शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सगरमाथा आरोहणमा परेन पश्चिम एसियाको तनावको असर, पहिलोपटक १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन

शनिबार, वैशाख १९ २०८३
सगरमाथा आरोहणमा परेन पश्चिम एसियाको तनावको असर, पहिलोपटक १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन

पर्यटन विभागका अनुसार हालसम्ममा सगरमाथा आरोहण अनुमति जारीबापत १ अर्ब १ करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन हालसम्मकै उच्च हो। विभागका अनुसार सन् २०२६ को मार्च १ देखि अप्रिल ३० (वैशाख १७)सम्म ४७ दलका ४६४ पर्वतारोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्।

काठमाडौं- पश्चिम एसियामा जारी भू-राजनीतिक तनावका बीच पनि नेपालमा सगरमाथा आरोहणप्रतिको आकर्षणमा कमी नआएको देखिएको छ। उल्टै, आरोही संख्या र सलामी दस्तुर (रोयल्टी) वृद्धि भएसँगै यस वर्षको वसन्त सिजनमा पहिलोपटक १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ।

पर्यटन विभागका अनुसार हालसम्ममा सगरमाथा आरोहण अनुमति जारीबापत १ अर्ब १ करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन हालसम्मकै उच्च हो। विभागका अनुसार सन् २०२६ को मार्च १ देखि अप्रिल ३० (वैशाख १७)सम्म ४७ दलका ४६४ पर्वतारोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्।

अघिल्लो वर्ष सन् २०२५ को वसन्त सिजनमा भने ३२ दलका ३३१ आरोहीले अनुमति लिँदा ४९ करोड ३३ लाख ७० हजार रुपैयाँ मात्र राजस्व संकलन भएको थियो। यसरी एक वर्षमै रोयल्टी आम्दानी झण्डै दोब्बरले बढेको देखिएको छ।

everest climbe .jpg

तस्बिर सौजन्यः सेभेन समिट ट्रेक्स

पश्चिम एसियामा अमेरिका-इरान तनावका कारण अन्तर्राष्ट्रिय उडान र पर्यटक आवागमनमा असर पर्ने अनुमान गरिए पनि सगरमाथा आरोहणमा त्यसको प्रभाव देखिएन। होटल र ट्रेकिङ क्षेत्रमा केही प्रभाव परे पनि उच्च हिमाल आरोहणमा भने माग स्थिर मात्रै नभई वृद्धि भएको छ।

सरकारले सलामी दस्तुर बढाएपछि पनि आरोहीको उत्साह घटेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लागू गरेको पर्वतारोहणसम्बन्धी (छैटौं संशोधन) नियमावली, २०८१ अनुसार वसन्त सिजनमा सगरमाथा आरोहणका लागि प्रतिपर्वतारोही १५ हजार अमेरिकी डलर शुल्क तोकिएको छ, जुन यसअघि ११ हजार डलर थियो।

यस वर्ष सगरमाथासहित ६ हजार मिटरभन्दा माथिका २९ वटा हिमाल आरोहणका लागि अनुमति दिइएको छ। हालसम्म १२५ दलका १०५० आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्, जसबाट कुल १ अर्ब १६ करोड ९१ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन भइसकेको छ।

सगरमाथापछि ल्होत्से हिमालमा सबैभन्दा धेरै आकर्षण देखिएको छ, जहाँ ९ टोलीका १११ आरोहीले अनुमति लिएका छन्। त्यसैगरी आमादब्लम हिमाल, मकालु हिमाल, अन्नपूर्ण प्रथम र धवलागिरि हिमालमा पनि उल्लेख्य संख्यामा आरोही पुगेका छन्।

विभागका अनुसार ७८ देशका पर्वतारोहीहरूले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्। अघिल्लो वर्षको सोही सिजनमा भने सगरमाथासहित २२ वटा हिमालमा अनुमति दिइएको थियो, जसबाट ५६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो।

 


प्रकाशित : शनिबार, वैशाख १९ २०८३०७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend