काठमाडौं- नेपाल वायुसेवा निगमका लागि आक्रामक बजार विस्तारमा सहज हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिएको छ।
सार्वजनिक खरिद ऐन २०६३ लाई अध्यादेशमार्फत संशोधन गर्दै ऐनबमोजिम खरिद प्रक्रिया अपाउन नपर्ने सूचीमा विस्तार गरेर निगमले गर्ने खरिदमा सहजता हुने व्यवस्था गरिएको छ।
पुरानो व्यवस्थाअनुसार विमान सेवा सञ्चालन गर्न स्वीकृतिप्राप्त सार्वजनिक निकायले एभिएसन वा विमानसँग सम्बन्धित उपकरण खरिद गर्नु परेमा मात्रै सार्वजनिक खरिद ऐन अपनाउन नपर्ने सूचीमा राखिएको थियो। तर अध्यादेशमार्फत संशोधन गरिएको व्यवस्थामा विमान सेवा सञ्चालन गर्न स्वीकृत प्राप्त सार्वजनिक निकायले विमान, एभिएसन वा विमानसँग सम्बन्धित उपकरण खरिद गर्नुपरेमा वा भाडामा लिनु परेमा सार्वजनिक खरिद ऐन अपनाउन नपर्ने व्यवस्था गरिएको छ।
योसँगै निगमले अब जहाज खरिद तथा इन्जिन भाडा र उपकरण खरिदमा सार्वजनिक खरिद ऐन अपनाउन नपर्ने भएको छ।