसमेत पालना नगरी क्लासिक ह्वील्सले अन्तःशुल्क सुविधा लिएको हो।
क्लासिक ह्वील्सले एसेम्बल गर्ने उद्योग पुष्टि हुने औद्योगिक व्यवसाय ऐन २०७६ को दफा २ बमोजिम उद्योग विभाग वा सम्बन्धित निकायमा दर्ता र नवीकरण प्रमाणपत्र तथा यातायात कार्यालयको अनुमतीसमेत लिएर अध्यावधिक नगरेकाले अनएसेम्बल्स नभइ सीबीयूसरह महसुल तिर्नुपर्ने सरकारी निष्कर्ष रहेको छ।