काठमाडौं- एनएमबी बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटीपी (स्ट्रेट थ्रू प्रोसेसिङ) अवार्ड २०२५’ प्राप्त गरेको छ।
यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यताप्राप्त सम्मान हो। यो अवार्ड पूर्ण रूपमा स्वचालित र सरल ढंगले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने सीमित बैंकलाई मात्र प्रदान गरिन्छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले अवार्ड प्राप्तिलाई ग्राहकका लागि अन्तर्राष्ट्रिय बैंकिङलाई सरल र सहज बनाउने निरन्तर प्रयासको यो उपलब्धि भनेका छन्। 'उच्च मापदण्ड कायम राख्दै हामी छिटो र सुरक्षित सेवा प्रदान गर्न प्रतिबद्ध छौँ,' उनले भने।
अवार्डले एनएमबी बैंकलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनाएको बैंकले जनाएको छ।
एनएमबी बैंकले हाल देशभर १९८ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टमार्फत सेवा प्रदान गर्दै आएको छ।