शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

१० महिनामा साढे ८ लाख नयाँ लगानीकर्ता थपिए, ७७ लाख नाघ्यो डिम्याट खाता

सोमबार, वैशाख १४ २०८३
१० महिनामा साढे ८ लाख नयाँ लगानीकर्ता थपिए, ७७ लाख नाघ्यो डिम्याट खाता

नागरिकको बीचमा छरिएर रहेको सानो-सानो बचतलाई उत्पादनशील क्षेत्रमा प्रवाहित गर्ने उद्देश्यका साथ सन्चालित धितोपत्र बजार यतिबेला आम सर्वसाधारणको पहिलो रोजाइ बन्न पुगेको हो।

काठमाडाैं- नेपाली पुँजी बजारमा पछिल्लो समय लगानीकर्ताहरूको आकर्षण बढ्दो छ।

नागरिकबीचमा छरिएर रहेको सानो-सानो बचतलाई उत्पादनशील क्षेत्रमा प्रवाहित गर्ने उद्देश्यका साथ सञ्चालित धितोपत्र बजार यतिबेला आम सर्वसाधारणको पहिलो रोजाइ बन्न पुगेको हो।

विशेषगरी प्रविधिको विकाससँगै घरमै बसेर सजिलैसँग सेयर खरिद-बिक्री गर्न र आईपीओ भर्न सकिने सुविधा भएकाले पनि दोस्रो बजार र प्राथमिक निष्कासनमा लगानी गर्नेहरूको लहर चलेको देखिन्छ। डिजिटल प्रणालीले गर्दा लगानी प्रक्रिया झन्झटमुक्त र पारदर्शी बन्दै गएपछि यस क्षेत्रमा सर्वसाधारणको विश्वास बढ्दै गएको छ।

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को बैशाख १३ गतेसम्ममा डिम्याट खाता खोल्नेको कुल संख्या ७७ लाख ९ हजार ३ सय ९३ पुगेको छ।

यो संख्या गत आर्थिक वर्ष २०८१/८२ को असार २० गतेसम्मको तुलनामा निकै धेरै हो। उक्त समयमा डिम्याट खाता संख्या ६८ लाख ६५ हजारमात्र रहेकोमा पछिल्लो १० महिनाको छोटो अवधिमा मात्रै ८ लाख ४४ हजार ३ सय ९३ नयाँ खाताहरू थपिएका छन्। 

यसअघिका वर्षहरूको तथ्यांक हेर्दा पनि बजारको विस्तार तीव्र गतिमा भइरहेको देखिन्छ। आर्थिक वर्ष २०७९/८० को अन्त्यमा ५८ लाख २३ हजार रहेको डिम्याट संख्या आव २०८०/८१ को अन्त्यसम्म आइपुग्दा ६२ लाख ७२ हजार ३ सय ५१ पुगेको थियो।

डिम्याट खातासँगै सेयर व्यवस्थापन र आवेदनका लागि अनिवार्य मानिने 'मेरो सेयर' प्रयोगकर्ताको संख्यामा पनि उत्तिकै उत्साहजनक वृद्धि भएको छ। 

हाल मेरो सेयर प्रयोगकर्ताको संख्या ६७ लाख ८४ हजार ४ सय ३ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को असार २० गतेसम्म ५९ लाख ३३ हजार ७ सय रहेको यो संख्या १० महिनाको अवधिमा ८ लाख ५० हजार ७ सय भन्दा धेरैले बढेको हो।

विगतका वर्षहरूमा पनि यो संख्या निरन्तर उकालो लागिरहेको थियो। आव २०७९/८० को अन्त्यमा ४७ लाख ४१ हजार ५५ रहेको मेरो सेयर खाता संख्या आव २०८०/८१ को अन्त्यसम्म ५३ लाख २२ हजार ९ सय ६९ पुगेको थियो। जसले बजारमा प्रविधिको प्रयोग र लगानीकर्ताको सक्रियता दुवै बढेको देखिएकाे छ।

बैंकको ब्याजदरमा आएको फेरबदल र अनलाइन कारोबारमा भएको सहजताले गर्दा युवा पुस्तादेखि व्यावसायिक लगानीकर्तासम्म सेयर बजारमा आकर्षित भएका छन्। 

पहिले सीमित वर्गमा मात्र केन्द्रित रहेको सेयर बजार अहिले गाउँ-गाउँका नागरिकसम्म पुग्नुले नेपालको पुँजी बजार परिपक्व बन्दै गएको संकेत गर्दछ। 

जलविद्युत र अन्य विभिन्न क्षेत्रका कम्पनीहरूले लगातार आईपीओ जारी गरिरहनु र लगानीकर्ताले घरमै बसेर आवेदन दिन पाउनु नै यस वृद्धिको मुख्य कारण हो। 

यसरी छोटो समयमा ठूलो संख्यामा नयाँ लगानीकर्ता थपिनुले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र पुँजी निर्माणमा ठूलो सहयोग पुग्ने देखिन्छ।


प्रकाशित : सोमबार, वैशाख १४ २०८३११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend