काठमाडौं- जब फोर्ड मोटर कम्पनीले सन् १९९० को मध्यमा भारतमा पहिलो फ्याक्ट्री स्थापना गर्याे, त्यतिबेला उसले चीनको जस्तैगरि बजार विस्तार हुने अपेक्षा राखेको थियो।
भारतले १९९१ मा अर्थतन्त्रको उदारीकरणलाई स्वीकार गरेको थियो। त्यो नीति अख्तियार गरेसँगै भारत सरकारले सबैखाले लगानीलाई स्वागत गरिरहेको थियो। उदारीकरणको विस्तारसँगै आम मानिसको खर्च गर्ने क्षमता बढ्दै गयो।
यो समयसम्म भारतमा निजी कारको खपत ज्यादै न्यून थियो। त्यसमा पनि विदेशी कार उत्पादकहरूको बजार हिस्सा पुग नपुग १० प्रतिशत थियो।
गत साता फोर्ड मोटरले दुई अर्ब अमेरिकी डलर सञ्चित नोक्सानी पुगेको भन्दै भारतमा कार उत्पादन बन्द गर्ने निर्णय गर्याे। केही वर्षअघि फोर्डको अमेरिकी प्रतिस्पर्धी जनरल मोटर्ससमेत भारतमा कार उत्पादन बन्द गरेर फिर्ता भएको थियो। त्यस्तै अमेरिकाको आइकोनिक ब्रान्ड हार्ले डेभिडसन मोटरसाइकल पनि भारतबाट फिर्ता भएको हो।
अन्य विदेशी ब्रान्ड जापानी कार उत्पादक निसान मोटर तथा विश्वकै ठूलो कार उत्पादक जर्मन कम्पनी फक्सवागनको भारतमा उपस्थिति कमजोर हुँदै गएको छ। २०२० मा यी कम्पनीको बजार हिस्सा १ प्रतिशतमै सीमित भएको थियो।
फक्सवागनले अमेरिका तथा चीनमा वार्षिक ५० लाख भन्दा बढी कार बिक्री गर्दै आएकाे छ। अघिल्लो दशक भारतमा फक्सवागनको बजार हिस्सा करिब १२ प्रतिशत थियो।
फोर्डले भारत प्रवेश गर्दा जुन सपना देखेको थियो त्यो सपना २०२१ मा आइपुग्दा ‘खरानी’मा परिणत भएको छ। भारतबाट मात्र होइन फोर्डले ब्राजिलबाट समेत फिर्ता हुने निर्णय गएको जनवरीमा लिएको थियो।
फोर्डले दुवै देशबाट बाहिरिनुको कारण इलेक्ट्रिक सवारीमा रुपान्तरित हुने समयलाई मानेको छ। भारतको आन्तरिक बजारलाई विदेशी, विशेष गरि अमेरिकी कार उत्पादकले न्यायपूर्ण विश्लेषण गर्न नसकेको विज्ञहरूको भनाइ छ।
भारतीय कार उत्पादकहरूले त्यहाँको मर्मलाई जसरी सम्बोधन गरे अमेरिकी कार उत्पादकहरूले उक्त अवस्थाको सही विश्लेषण गर्न नसकेको द इकोनामिक टाइम्सले लेखेको छ।
साना कारमा कर न्यून हुँदा पश्चिमा कार उत्पादनकहरूले जापानी कार उत्पादक सुजुकीसँग प्रतिस्पर्धा गर्न कठिन भएको मानिन्छ। कार बिक्रीका हिसाबले मारुती सुजुकी इन्डियामा आज पनि ५० प्रतिशत हाराहारी बजार हिस्सा भएको कम्पनी हो।
कार उत्पादकका लागि भारत उर्भर भूमि रहेको र त्यहाँका मानिसहको खरिद क्षमता बढ्दै गइरहेको यथार्थ सबैले बुझेकै थिए। तर सरकारले त्यही अनुरुपको वातावरण र पूर्वाधार उपलब्ध गराउन नसक्दा अहिलेको अवस्था आएको जाटो डाइनामिन्सका अध्यक्ष रवि भाटियाले बताएका छन्।
सुरुवाती पाइलै ‘गलत’
सन् १९९० को मध्यतिर जतिबेला फोर्ड भारत प्रवेश गर्याे। त्यो समय जुन सवारी सार्वजनिक गरेको थियो त्यो पाइला नै गलत भएको धेरैको बुझाइ छ। त्यस्तो गल्ती कोरियाली कार निर्माता हुन्डाईले गरेको थिएन।
हुन्डाई भारत प्रवेश गर्दा सस्तो\धेरैकाे रोजाइँमा पर्ने सेन्ट्रो कार लिएर आएको थियो। सेन्ट्रो कारको नयाँ भर्सन २०२० मा पुनः सार्वजनिक भएको थियो। तर फोर्ड भारत आउँदा एसकर्ट सलोन कार लिएर आएको थियो। उक्त कार फोर्डले १९६० तिर युरोपेली बजारमा पहिलोपटक सार्वजनिक गरेको थियो।
फोर्डको एसकर्टको त्यतिबेलाको मूल्य सुनेर भारतीयहरू तर्सिने अवस्था थियो। जसको फाइदा सस्तो कार बनाइरहेको मारुती सुजुकीले भरपुर उठाएको फोर्ड इन्डियाका तत्कालिन कार्यकारी विनय पिपरसानियाको भनाइ छ।
भारतीयहरू स्वभावतः छनौटका पारखी छन्। फोर्ड मोटरसँग भारतमा सीमित मोडलका सवारी मात्र थिए। सयमक्रमसँगै फोर्डले राम्रा उत्पादन इकोस्पोर्ट र इन्डेभर भारतीय बजारमा सार्वजनिक त गर्याे। तर यी दुई मोडलले मात्र प्रतिस्पर्धी बजारमा आफूलाई माथि ल्याउन नसकेको एलएमसीका विज्ञ अमर मास्टरले बताएका छन्।
तर फोर्डले भने कम्पनीले विविध मोडलहरू ल्याएको भए पनि विश्वसनीय रुपमा ती मोडलहरूले फाइदा दिन नसकेको उल्लेख गरेको छ।
ग्लोबल ब्रान्ड हुनुको नाताले फोर्डले विश्वस्तरीय र उच्च गुणस्तरको सवारी उत्पादन गर्नु स्वभाविक हो। यस्ता उत्पादन भारतीय उत्पादन भन्दा केही महँगो हुने नै भयो। तर यो नै कम्पनीका लागि भारतीय बजारमा टिकिरहन बाधक सावित भएको मास्टरले बताएका छन्।
फोर्डको उचारचढाव
फोर्डले भारतमा १ अर्ब डलर लगानीमा स्थापना भएको आफ्नो पहिलो प्लान्टमा २०१५ मा पुनः लगानी विस्तार गरेको थियो। सो प्लान्टबाट फोर्डले २०२० सम्म निर्यात र आन्तरिक बजारका लागि वार्षिक ७० लाख र २०२५ सम्म ९० लाख पुर्याउने योजना सार्वजनिक गरेको थियो।
तर फोर्डले विविध कारणवश लक्ष्यअनुसार सफलता प्राप्त गर्न सकेन, हाल फोर्डले आफ्नो वार्षिक क्षमताको करिब २० प्रतिशत अर्थात ४ लाख ४० हजार वटामात्र कार उत्पादन गर्दै आएको छ।
भारतीय प्लान्टको क्षमता अनुसार र बजारको मागलाई सम्बोधन गर्न फोर्डले कम्प्याक्ट कार बनाउने तय गर्याे। तर २०१६ मा फोर्ड मोटर अमेरिकाले विश्वभरका कार उपभोक्ताहरू एसयूभीतर्फ मोडिएकाले एसयूभीलाई नै प्राथमिकता दिने निर्णय लियो।
२०१८ मा फोर्डले आफ्नो उत्पादन लागत कटौती गर्ने उद्देश्यले भारतीय सवारी उत्पादक महिन्द्रासँग साझेदारी गर्ने प्रारम्भिक सम्झौता गरेको थियो। तर २०२० को डिसेम्बरमा दुई कम्पनीले गरेका प्रारम्भिक सम्झौता रद्द हुन पुग्यो।
‘फोर्ड मोटरले भारतमा गरेको लगानीलाई निरन्तर विस्तार गर्दै लगानीको उचित मुनाफा आर्जनका लागि प्रयासरत थियो,’ फोर्ड इन्डियाका प्रमुख अनुराग मेहरोत्राले अघिल्लो साता भनेका थिए, ‘दुर्भाग्यवश अब हामी त्यसो गर्न सक्ने अवस्थामा छैनौँ।’