शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको संख्या घट्दो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १६ २०८३
पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको संख्या घट्दो

जोमसोम नागरिक उड्डयन कार्यालयको तथ्यांक अनुसार गत आवको तुलनामा चालु आवको नौ महिनामा ४०.३१ प्रतिशत मात्रै हवाई उडान भएको छ।

मुस्ताङ- पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको संख्या घट्दो क्रममा रहेको छ। अनुकूल याममा समेत उक्त मार्गमा हवाई यात्रुको संख्या घट्दो अवस्थामा रहेको पाइएको हो।

जोमसोम नागरिक उड्डयन कार्यालयकाका प्रमुख दीपक पोखरेलका अनुसार गत आव २०८१/८२ को साउनदेखि असार महिनासम्ममा २६ हजार ६४२ यात्रुले पोखरा-जोमसोम हवाई मार्गबाट सेवा लिएका थिए। गत वर्ष पोखराबाट जोमसोम १४ हजार १७२ र जोमसोमबाट पोखरा १२ हजार ४७० यात्रुले हवाई मार्ग प्रयोग गरेका थिए।

गत वर्ष तारा एयर र समिट एयरलाइन्सको टुइनेटर साना जहाजले पोखरा-जोमसोम र जोमसोम-पोखरा गरी दुई हजार ४०६ उडान भरेको प्रमुख पोखरेलले बताए। चालु आव २०८२/८३ को साउनदेखि चैत महिनासम्ममा सात हजार ५८६ यात्रुले पोखरा-जोमसोम र जोमसोम-पोखरा हवाई सेवा प्रयोग गरेका उहाँले बताए।

प्रमुख पोखरेलका अनुसार चालु वर्षको नौ महिनामा ६ हजार १०५ विदेशी र एक हजार ४८२ नेपाली यात्रुले हवाई सेवा प्रयोग गरेका छन्। चालु आवमा पोखराबाट जोमसोम जाने हवाई यात्रुको संख्या तीन हजार ७९ र जोमसोमबाट पोखरा उड्ने यात्रुको संख्या चार हजार ५३९ रहेको प्रमुख पोखरेलले बताए।

यसैगरी चालु आवको नौ महिनामा पोखरा-जोमसोम दुईतर्फी उडान संख्या ९७० रहेको छ। जोमसोम नागरिक उड्डयन कार्यालयको तथ्यांक अनुसार गत आवको तुलनामा चालु आवको नौ महिनामा ४०.३१ प्रतिशत मात्रै हवाई उडान भएको छ। गत आवको हवाई यात्रुको तुलनामा चालु आवको नौ महिनामा १९ हजार ५६ कम यात्रुले हवाई यात्रा गरेको तथ्यांक छ।

पोखरा-जोमसोम हवाई उडान तथा यात्रुसंख्या बर्सेनि घट्दै गइरहेको जोमसोमस्थित तारा एयरलाइन्सका स्टेशन इञ्चार्ज सुजन लालचनले बताए। विगत वर्षमा पोखरा-जोमसोम दैनिक २५ उडानसम्म हुने गरेकामा पछिल्लो समय १० वटा उडान पनि हुन नसकेको उनको भनाइ छ।

पर्यटकीय यामको समयमा मध्यपूर्वको द्वन्द्वले विदेशी पर्यटकको आमगन संख्या घटेकाले हवाई उडान समेत प्रभावित भएको उनको भनाइ छ। मध्यपूर्व द्वन्द्वले हवाई इन्धनको मूल्य बढेकाले हवाई भाडादर वृद्धि भएका कारण पनि हवाई यात्रु घट्न थालेको इञ्चार्ज सुजन लालचनले बताए।

यसैगरी उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहज हुँदै जान थालेकाले पोखरा-जोमसोम र जोमसोम-पोखरा हवाई यात्रु घट्दो अवस्थामा पुगेको इञ्चार्ज लालचन बताउँछन्।

जोमसोम विमानस्थलमा तारा एयर र समिट एयरका दुई वायु सेवा कम्पनीले दैनिक १० नियमित उडान भर्ने गरेका छन्। सोभन्दा बढी उडान भर्नुपरेमा सम्बन्धित वायु सेवा कम्पनीले चार्टर उडानका लागि नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति लिनुपर्ने हुन्छ।

मुस्ताङको धार्मिकस्थल मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने पर्यटकलाई लक्षित गर्दै पोखरा र काठमाडौँबाट हेलिकोप्टरमार्फत चार्टर उडानसमेत हुँदैआएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख १६ २०८३१७:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend