शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

‘युट्युब’ हेरेर सीप, ‘फेसबुक-टिकटक’ बाट बजारीकरण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १३ २०८३
‘युट्युब’ हेरेर सीप, ‘फेसबुक-टिकटक’ बाट बजारीकरण

एकीकृत सेवा कार्यालय र प्रदेश सरकारले व्यवसाय सञ्चालनका लागि औजार खरिदमा सहयोग गरेको छ। यसले काम गर्न सहज र थप हौसला मिलेको सिउथानीले बताइन्।

म्याग्दी- मालिका गाउँपालिका-५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन र सिलाइकटाइसम्बन्धी सीप सिकेर आत्मनिर्भर बनेकी छिन्।

उनले बेनीको संगमचोकमा सञ्चालन गरेको अस्मिता टेलरिङ सेन्टरमा आफ्नै डिजाइनमा झोला तयार पार्नुका साथै सिलाइकटाइसम्बन्धी काम गर्दै आएकी छिन्। ग्राहकको मागअनुसार विभिन्न प्रकारका झोला, कुर्ता सुरुवाल, साडी र ब्लाउज तयार पार्न थालेपछि सिउथानीको व्यवसाय फस्टाएको छ।

उनले फुर्सदको समय सदुपयोग गर्न सिकेको सिलाइकटाइसम्बन्धी व्यवसायम फस्टाउन सामाजिक सञ्जालले निकै सघाउ पुगेको उनले बताइन्। 'युट्युब हेरेर झोला र लेडिज कपडाको डिजाइन गर्न सकेको र थालेकी हुँ' सिउथानीले भनिन्, 'ग्राहकको रोजाइअनुसार कपडा र झोला तयार पार्ने र सामाजिक सञ्जाल ‘फेसबुक र टिकटक’ बाटै बजारीकरण गर्दै आएकी छु।'

काठमाडौं, पोखराबाट कपडा ल्याएर उनले महिला, विद्यार्थी र पदयात्रीलाई लक्षित गरी झोला तयार पार्छिन्। झोलालाई आकारअनुसार प्रतिगोटा एक हजार २ सय देखि एक हजार ७ सय रूपैयाँसम्ममा बिक्री गरिरहेको सिउथानी जानकारी दिइन्।

'बेनी बजारसहित म्याग्दीका ग्रामीण क्षेत्रका साथै पोखरा, काठमाडौं र विदेश जानेहरूले पनि झोला मन पराउने गरेका छन्', उनले सुनाइन्, 'विसं २०७४ मा सिलाइकटाइ व्यवसाय सुरु गरेकी थिए। पछिल्ला केही वर्षयता डिजाइनमा लागिरहेकी छु।'

यसबाट ‘सिजन’मा मासिक एक लाख ५० हजारदेखि दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। 'मागअनुसार झोला र कपडा बनाउन थालेपछि बजारमा प्रतिस्पर्धा कम भएको छ। पछिल्लो समय त काम छैन भनेर बस्नुपरेको छैन', सिउथानीले भनिन्, 'दैनिक कारोबार त भइरहेकै छ। सीप सिक्न चाहनेलाई पनि सिकाइरहेकी छु। यसले पैसा र सन्तुष्टि दुवै मिलिरहेको छ।'

उनलाई एकीकृत सेवा कार्यालय र प्रदेश सरकारले व्यवसाय सञ्चालनका लागि औजार खरिदमा सहयोग गरेको छ। यसले काम गर्न सहज र थप हौसला मिलेको सिउथानीले बताइन्। रासस


प्रकाशित : आइतबार, वैशाख १३ २०८३१०:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend