शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

'टोयोटा प्लस टेस्ला' बन्ने लक्ष्यसहित चेरी अटोमोबाइल विश्वव्यापी विस्तारमा

मंगलबार, वैशाख १५ २०८३
'टोयोटा प्लस टेस्ला' बन्ने लक्ष्यसहित चेरी अटोमोबाइल विश्वव्यापी विस्तारमा

चेरी अटोमोबाइलले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पकड बलियो बनाउन ओमोडा जेइको र आईकारजस्ता ब्रान्डहरू सार्वजनिक गरेर कार बिक्री गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइएका यी ब्रान्डहरु विद्युतीय कार ब्रान्ड हुन्। यी तीन वटै ब्रान्डका विद्युतीय कार नेपाल बजारमा पनि उपलब्ध छन्।

काठमाडौं- चीनको सबैभन्दा ठूलोमध्यको एक सवारीसाधन निर्माता कम्पनी चेरी अटोमोबाइलले विश्वव्यापी बजारमा आफ्नो उपस्थितिलाई तीव्र रूपमा विस्तार गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। 

कम्पनीका अधिकारीहरूका अनुसार चेरीले आफूलाई जापानी सवारी उत्पादक कम्पनी टोयोटाको विश्वसनियता र गुणस्तरीय उत्पादन क्षमता एवं अमेरिकी कम्पनी टेस्लाको अत्याधुनिक प्रविधिको सम्मिश्रण अर्थात् 'टोयोटा प्लस टेस्ला' का रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। विश्वभर टोयोटा गुणस्तरीय कारका लागि र टेस्ला इन्नोभेटिभ सवारी उत्पादकका रुपमा चिनिँदै आएको छ। 

चेरीले यी दुवै कुरालाई एकै बनाएर आफूले उत्पादन गरेका कारहरु विश्व बजारमा उतार्ने बताएको हो। अत्याधुनिक प्रविधि र मजबुत गुणस्तरीय कार चेरी अटोमोबाइलका सबब्रान्डहरुमा उपलब्ध गराउने जिकिर कम्पनीले गरेको छ।

चेरी अटोमोबाइलका अध्यक्ष यिन टोङयुले आन्तरिक बजारको सुस्तता र बढ्दो प्रतिस्पर्धालाई चिर्दै विश्व बजारमा एक शक्तिशाली 'ग्लोबल प्लेयर' बन्ने लक्ष्यका साथ गुणस्तर र नवप्रवर्तनलाई जोड दिएर अत्याधुनिक सवारीसहित अन्तर्राष्ट्रिय विस्तार गर्ने खोजेको बताएको रोयटर्सले लेखेको छ।  

आक्रामक बजार विस्तार र निर्यातमा विगत लामो समयदेखि चीनको नम्बर एक कार निर्यातकर्ताको छवि बनाएको चेरीले अब चिनियाँ बजारमा मात्र नभइ युरोप, ल्याटिन अमेरिका र दक्षिण-पूर्वी एसियालाई आफ्नो मुख्य गन्तव्य बनाएको छ। उक्त बजारमा प्रविधि र गुणस्तरीय कार प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराएर चेरी अटोमोबाइलका ब्रान्डहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ। 

चेरी अटोमोबाइलले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पकड बलियो बनाउन ओमोडा जेइको र आईकारजस्ता ब्रान्डहरू सार्वजनिक गरेर कार बिक्री गर्दै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइएका यी ब्रान्डहरु विद्युतीय कार ब्रान्ड हुन्। यी तीनवटै ब्रान्डका विद्युतीय कार नेपाल बजारमा पनि उपलब्ध छन्। ओमोडा जेइको र आईकारले नेपालसहित अन्तर्राष्ट्रिय बजारमा विशेषगरी युवा र प्रविधिप्रेमी ग्राहकहरूलाई आकर्षित गरेका छन्।

युरोपमा स्थानीय उत्पादनको तयारी चिनियाँ विद्युतीय सवारी साधन माथि युरोपेली युनियनले लगाएको अतिरिक्त भन्सार शुल्कको चुनौतीलाई चिर्न चेरीले नयाँ रणनीति अपनाएको छ। कम्पनीले स्पेनको बार्सिलोनामा आफ्नो पहिलो युरोपेली उत्पादन प्लान्ट स्थापना गरिसकेको छ।

यसले गर्दा कम्पनीले युरोपमै उत्पादित गाडीहरू स्थानीय बजारमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन सक्नेछ। यसका साथै कम्पनीले बेलायत र इटालीलगायत देशहरूमा पनि आफ्नो प्लान्ट खोल्न सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ।

प्रविधि र नवप्रवर्तनमा जोड दिँदै चेरीको 'टोयोटा प्लस टेस्ला' रणनीतिले दुईवटा मुख्य पाटोलाई समेट्छ। पहिलो टोयोटाले जस्तै ठूलो परिमाणमा किफायती र टिकाउ गाडीहरू उत्पादन गर्ने र दोस्रो टेस्लाले जस्तै आर्टिफिसियल इन्टेलिजेन्स (एआई), अटोनोमस सवारी प्रविधि र सफ्टवेयरमा आधारित विशेषतालाई प्राथमिकता दिने हो।

चेरीका अध्यक्ष यिन टोङयुका अनुसार कम्पनीले आफ्नो आम्दानीको ठूलो हिस्सा अनुसन्धान र विकास (आरएन्डडी) मा खर्च गरिरहेको छ ताकि विश्वव्यापी प्रतिस्पर्धीहरूलाई प्रविधिमा उछिन्न सकियोस्।

अन्तर्राष्ट्रिय बजारमा भू-राजनीतिक तनाव र व्यापारिक अवरोधहरू बढ्दै गए पनि चेरीले आफ्नो आपूर्ति श्रृङ्खलालाई बलियो बनाउँदै लगेको छ। रुस-युक्रेन युद्धपछि धेरै पश्चिमा कम्पनीहरूले रुसी बजार छोड्दा चेरीले त्यहाँ आफ्नो हिस्सा उल्लेख्य रूपमा बढाएको थियो। अब कम्पनीको ध्यान विकसित देशहरूमा आफ्नो ब्रान्ड भ्यालु स्थापित गर्नेतर्फ मोडिएको छ।

चेरीको यो कदमले चिनियाँ अटो उद्योग अब केवल सस्तो विकल्पमात्र नभएर प्रविधि र गुणस्तरमा पनि विश्वकै नेतृत्व गर्ने बाटोमा लागेको संकेत गरेको छ। 'टोयोटा प्लस टेस्ला' बन्ने उसको यो दौड सफल भएमा आगामी दशकमा विश्वव्यापी अटोमोबाइल बजारको समीकरण पूर्णरूपमा फेरिने देखिन्छ।


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend